अर्थबजार

कृषिको व्यवसायीकरणमा युवा

सौर्य अनलाइन २०७० असार ५ गते २३:२७ मा प्रकाशित

बाग्लुङ : कृषिको व्यावसायीकरणमा युवा सक्रिय हुन थालेका छन् । सोह्र वर्ष विदेशमा बिताएका रिघा गाविस–९ का जीतबहादुर रानाको दैनिकी अहिले फेरिएको छ । आफ्नै घरछेउमा रहेको व्यावसायिक तरकारी फर्मको रेखदेख र व्यवस्थापन गर्दैमा रानालाई समय बितेको पत्तै हुँदैन । रानाले सोही स्थानका अन्य पाँच जना युवासँग मिलेर सामूहिक तरकारी खेती गर्न थालेको एक वर्ष बितेको छ ।
१३ लाख रुपियाँको लगानीमा गाउँका ६ जना युवा मिलेर खोलेको व्यावसायिक तरकारी फर्मबाट राम्रो कमाइ हुने थालेपछि रानाजस्तै अन्य युवाहरू पनि हौसिएका छन् । गत वर्षदेखि उनीले रिघा–९, ग्रिन्दीमा जग्गा भाडामा लिएर व्यावसायिक कृषि पेसा अँगालेका हुन् । १२ रोपनी जग्गा भाडामा लिएर उनीहरूले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेका हुन् । वार्षिक ३५ हजार जग्गाको भाडा तिर्ने गरेको जीतबहादुर रानाले बताए । आधुनिक टनेल प्रविधिमा तरकारी खेती सुरु गरेका युवा कृषकले मासिक एक लाखभन्दा बढी कमाइ हुने गरेको बताउँछन् । ‘तरकारीको बजार पनि राम्रो छ, हामीलाई मागअनुसार तरकारी पुर्‍याउन नै धौधौ भएको छ,’ रानाले भने, ‘मासिक करिब तीन लाख जतिको तरकारी बिक्रीको सम्भावना छ र सोहीअनुसार बजारको पनि माग छ ।’
रानासँगै लगानी गर्ने अन्य साथीले रानालाई नै फर्मको रेखदेख, संरक्षण र व्यवस्थापनका लागि जिम्मा दिएका छन् । स्थानीय अन्य युवा र कृषकहरूलाई समेटेर मिलिजुली कृषक समूह गठन गरिएको समूहका अध्यक्ष धनबहादुर पुनले बताए । समूहले कृषिउपज उत्पादन गर्ने र बजारीकरण गर्ने गरेको पुनको भनाइ छ ।
ती युवाले सञ्चालन गरेको फर्ममा अहिले दर्जनौँ किसिमका तरकारी बालीहरू उत्पादन हुँदै आएको छ । उक्त फर्ममा स्टेभिया जातको जैविक चिया, घिउकुमारीको पनि खेती गर्दै आएको अध्यक्ष पुनले बताए । ‘करिब तीन रोपनी जग्गामा स्टेभियाका तीन हजार बिरुवा रोपेका छौँ,’ पुनले भने, ‘त्यस्तै दुई हजार ५ सय घिउकुमारीका बिरुवा पनि रोपेका छौँ ।’ गाउँमै बसेर व्यावसायिक बन्न र कमाउन सकिन्छ भनेर युवाहरू संगठित भई व्यावसायिक कृषि पेसा अपनाएको अध्यक्ष पुनको भनाइ छ । ‘गाउँका युवालाई स्वदेशमै कमाइ गर्न सकिन्छ भनेर उत्प्रेरणा पनि मिलोस् भन्ने चाहना छ । उक्त फर्ममा गाउँकै स्थानीय तीन जना महिलाले नियमित रोजगारी पनि पाएका छन् ।बुटवलमा रहेको साहरा इनर्जी कम्पनीको प्राविधिक सहयोगमा स्टेभिया चिया र घिउकुमारी खेती गरिएको उनले बताए । ‘यहाँ उत्पादन भएको चिया र घिउकुमारी साहारा कम्पनीले नै खरिद गर्दै आएको छ,’ श्रीषले भने, ‘प्रतिकिलो चिया पातको ४ सय हामीलाई प्राप्त हुन्छ ।’ चियाको पात र मुन्टाहरू कम्पनीमा पठाइने पुनले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय