नीलो ग्यास सिलिन्डरको बिक्री सुरु

Shankar-Koirala-Sourya-Dailकाठमाडौं : सरकारले शनिबारदेखि नीलो रंगको एलपी ग्यास सिलिन्डर व्यावसायिक प्रयोजनका लागि बजारमा ल्याएको छ । अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाले एक कार्यक्रमबीच नीलो ग्यास बिक्रीको शुभारम्भ गर्दै व्यावसायिक सुधारको यो कदमलाई अभियानका रूपमा अघि बढाउनुपर्ने खाँचो औँल्याए ।

उनले यसलाई प्रभावकारी बनाउने चुनौतीपूर्ण जिम्मेवारी निगमको काँधमा आएको बताए । सरकारले निगमलाई दिएको २८ अर्ब ८० करोडको ऋण मिनाहा गर्न वाणिज्यमन्त्रीको हैसियतले काम पूरा गरिसकेको बताउँदै मन्त्री कोइरालाले भने, ‘अर्थमन्त्रीको हैसियतमा गर्ने काम बाँकी छ । त्यसप्रति पनि म सकारात्मक छु ।’
उनले पेट्रोलियम पदार्थको बिक्रीमा निजी क्षेत्रलाई साझेदार गराउने निर्णय सरकारले गरिसकेको अवस्थामा अब प्रतिस्पर्धाको विकल्प नभएको प्रस्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपराज पाण्डेले नीलो सिलिन्डर अभियान प्रभावकारी भएमा निगमको आधा घाटा नियन्त्रणमा आउने बताए । निगम सञ्चालक समिति सदस्य दीपक सुवेदी, ग्यास उत्पादक संघका अध्यक्ष शिवप्रसाद घिमिरे, निगमका महाप्रबन्धक सुरेश अग्रवाल, कर्मचारी युनियनका अध्यक्ष देवीप्रसाद न्यौपानेले निगमलाई घाटाबाट बचाउन उपयुक्त कार्य योजनाको खाँचो रहेकामा जोड दिए ।

प्रतिक्रिया