किस्क र बाबालाई क्याम्पियन बास्केटबल उपाधि

काठमाडौं : किस्क र बाबा बोर्डिङ स्कुलले दोस्रो क्याम्पियन कप अन्तरस्कुल तथा कलेज थ्री बाई थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । कलेजतर्फ किस्क र स्कुलतर्फ बाबा बोर्डिङ च्याम्पियन भए । गहनापोखरीस्थित आयोजक क्याम्पियन काठमाडौं कलेजको कोर्टमा भएको कलेजतर्फ फाइनलमा किस्कले नामगेललाई १७–१५ को साँघुरो अन्तरले पराजित गर्‍यो । विजेताका तेन्जिन रिन्चेनले १२ अंक जोडे । सेमिफाइनलमा किस्कले भिएस निकेतनलाई १३–१० र नामगेलले लिभरपुललाई २०–१२ ले पाखा लगाएका थिए । स्कुलतर्फ उपाधि भिडन्तमा बाबाले हिम्सको चुनौती १९–१४ ले समाप्त पार्‍यो । बाबाको जितमा फिन्जु शेर्पाले ९ अंक योगदान गरे । सेमिफाइनलमा बाबाले माउन्ट कैलाशलाई २०–१७ ले पन्छ्याउँदै फाइनलमा पुगेको थियो भने हिम्सले श्रीदिवाबाट वाकओभर पाएर फाइनल यात्रा तय गरेको थियो । कलेजमा किस्कका यिओराम ली र स्कुलमा बाबाका युवराज तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । कलेजमा नामगेलका तेन्जिन रिन्चेन (५० अंक) तथा स्कुलमा फिन्जु शेर्पा (३० अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
कलेजतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार हात पारे । स्कुलतर्फ प्लस २ अध्ययनका लागि विभिन्न शीर्षकमा कुल ३ लाख ७५ हजार रुपियाँ बराबरको छात्रवृत्तिको व्यवस्था रहेको छ । विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा र आयोजक क्याम्पियनका प्रिन्सिपल आरडी मिश्रले पुरस्कार प्रदान गरे । जेठ २८ गतेदेखि सुरु प्रतियोगिताको कलेजमा १६ र स्कुलमा ८ टिमले प्रतिस्पर्धा गरेका थिए । (सौस)

प्रतिक्रिया