बोर्डफस्र्टले पनि आत्महत्या गरेको नबिर्सौं

swagatएसएलसीमा मनग्यै अंक ल्याएर उत्तीर्ण भई भुइँबाट खुट्टा छोडेका मेधावी विद्यार्थीहरू र अनुत्तीर्ण भएर जीवनदेखि नै हार खान खोज्नेहरूलाई अर्को एउटा एससलसी परिणामको विगत सम्झाउनुपर्ने भएको छ । २०३७ सालमा परीक्षा दिएर २०३८ सालमा परिणाम प्रकाशित भएको एसएलसी परीक्षामा बोर्ड प्रथम भएका अच्युतबाबु तिवारी कलेज तहमा पुगेपछि एउटा विषयमा अनुत्तीर्ण भए । र, त्यसैको रनाहामा आत्महत्या गर्न पुगे तर सोही वर्षको एसएलसीमा विशिष्ठ श्रेणी त के सामान्य अंकसहित दोस्रो श्रेणी ल्याएका यज्ञराज पन्तले भने विश्वविद्यालयमा सर्वोत्कृष्ट अंक ल्याएका थिए । जबकि बोर्ड प्रथमको अवस्था त्यस्तो भयो । यसले के देखाउँछ ? एसएलसीमा जेजे भए पनि जीवनका परीक्षामा को, कहाँ कसरी खरो उत्रन्छ भन्ने नै होइन र ?

अहिले कतिपय अनुत्तीर्ण विद्यार्थीले गरेको देहत्याग आत्महत्या होइन हाराकिरी हो । हाराकिरी राज्यव्यवस्थाका विरुद्धमा गरिने व्यंग्य र विद्रोहपूर्ण प्रदर्शन हो । कसैले जबरजस्त आत्महत्या नै हो भने बरु त्यो उसमेतको संलग्नताको हत्या हो । उनीहरूलाई जबर्जस्ती त्यस अवस्थासम्म पुग्नुपर्ने बनाइयो । त्यसको पुष्ट्याइँ प्रश्नपत्र निर्माणको दर्शन र हामीले विकास क्षेत्रगत रूपमा एसएलसीको प्रश्नपत्रको ढाँचा लागू गरेको सिद्धान्तलाई नबुझ्नेहरूले बनाएको प्रश्नबाट हुन्छ ।
शिक्षामा संघीयता र ज्ञानको स्रोतलाई विकेन्द्रित गर्नका लागि पनि विकास क्षेत्रीय रूपमा एसएलसीको प्रश्नपत्र फरकफरक सोध्न थालिएको थियो । काठमाडौंबाट केही पूर्व दोलालघाट कटेपछि एउटा माझी गाउँ आउँछ । त्यस ठाउँको पूरै गाउँमा उनीहरूले धुरीकर तिरेर चलेको सरकारको नेपाल टेलिभिजनको समेत सिग्नल टिप्दैन । एसएलसी परीक्षा चलिरहको बेला पंक्तिकार पाँचै विकास क्षेत्र घुमेको थियो । सुर्खेतको मेहलकुनाभन्दा दक्षिण सानो जंगल कटेर अघि बढेपछि भेटिने गाउँमा बत्ती छैन, कसैको घरमा टेलिभिजन छैन, पत्रपत्रिका पुग्ने त कल्पनै नगरौँ । रेडियोको समेत पहुँच छैन, एउटा पनि रेडियो नभएका गाउँ धेरै छन् अझै देशैभरि जहाँ हाम्रा स्थानीय गाउँले ऋण गरेर किनेको भैँसी भीरबाट लडेर मरेको र त्यस्ता किसानको ऋण मिनाहा हुनुपर्ने मागका समाचार दिनुपर्ने स्थानीय एफएमहरूले ‘संसारैभरि यो समाचार सुनिरहनु भएको छ’ भन्दै ठूला व्यापारीको ऋण सरकारले मिनाहा गरेको समाचार इन्टरनेटमा फुके पनि कसैले सुन्न पाउँदैनन् ।
संघीयतामा प्रदेश निर्माण गर्दा नामाकरणका लागि लिइने आधार ती क्षेत्रका विद्यार्थीलाई सोध्ने हो ? शिक्षामा केन्द्रीकरण भयो भनेर नै हामीले क्षेत्रीय विश्वविद्यालयको अवधारणा ल्याएका हौँँ । तर, अझै व्यवहार झन् केन्द्रिकृत भएको छ । त्यसैले पोखरा र आसपासका विद्यार्थीका लागि सजिलो होस् भनेर खोलिएको पोखरा विश्वविद्यालयको मुख्यमध्येको कलेज मध्य बानेश्वरमा खोल्छन् ‘सर्वोच्च’ अर्थात् ‘एपेक्स कलेज’ भनेर कांग्रेका प्रवक्तासमेत भइसकेका आदरणीय नेता डा. मीनेन्द्र रिजाल । पूर्वाञ्चलका सप्तरीको विकट अतिग्रामीण पातो र तोपा गाविसदेखि ताप्लेजुङसम्मका विद्यार्थीलाई सजिलो परोस भनेर स्थापना गरिएको पूर्वाञ्चल विश्वविद्यालयको मुख्य मध्येको कलेज काठमाडौंको पुतलीसडकमा छ कान्तिपुर सिटी कलेजको नाममा । यी सबै क्षेत्रीय विश्वविद्यालय, शिक्षा र ज्ञानको स्रोतको विकेन्द्रीकरणलाई नेताहरूले समेत नबुझेको उदाहरण हो । त्यही सोचको परावर्तन भयो एसएलसीको प्रश्न पत्रमा पनि ।
प्रश्नपत्र निर्माणको पनि आफ्नै दर्शन र सिद्धान्त छ, त्यसमा पनि क्षेत्रीय रूपमा प्रश्न पत्र तयार गर्नुको अर्थ भनेकै विशेष सन्दर्भमा प्रस्ट गर्नुपर्ने जवाफका लागि सन्दर्भ स्थानीय नै हुनुपर्छ भन्ने मान्यता छ । अघि उल्लेख गरेका ठाउँका विद्यार्थीका लागि केन्द्रका मुद्दामा प्रश्न सोधिनु हुन्नथ्यो, बरु सोधिनु पथ्र्यो– मुगुका जनताको औसत आयु किन बल्लबल्ल बढेर ४१ बट भर्खर ४४ कट्दै छ ? यो पो हो त मुगु जिल्लाको विशेष सन्दर्भमा पुष्टि गर भनेर दिनुपर्ने । त्यसैगरी प्रश्नपत्र तयार गर्दा जवाफ दिनेले जे दिए पनि स्वतन्त्रता पाउने खुलाजवाफी प्रश्न दिइनु हुन्न । यदि दिइयो भने उसको जवाफ जे हुन्छ त्यसमा दिइएको तर्कमा प्रश्न सोध्नेले विमति राख्न पाउँदैन । किनिकि त्यसो गरिने हो भने परीक्षाको प्रणाली परीक्षक र परीक्षार्थीबीच दोहोरो सञ्चारमा आधारित हुनुपर्छ । वान वे ट्राफिक प्रश्नको मान्यता यो हो । अंग्रेजीमा तयार प्रश्नहरूमा ‘ह्वाट डु यु मिन बाइ कन्स्टिच्युसन वा हाउ डु यू डिफाइन कन्स्टिच्युसन ?’ भनेर सोधिएको छ भने उसले जे ‘मिन’ गर्छ वा जसरी ‘डिफाइन’ गर्छ त्यही जवाफ सही मान्नुपर्छ । किनकि प्रश्नले ‘ह्वाट डज इट मिन ?’ भनेको छैन, ह्वाट यु मिन मात्र भनेको छ । कुनै विद्यार्थीले संविधानलाई धान मात्रै पनि बुझेको वा परिभाषा दिएको हुन सक्छ । ठूलै मान्छेले पनि संविधान बन्यो भने धान पनि धेरै फल्छ, भैँसीले दूध पनि धेरै दिन थाल्छ भनेर नेताले भनेपछि पत्याएका थिए । त्यस्ता हावादारी प्रश्नको पोको विद्यार्थीलाई थमाए पनि जवाफ ठूला मान्छेसमेत दिन नसक्ने गरी दिएका छन् भन्ने कुरामा देशभरि ७१ जिल्लामा मेरो घुमाइका क्रममा गरेको अन्तरक्रियाबाट म ढुक्क नै थिएँ । तर, प्रश्नपत्रका परीक्षक कहाँ कहाँका थिए ? त्यसमा पारदर्शीता नभएपछि विद्यार्थीका लागि दशा हुने नै भयो । सामाजिक विषय त यस्तो गम्भीर विषय हो, जसका लागि जीवनभर विमान नचढेको एउटा सहरी गरिब शिक्षकले के बुझ्न सक्तैन भने सामान्य बिरामी हुँदा हेलिकोप्टर चार्टर गरेर खोटाङको किसानले आफ्नो परिवारको सदस्यको उपचार गराउन काठमाडौं ल्याउँछ तर यता बनेपाको मान्छेचाहिँ एम्बुलेन्स पर्खंदा पखैँदै मरिसक्छ । खर्चको शैली र संस्कारमा आएको परिवर्तन बुझ्न सक्दैन । बिरामीको निहुँ गरेर एक दानाको ३८ लाख मूल्य पर्ने रुद्राक्ष तस्करी गर्न संखुवासभामा हेलिएम्बुलेन्स मगाएर भागेको समाज बुझ्न सक्तैन, हिजो गरिबहरू बसाइँ हिँड्थे आज धनीहरू बसाइँ हिँड्छन् । गरिब त बसाइँ हिँड्न पनि सक्दैन । गरिबले ऋण पनि पाउँदैन । धनीहरूले बैंक डुवाउँछन्, ऋण पनि तिनैले पाउँछन् । खुला दिसामुक्त क्षेत्र गलत अनुवाद हो सही त खुला दिसा निषेधित क्षेत्र हो भनेर गाउँघरमा चलेका अभियान सहरी शिक्षकले बुझ्नै सक्दैनन् अनि सुगा रटाइ जवाफ खोजेर विद्यार्थी कसरी पास हुन्छ ?
सामाजिक सन्जालहरूमा पटकपटक फेल भएर पनि जीवनमा पास हुने धेरै व्यक्तिहरूको चर्चा भइरेको छ । ती कुरा यहाँ नगरौँ तर मुख्य कुरा, अमेरिकी १६ औँ राष्ट्रपतिले आफ्नो छोराको प्रिन्सिपललाई लेखेको पत्र हाम्रा निजी र सामुदायिक विद्यालयका सबै शिक्षकलाई कण्ठ छ । तर, लिंकनले मेरो छोरोलाई जीवनमा सधँै प्रथम र सफल मात्र भइँदैन हार पनि जीवनमै छ भन्ने कुरा सिकाइदिनुस भनेको कुरामा कहिल्यै ध्यान गएन । त्यो अभिभावकमा पनि भएन । उनीहरूलाई हार्न पनि उत्तिकै तयार भएर बस्न सिकाइएन । बरु अरू विद्यालय र अभिभावकलाई आफ्नो विद्यालय अब्बल देखाउन सधैँ नर्सरी तहदेखि नै खुसी बनाउनका लागि मात्र सबैलाई ९० प्रतिशतको हाराहारीमा अंक दिएर पास बनाइयो । हो, त्यस्ता शिक्षक र विद्यालयको नीतिका कारण पनि एसएलसी परिणाममा उसका लागि अकल्पनीय ठेस लाग्न जान्छ । एसएलसी पूर्वको सेन्ड अप परीक्षामा नै रोकेर उत्तीर्ण गर्न सक्छजस्तो नलागेसम्म एसएलसीका लागि फाराम नै भर्न नदिने रोग सामुदायिक विद्यालयमा पनि पछिल्ला वर्षमा झन् बढेको छ । अब पक्का राम्रोसँग उत्तीणर््ा हुन्छु भन्ने ठानेको विद्यार्थी एक्कासि असफल बनेको परिणाम आउँदा उसमा पर्न जाने मानसिक आघातको कल्पना भोग्नेबाहेक कसैले गर्न सक्दैन ।
जम्मामा हामीलाई ००७ सालजस्तो राजनीतिक रूपमा शतप्रतिशत उत्तीर्ण पनि चाहिएको होइन र बोर्ड प्रथम भएरसमेत हार्न नसिकाइएका कारणले पछि सानो विफलताका कारण फेरि कतिपय अनुत्तीर्णलेजस्तो आत्महत्या गर्न पुग्ने परिणाम पनि आवश्यक छैन । त्यसैले इतिहासबाट पाठ सिकौँ । हार्न पनि सिकाऔँ । भनौँ, युद्धमा जितेको भन्दा हारेको सिपाही बलियो हुन्छ किनकि सबैभन्दा बलियोको प्रहार उसले मात्र भोगेको हुन्छ जुन जित्नेले अवसर पाउँदैन । त्यसैलाई अर्को ठाउँमा प्रयोग गर्नुपर्छ । र, अबको परीक्षामा गर्नै नसकिने बाहेकका विषयमा विकेन्द्रित रूपमा प्रश्नको ढाँचा र सैद्धान्तिक पक्षबारे प्रस्ट बनाँै ।
[email protected]

प्रतिक्रिया