मत-विमत

छोराबुहारीले कुटीकुटी घरबाट निकाले

सौर्य अनलाइन २०७० असार १ गते २३:११ मा प्रकाशित

B.B-shresthaबाबु, म अहिले ८७ वर्षमा लागे, मेरो नाम रामनाथ खनाल हो । जन्म मेरो १९८४ भदौ १२ गते भएको हो । मेरो घर वसन्तपुर गाविसको वडा नं १ को महखोला हो । म आठ वर्षको हुँदा नै मेरो विवाह ६ वर्षकी केटीसँग भएको थियो । तर, त्यो विवाहले निरन्तरता पाएन र मैले दोश्रो विवाह गरे । दोश्री श्रीमतीले २ वटा सन्तानलाई जन्मदिएपछि मरिन । त्यसपछि मैले तेश्री श्रीमती बिहे गरे । अहिलेकी श्रीमतीको नाम विजामाया खनाल हो । उतिर मेरा ७ वटा छोरा र २ वटी छोरी छन् । मेरा सबै छोरा नेपाल आर्मीमा भर्ती भएका थिए । तर, के गर्नु छोरानाति जतिसुकै सम्पन्न र धनी भए तापनि आज म जीवनयापनका लागि वृद्धाश्रममा आएर बाँकी जीवन व्यतीत गर्न विवश छु ।

मेरो काइँलो छोरा माओवादीको सशस्त्र जनयुद्धको समयमा अछाममा रहँदा युद्धमा परेर मर्‍यो । अहिले मेरा सन्तान ६ वटा छोरा, २ वटी छोरी र छोरातिरका मात्र १० वटा नाति र ८ वटी नातिनी छन् तर के गर्नु जुन छोराले मलाई बुढेसकालमा पाल्लान् भन्ने आशा थियो । तिनै छोराले मलाई पालैपालो कुटेर घरबाट निकाले । बुढेसकालका सहारा छोराबुहारी नै आज मेरा लागि सबैभन्दा ठूलो शत्रु सावित भएका छन् । बरु अन्यसँग म संघर्ष गर्न सकँुला तर छोराबुहारीको त्यो यातना सहन अब म सक्दिनँ बाबु । अहिले आएर मेरा छोरा सबै रिटायर्ड भएर कोही काठमाडांैमा सुविधासम्पन्न जिन्दगी बाँचेका छन् । कोही चितवनमा छन्, कोही विदेशमा गएर पैसा कमाएका छन् । तर, के गर्नु बाबु, छोराबुहारी जतिसुकै सम्पन्न भए तापनि आज म मर्ने बेलामा सहाराविहीन भएर यो आश्रममा आएर बस्न बाध्य छु । धन्न यो आश्रम जसले आज हामीजस्ता आफ्नै सहाराविहीन बूढाबूढीलाई सहारा दिएर बाँच्ने आधार दिएको छ । सबैबाट अपमानित भएका हामीहरूको मन आज खुसीले हाँसेको छ । आज यहाँ आएर बस्दा हिजो आफ्नै घरमा भन्दा बढी सुरक्षित र आनन्दको महसुस गरेको छु । आज म यहाँ धेरै खुसी छु, आज मलाई आफ्नै छोराबुहारीको कुटाइ खानु परेको छैन, बुहारीको कर्कसो सुन्न परेको छैन । छोराबुहारीले आएर कुट्लान् हातपात गर्लान् भन्ने कुराको डर छैन । बिरामी हँुदा यहाँ उपचार पाएको छु, भोक लागेको केला खान पाएको छु । निद्रा लाग्दा मीठो निद्रा सुत्न पाएको छु । आज म स्वतन्त्र छु बाबु, यहाँ बस्दा मलाई धेरै आनन्द मिलेको छ । अब मर्ने बेलामा यहीबाट इहलीला समाप्त गर्ने चाहना छ । आज सबै भएर पनि कोही नभएको महसुस हँुदा यहाँ आएर संसारै पाएजस्तो लाग्दै छ ।
त्योबेला उमेर हुँदा म पनि इन्डियाको आर्मी थिएँ तर त्यो आर्मीको जागिर मैले ८ वर्षमात्र खाएँ । त्यसपछि समय परिस्थितिले गर्दा छोड्न बाध्य भएँ । आफ्नै घरमा किसानको रूपमा रहेँ । ती छोराछोरीलाई भन्दा आफूले पनि नखाइनखाई हुकाइयो, बढाइयो, पढाइयो । सानो हुँदा मर्ला भन्ने पीर ठूलो भएपछि मार्ला भन्ने पीर, म छोराबुहारीको यति ज्यादती सहेर बसे कि यसको कुनै वर्णन गरी साध्य नै छैन । ठूलो छोरो आर्मीको पेन्सन पकाएर विदेश गयो । अहिले चितवनमा परिवारसँगै बसेको छ । माइँलो छोरो पछि शिक्षक भयो । वसन्तपुर थानीथानमा पढाउँथ्यो । अहिले ऊ घरमा नै छ । ठूलो कान्छो फर्निचर अद्योग खोलेर काठमाडांैमा बस्छ, उसको आफ्नै घर गाडी छ, अर्को छोरो पनि आर्मीको पेन्सन पकाएरु अहिले चितवानको प्रेमबस्तीमा घर बनाएर बसेको छ । मलाई पद्ममनाथ भन्ने ठूलो कान्छोछोरोले मात्र हो कुटपिट नगरेको र केही नभनेको । अन्य छोराबुहारीको तुलनामा त्यसले मलाई धेरै माया गर्छ तर उसको पनि आफ्नै संसार छ । त्यो ठूलो कान्छो छोरोले मात्र हो मलाई नकुटेको, मरणासान्न हुने गरि पिटे बाबु मलाई सबै छोराबुहारी मिलेर । आफ्नै कमाइ गरी खाँदा पनि सन्तानबाट नै असुरक्षित हुने भएपछि संसार नै विरक्त लागेर घर छोडेर हिँडे । र, बाबु, म यहाँ आइपुगँे । त्यही पनि मेरो छोराका मित लक्ष्मण श्रेष्ठकी श्रीमती डिलामया श्रेष्ठको सहयोगमा म यहाँ आइपुगेँ नत्र म यो उमेरमा सडकमा भौँतारिइरहेको हुन्थेँ । त्यही मितछोराको श्रीमिती डिलमाया श्रेष्ठको संरक्षकत्वमा यहाँ बसिरहेको छु । आफ्नै कमाइ खाँदा पनि विभिन्न वहाना निकालेर आफ्नै छोराले नै कुटपिट गरेपछि बुहारीको त के कुरा भयो । आफँैले जन्माएको सन्तानले त कुटेर मार्न खोज्छ भने बुहारीले त के माया गर्थे र बाबु । छोराबुहारीको कुटाइले मेरो शरीरभरि निलडाम हुन्थे । छोराबुहारीलाई बाबुआमा कुटपिट गर्नका लागि कुनै पनि निहुँ र कुरा नै चाहिने रहनेछ । साना– साना कुरामा समेत कुटपिट हुँदा कति नै सहन सकिन्छ र ? बुहारी पाएपछि त छोरालाई बाबुआमाको कुनै मतलब नै हुने रहेनछ । हाम्रा पनि आमाबाबा थिए तर कहिल्यै यस्तो दुव्र्यहार भएन । अहिले सबैभन्दा डर मलाई कसैको छ भने आफ्नै छोराबुहारीको छ । मैले उनीहरूको ज्यादती सहन सकिनँ त्यसलै यो मर्ने वेलामा अर्काको आश्रयमा बस्न बाध्य भएको छु । मेरी कान्छी श्रीमती अहिले एक्लै गाउँको घरमा बसेकी छे । उसलाई पनि के भन्नुर ऊ पनि धेरै अशक्त भइसकी । जति सन्तान भए पनि आखिर के नै हुने रहेछ र बुढेस कालको सहारा कोही नहुने रहेछ । यो बुढेस कालको सहारा अब यो आश्रमबाहेक कोही छैन मेरो ।
बाबु, आउनुभयो, मनको दुखेसो पोख्न पाउँदा अति खुसी लागेको छ । बुढेसकालको यो पीडा बाबुलाई सुनाउँदा मलाई आफ्नोपनको आभास भएको छ । आफ्नै छोराबुहारीको हातबाट कुटाइपिटाई लछारपछार, लान्छनाभन्दा त यही जीवन प्यारो बाबु । बाँकी जीवन सबैबाट टाढा रहेर स्वतन्त्रपूर्वक बाँच्ने इच्छा छ । बाबु, मलाई जस्तो व्यवहार उसको सन्तानले मेरा कुनै पनि सन्ततिमाथि नगरुन्, यही भगवान्सँग पुकार गर्न चाहन्छु । आखिर जस्ता भए पनि उनीहरू मेरा सन्तान हुन् । उनीहरूले जस्तो व्यवहार गरे तापनि आखिर बाबुआमाको मन न हो बाबु । आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि भनेको यही रहेछ ।
चापाघाटमा रहेको वेदव्यास जेष्ठ नागरिक आश्रममा पत्रकार विवि श्रेष्ठले आश्रममा रहेका रामनाथ खनालसँग गरेको सत्यघटनामा आधारित कुराकानी ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय