राष्ट्रपति यादवलाई क्यान्सर भएको शंका

Rambaran_Yadavकाठमाडौं, ३ असार । लामो समयदेखि पेटको समस्याका कारण बिरामी परेका राष्ट्रपति डा. रामवरण यादवको आन्द्राको क्यान्सर भएको आशंका गरिएको छ । राष्ट्रपति यादवको उपचारमा संलग्न चिकित्सकहरूले आन्द्रामा देखिएको दागका आधारमा क्यान्सर भएको आशंका गरेका हुन् ।

राष्ट्रपति यादवलाई करिब २ महिनादेखि पेट दुख्ने, पखाला लाग्ने, खाना रुचि नहुनेसँगै तौल घट्दै गएको थियो । शनिबार टोखास्थित ग्रान्डी अस्पतालमा गरिएको सिटिस्क्यानले राष्ट्रपति यादवको ठूलो आन्द्राको ‘एसेन्डिङ कोलोन’ मा केही बाक्लो भएको दाग देखाएको थियो ।
चिकित्सकहरूले आन्द्रामा देखिएको सो दाग के हो भनेर औपचारिक रूपमा बताउन सकेका छैनन् । उनीहरूले थप परीक्षणका लागि जापान जान राष्ट्रपतिलाई सुझाव दिएका थिए । स्रोतका अनुसार चिकित्सकहरूले राष्ट्रपति यादवको आन्द्रामा देखिएको सो दाग क्यान्सर वा क्षयरोग हुनसक्ने आशंका गरेका छन् ।
ठूलो आन्द्राको ‘एसेन्डिङ कोलोन’को समस्या अन्य भागमा सर्ने सम्भावना बढी भएकाले चिकित्सकहरूले राष्ट्रपति यादवको छिटो उपचार गर्न सुझाव दिएका थिए । उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. शशी शर्माका अनुसार करिब २ महिनाको अवधिमा राष्ट्रपति यादवको २ किलोभन्दा बढी तौल घटिसकेको छ । उनका अनुसार राष्ट्रपति यादवले व्यस्तताका कारण चिकित्सकको सुझावभन्दा १५ दिन ढिलो मात्रै स्वास्थ परीक्षण गराएका थिए ।
पेटको समस्याले धेरै सताएपछि र चिकित्सकले परीक्षण गर्न पटक–पटक सुझाएपछि राष्ट्रपति यादवले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा ओपिडीको टिकट काटेर भिआइपी क्याबिनमा स्वास्थ्य परीक्षण गराएका थिए । पेटको समस्या भएकाले शुक्रबार अस्पतालमा ग्यास्ट्रो टिमले उनको स्वास्थ्य परीक्षण गरेको थियो ।
अस्पतालमा गरिएको अल्ट्रासाउन्डले क्यान्सरको संकेत देखाएपछि चिकित्सकले सिटिस्क्यान गर्न सुझाव दिएको स्रोतको भनाइ छ । चिकित्सकले त्यसपछि दिएको सुझावअनुसार नै राष्ट्रपति यादवले शनिबार ग्रान्डी अस्पतालमा सिटिस्क्यान गराएका थिए । तर, सिटिस्क्यानले पनि खास समस्या देखाउन नसेको चिकित्सकहरूको भनाइ छ ।
शंका लागेको क्यान्सर क्लोनोस्कोपीबाट मात्र यकिन गर्न गाह्रो हुने भएकाले चिकित्सकले जोखिम लिन नचाहेर थप परीक्षणका लागि विदेश जान सुझाव दिएको स्रोतको भनाइ छ । नेपालमा क्लोनोस्कोपिक अल्ट्रासाउन्ड सुविधा वायोस्पी (संक्रमित भागको मासुको टुक्रा निकाली गरिने परीक्षण) सम्भव नभएकाले पनि विदेश जान सुझाव दिएको स्रोतले सौर्यलाई बताएको छ ।

प्रतिक्रिया