हरेक रात तिम्रो सपनामा

Anita-Neupaneजब ब्युँझनेछौ
अनि मलाई फेरि बिर्सनेछौ
म तिम्रो सपनाको परी
सपनामै तिमी मसँग
आँखा जुधाएर
धेरैबेर बात मार्नेछौ
समाउनेछौ मेरा हात र
चुम्नेछौ औँलाहरू
त्यही सपनामा
हाम्रो नजिकै हुनेछ
कुनै भव्य रेस्टुराँ
हामी टेबलमा बस्नेछौँ
वेटर आउनेछ र
लिनेछ हाम्रा अर्डरहरू
तिमी हट कफी
म कोल्ड कफी
हाम्रो च्वाइस फरक हुनेछ
त्यो टेबलको दायाँपट्टि
हुनेछ चुरोट निभाउने एस्ट्रे
त्यसैको छेउमा हुनेछ
एउटा सुन्दर फूलदानी
र, आर्टिफिसियल फूलहरू
विनासुगन्धका
विनावासनाका
यसैगरी, हरेक रात तिम्रो सपनामा
म विचरण गरिरहेको हुनेछु
तिमी हिँडिरहने ढुसी गन्हाउने
आदिम गल्लीहरूमा
जब चराका चिरबिरहरूले
मन्दिरका घन्टाहरूले
आमाले बालेका धूपका वासनाले
तिम्रो निद्रा बिथोलिनेछ
तिमी फर्किनेछौ कोल्टे
त्यस समय तिम्री प्यारी पत्नी
हातमा चियादानी बोकेर भन्नेछिन्–गुडमर्निङ
आमा फ्रेस हुन कर गर्नुहुनेछ
बाबा पल्टाउनुहुनेछ ताजा पत्रिका
र, सोध्नुहुनेछ–छोरा यो तैंले लेखेको समाचार हो ?
तिमी विनाजवाफ हिँड्नेछौ
ब्रेकफास्ट लिएर
त्यसदिनको स्कुप न्युज खोज्न
म त्यो समय कुनै कुनामा
वर्षौंदेखि थन्किएको
एउटा प्रेमिका हुनेछु
र, फेरि आउनेछु भेट्न हरेक रात तिम्रो सपनामा ।।

प्रतिक्रिया