ठेकेदार पेस्की लिएर हिँडेपछि पुल निर्माण अलपत्र

उदयपुर, २ असार । गाईघाट–दिक्तेल सडक योजनाअन्तर्गत उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा खोला वारपारका लागि निर्माण सुरुगरिएको पुल निर्माण अलपत्र भएको छ । लुम्बिनी शान्ति जेभी कन्ट्रक्सनले करिब १० करोड रुपियाँमा ठेक्का लिई आर्थिक वर्ष ०६८/६९ बाट काम सुरुगर्ने भनी गाईघाटस्थित सो आयोजनाको कार्यालयबाट एक करोड २५ लाख रुपियाँ पेस्की लिएर ठेकेदार भागेपछि पुल निर्माण अलपत्रमा परेको हो ।

आरसिसी ओपेन फाउनडेसन विधिबाट दुई सय ४ मिटर लम्बाइ तथा आठ स्पान भएको दुई लेनको डिजाइनमा निर्माण गरिने सो पुलको नौवटा पिलरमध्ये तीनवटा पिलर निर्माण गरिसक्नु पर्नेमा चालु यस आर्थिक वर्ष ०६८/६९ सकिन लाग्दा अहिलेसम्म एउटा पनि पिलर बन्न सकेको छैन । २०७२ साल वैशाखमा काम सकिनु पर्ने भए पनि अहिलेसम्म काम नथालिएको इन्जिनयर कमलदेवप्रसाद शाहले बताए । उनले तत्काल कामथाल्न आफूले बारम्बार तागेता गर्दा पनि ठेकेदार शिवप्रसाद उपाध्यायले बेवास्ता गरेको बताए ।
सरकारले जिल्ला सदरमुकाम जोड्ने सडकलाई प्राथमिकता प्राप्त सडक भनी नामाकरण गरे पनि सोअनुसार बजेट विनियोजन नगर्दा गाईघाट दिक्तेल सडकको निर्माणकार्य समेत प्रभावित बनेको छ । साथै बरुवा खोलाको पुलसमेत ठेकेदारको लापरबाहीका कारण अलपत्र परेपछि दुर्गम पहाडी जिल्लाका सर्वसाधारण जनता थपअन्योलमा परेको उपभोक्ता संरक्षण मञ्च गाईघाटका अध्यक्ष बद्रीप्रसाद काफ्लेले बताए ।
ठेकेदार शिवप्रसाद उपाध्यायले यसवर्ष चाँडै मनसुन सुरु भएकोले काममा बाधा पर्नुका साथै स्थानीयवासिन्दाले कुनै सहयोग नगरेको बताए । उनले कम्पनीका तर्फबाट पुल निर्माणमा खटिएका प्राविधिक कर्मचारीमाथि कुटपिट गरी आफूहरूले बनाएको अस्थायी क्याम्पमा आगोसमेत लगाइ दिएकोले यो वर्ष काममा ढिलासुस्ती भएको बताए । उनी आगामी कात्तिक महिनाबाट नै काम सुरु गरी २०७१ साल असार मसान्त सम्ममा नौवटै पिलर बनाएर ढलानसमेत गरिसक्ने बताउँछन् । चालु आर्थिक वर्षको स्वीकृत बजेट फ्रिज हुन नदिन आफूहरू लागि परेको उनले बताए ।

प्रतिक्रिया