दर्जन गाविसमा व्यावसायिक अलौचीखेती

alaichi.दोलखा, ५ असार ।  दोलखाको दर्जन बढी गाविसमा व्यावसायिक अलैँचीखेती सुरु गरिएको छ । दोलखामा २ सयभन्दा बढी हेक्टर जमिनमा अलैँचीको व्यावसायिक खेती सुरु गरिएको छ । अधिकांश गाविसमा सामान्य रूपमा यसको खेती सुरु भइसकेको छ । दोलखाको २ सय २० हेक्टर जमिनमा अलैँचीखेती सुरु भइसकेको र थप अन्य गाविसमा समेत विस्तार गरिने कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका मिर्गे, झुले, जुँगु, सुस्पा, क्षमावती, सुनखानी, क्षेत्रपा, सुन्द्रावतीसहित करिब दर्जन गाविसमा अलैँचीको नर्सरी स्थापना गरी व्यावसायिक खेती सुरु गरिएको हो । कृषि विकास कार्यालयका प्रमुख युवराज पाण्डले जिल्लामा अलैँचीको सातवटा नर्सरी स्थापना भइसकेको र अलैँची प्रशोधनका लागि भट्टीसमेत निर्माण गरिएको जानकारी दिए ।
कृषकबाट अलैँचीको बीउ र बिरुवाको माग अत्यधिक बढेकाले त्यो माग पूरा गर्न नर्सरी स्थापना गरिएको उनले बताए । दोलखा जिल्लाका अधिकांश भूभाग अलैँचीखेतीका लागि योग्य मानिन्छ । जिल्लामा अलैँचीको व्यावसायिक खेतीलाई अभियानकै रूपमा अघि बढाउने योजना छ ।
कार्यालय प्रमुख पाण्डेले भने, ‘त्यसका लागि नर्सरी, तालिम, अनुदान सहयोगलगायत कार्यक्रम सञ्चालन भइरहेको छ ।’ पाण्डेका अनुसार जुँगु, मिर्गेलगायत गाविसका कृषकले ठूलो मात्रामा अलैँची उत्पादन गरी बिक्रीसमेत सुरु गरिसकेका छन् । अलैँचीखेतीमा युवाको समेत आकर्षण बढ्दो छ । दोलखामा राम्साई र गोल्साई जातको अलैँचीखेती हुने गरेको छ । बजारमा अहिले अलैँचीको मूल्य प्रतिमन ८० हजारदेखि एक लाखसम्म छ ।
जिल्लाको झुले गाविसमा मात्रै २५ हेक्टर क्षेत्रफलमा अलैँचीको व्यावसायिक खेती सुरु भएको छ । ५० हजार बिरुवा रोपेर अलैँचीखेती सुरु गरेका झुले गाविस–१ का बीर्खबहादुर तामाङले पुरानो खेती छाडेर अलैँचीमा लागेको बताए ।
करिब तीन वर्षअघिबाट सुरु गरिएको अलैँचीखेती अहिले सिंगो झुलेमा विस्तार भएको छ । गाविसको ९ नम्बर वडाबाहेकका प्राय: सबै कृषक यो खेतीमा संलग्न भएका छन् । कृषकले समूहगत र व्यक्तिगत रूपमा अलैँचीखेती गरेका हुन् ।
अलैँचीखेतीका लागि गाविसमा १० वटा समूह बनाइएको छ । यसमा परम्परागत खेतीमै आफ्नो उमेर गुजारेका वृद्धवृद्धासमेत आकर्षित भएका छन् । अलैँचीको व्यावसायिक खेतीका लागि स्थानीयको सक्रियतामा कृषि विकास कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, शिक्षा, वन कार्यालय र आरएनएन दोलखालगायत संघसंस्थाले सहयोग गरेका छन् ।
स्थानीय मनोज कार्कीले मात्रै एक लाख ६२ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिएको जानकारी दिए । राम्रो बजार र उचित भाउ पाएकै कारण किसान यस खेतीतर्फ उत्साहित भएका हुन् । अलैँचीखेतीका लागि स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था, सरकारी तथा गैरसरकारी संस्था सबै एक भएका छन् ।

प्रतिक्रिया