चुनाव लाग्यो दलहरूलाई

uncp-maoistकाठमाडौं, २ असार । सरकारले ४ मंसिरका लागि संविधानसभा चुनावको मिति तोकेपछि प्रमुख दल चुनावमा केन्द्रित भएका छन् । असन्तुष्ट दलहरू मिति घोषणा फिर्ता गर्नुपर्ने माग राख्दै सडकमा उत्रिएका बेला प्रमुख दलहरू चुनावी अभियानमा जुटेका हुन् ।

अघिल्लो संविधानसभामा सबैभन्दा ठूलो शक्ति बनेको एकीकृत माओवादीको केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा ६६ सदस्यीय निर्वाचन परिचालन समिति नै गठन गरेको छ । उसले केन्द्रीय समिति विस्तारको विवादबारे छलफल गर्न १३ असारसम्मका लागि बैठक स्थगित गरेको छ ।
एमाले यसअघि नै एकमहिने चुनावी अभियानमा निस्किसकेको छ । अर्काे प्रमुख दल कांग्रेस पनि १३ जेठमा एकमहिने जिल्ला केन्द्रित अभियान सकेर नयाँ योजनाको तयारीमा रहेको छ ।
चुनाव घोषणा भएकै बेला केन्द्रीय समिति विस्तारमा विवाद देखिएको एमाओवादीले विस्तारसम्बन्धी विवादलाई मंसिरसम्म थाती राखेर चुनावमा केन्द्रित हुने संकेत गरेको छ । मनोनयन र विस्तारमा विवाद बढ्दै गए त्यसले चुनावलाई असर पार्ने विश्लेषणसहित एमाओवादीले १३ असारसम्मका लागि बैठक स्थगित गरेको स्रोतले बताएको छ ।
एमालेले जनमत सर्भेक्षण, पार्टीहरूको राजनीतिक स्थिति, पार्टीको आन्तरिक अवस्थासमेत आँकलन गर्न यसअघि नै देशका दुई सय ४० वटै निर्वाचन क्षेत्रमा टोली खटाएको थियो । एमालेको अभियान अहिले पनि जारी छ । चुनावी अभियानको थप योजना बनाउन र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको तयारीका लागि असारको पहिलो साताभित्र एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय यसअघि नै गरेको छ । ७ असारमा एमालेको पहिलो एकमहिने निर्वाचन अभियान सकिँदै छ ।
पार्टीका प्रमुख नेताहरू पनि निर्वाचन केन्द्रित कार्यक्रममै व्यस्त हुन थालेका छन् । शनिबार एमाओवादीका प्रमुख तीन नेता अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रममा चितवन पुगेका थिए । उनीहरूले त्यहाँ चुनाव केन्द्रित भाषण गरेर फर्केका छन् ।
त्यस्तै, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल सबै चुनावलाई केन्द्र बनाएर आयोजित कार्यक्रममै छन् । शुक्रवारसम्म उच्चस्तरीय राजनीतिक समितिको संयोजक रहेका एमाले अध्यक्ष खनाल काठमाडौं क्षेत्र नं १ को बुद्धिजीवी भेलामा सहभागी भए । गृहजिल्ला रौतहटमा पटक–पटक गएर फर्केका वरिष्ठ नेता NCनेपाल र उपाध्यक्ष वामदेव गौतम शनिबार सैबु भैँसेपाटीमा पार्टी प्रवेश कार्यक्रममा सहभागी थिए । त्यसपछि नेपाल अर्घाखाँची सम्पर्क मञ्चको कार्यक्रम र काठमाडौं क्षेत्र नं ४ को कपनमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
बिहीबार र शुक्रबार रामेछापको प्रशिक्षण र सिन्धुलीको जिल्ला अधिवेशन सकेर फर्केका एमाले महासचिव ईश्वर पोखरेल शनिबार दिउँसो काठमाडौं क्षेत्र नं ५ को चुनावी अभियानमा सामेल भएका थिए । एमालेका अर्का वरिष्ठ नेता केपी शर्मा ओली स्वास्थ्योपचारका क्रममा भारतको नयाँ दिल्लीमा छन् । दिल्ली जानुअघि उनी पनि चुनावी कार्यक्रममै सक्रिय थिए ।
कांग्रेस सभापति सुशील कोइराला शनिबार नेपाल परिवार नियोजन संघको एक कार्यक्रममा सहभागी भए भने दिउँसो नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा सहभागी भए । उपसभापति रामचन्द्र पौडेल चापागाउँको एक चुनावी कार्यक्रममा शनिबार सहभागी भएका थिए । शुक्रबार दिल्ली भ्रमणबाट फर्केका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पनि शनिबार राजधानीकै कार्यक्रममा व्यस्त भए ।
चुनाव घोषणाकै आसपास चुनावलाई केन्द्रित गरेर पार्टी प्रवेशका कार्यक्रम पनि धमाधम भइरहेका छन् । मधेसी दलहरूमा एकले अर्काे पार्टीका नेता भित्र्याउने होड नै चलेको छ । एमाओवादीले अन्य पार्टीका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएर चुनावी सन्देश दिन खोजेको छ भने एमालेले तल्लो तहमा एमाओवादीलगायत पार्टीका कार्यकर्तालाई भित्र्याउने अभियान नै चलाएको छ । चुनाव घोषणालाई स्वागत गरेका प्रमुख तीनै दलका नेताले पार्टी चुनावमा होमिइसकेको बताएका छन् ।
‘हामीले त चुनावी अभियान सुरु गरेको एक महिना भइसक्यो, हामी जहाँ–जहाँ पुगेका छौँ, त्यहाँ पार्टी प्रवेशको लहर नै चलेको छ’, शनिबार भर्खरै सिन्धुलीबाट फर्केका एमाले
महासचिव ईश्वर पोखरेलले सौर्यसँग भने, ‘तल्लो तहको उत्साह र जाँगरले एमाले आउँदो चुनावमा पहिलो पार्टी हुने पक्का छ ।’
Sun-Umlपदाधिकारी चयन र केन्द्रीय समिति विस्तारको विवादमा अल्झेको एमाओवादीले पनि शुक्रबार निर्वाचन परिचालन समिति बनाएको र अब त्यसको बैठकले चुनावी अभियानको विस्तृत योजना ल्याउने बताएको छ । ‘चुनाव तयारीका सन्दर्भमा हामीले हिजै अध्यक्षको संयोजकत्वमा ६७ सदस्यीय चुनाव परिचालन समिति गठन गरेका छौँ,’ एमाओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सौर्यसँग भने, ‘अब त्यसको बैठक बसेर निर्वाचन परिचालनको योजना बनाउनेछ ।’

प्रतिक्रिया