कथा प्रेमका

Biva-Luitelढिलो वा चाँडो हरेक मानिसले प्रेम गर्छन् । कसैले एकचोटि गर्छन् त कसैले एकचोटि भन्दा बढी पनि । धेरैले त गहिरो प्रेम पनि गर्छन् । कसैको सिनेमामा जस्तो ह्याप्पी इन्डिङ् हुन्छ भने कसैको वियोगमा गएर टुंगिन्छ । धेरै दार्शनिकले प्रेमबारे आ–आफ्ना भनाइ अमर बनाएर पनि गएका छन् । जे होस्, प्रेम कुनै मानिसको जीवनबाट पनि पृथक् हुन सकेको छैन ।
दश लेखकद्वारा आ–आफ्ना वियोगान्त किस्सामा लेखिएका दशवटा कथा समावेश गरी तयार पारिएको कथासंग्रह ‘फस्ट लभ’ बजारमा आएको छ । यसका लेखक भन्छन्– हामीले कथा लेखेका होइनौँ, हाम्रो जीवनमा भएको पहिलो मायाको किस्साको दुरुस्त स्केच कोरेका हौँ । त्यसैले उनीहरूकै शब्दमा भन्नुपर्दा यो कथासंग्रह नभएर एक संस्मरण ग्रन्थ हो ।
पुस्तकको सुरुवात सम्पादक अजित बरालको भूमिकाबाट भएको छ । यस पुस्तक निकाल्न इयान टार्गिनेभको रचनाबाट आफू प्रेरित भएको कुरा उनले आफ्नो भूमिकामा स्पष्ट पारेका छन् । रचनाहरूको प्रारम्भ विमल आरोहीको ‘विन्ते’ बाट सुरु भएको छ । त्यसपछिको क्रममा शिवानीसिंह थारूको ‘हरियो घर’, कुमार नगरकोटीको ‘ऋतुको चिया पसल’, कमल नेपालीको ‘खत’, लेनिन बन्जाडेको ‘नाममा के छ ?’, अजित बरालको ‘फस्ट क्रस’, ऋचा भट्टराईको ‘चरी’, सुबिन भट्टराईको ‘दूरी’, राबतको ‘कुखुरे बैँस’ र अन्तिममा शोभा शर्माको ‘आइडियल बोइ’ छन् ।
विमल आरोहीको ‘बिन्ते’मा भाषाशैलीय मिठास छ । आञ्चलिक भाषिकाको गन्ध यसमा टड्कारो आउँछ । सानै उमेरमा बसेको पिरती लामो समय टिक्न सक्दैन । रिस, ईष्र्या सब भावनाको फ्लेवर उनको रचनामा पाइन्छ ।
एक समयकी चर्चित भिजे शिवानीसिंह थारूको संस्मरण ‘हरियो घर’मा उनी मज्जैले खुलेकी छन् । दुई केटाका बीचमा अल्झेकी शिवानी अन्तिममा यता न उता भएको कुरा व्यक्त गरिएको यस संस्मरणको भाषा भने उति स्तरीय छैन । जे होस्, वास्तविकता व्यक्त गर्न उनी कतै नचुक्नु नै ‘हरियो घर’को प्रशंसनीय पाटो हो ।
कुमार नगरकोटीको संस्मरण ‘ऋतुको चिया पसल’का घटनाक्रम निकै रमाइला छन् । चाहे यौनको नै सन्दर्भ किन नहोओस्, त्यसलाई व्यक्त गर्न नगरकोटीले आफ्नो मौलिक शैलीको सुन्दर ढंगले सदुपयोग गरेका छन् । भाषागत दृष्टिले हेर्ने हो भने सबैभन्दा राम्रो संस्मरण ‘ऋतुको चिया पसल’ नै हो । यसका एक/दुई ठाउँमा कृष्ण सेन ‘इच्छुक’ले आफ्नो कविता ‘कान्छी, भट्टी र देश’मा प्रयोग गरेका विम्ब र प्रतीकको प्रभाव पनि पाइन्छ । संस्मरणको अन्त्यमा धेरै पाठकले ‘विचरा नगरकोटी ! यस्तो पनि भएछ है !’ भन्लान् नै ।
फिल्मीशैलीमा सुरु भएको छ कमल नेपालीको संस्मरण । अहिलेको चल्तीको भाषामा भन्नुपर्दा एक
‘प्लेगर्ल’सँग बसेको माया धेरै समय नटिकेपछि ब्रेकअपको अवस्थाबाट यिनी गुज्रेको देखिन्छ ।
लेनिन बन्जाडेको संस्मरण पनि फिल्मीपाराकै छ । केटाहरूले आफ्नो पुरुषार्थ देखाउन प्रेम गर्ने मनस्थितिको सिकार भएका देखिन्छन् लेनिन । ‘ताक परे तिवारी नत्र गोतामे’ पाराको प्रेम गराइ देखिन्छ यिनको । यसमा लेखकले प्रयोग गरेको शैलीले ठाउँ–ठाउँमा मज्जैले हसाउँछ । समग्रमा भन्नुपर्दा यस संस्मरणको विशेषता सँँचो माया नभई मनोरञ्जन मात्रै देखिन्छ ।
‘नाममा के छ’ पछि अजित बरालको ‘फस्ट क्रस’ संस्मरण राखिएको छ । शीर्षक मात्र अंग्रेजी होइन, यसमा प्रयोग गरिएका कतिपय वाक्य पनि अंग्रेजी नै छन् । यतिसम्म कि, यो संस्मरण अंग्रेजीमा लेखेको कि नेपालीमा– त्यो छुट्टयाउन पनि गाह्रै पर्छ । उनको भाषा राम्रो र नराम्रोका बीचमा कतै अल्झिएको छ । प्रेममा मामिलामा अरू लेखकभन्दा अजित अलि पछाडि नै देखिन्छन् ।
त्यसपछिको क्रममा यस पुस्तकको सबैभन्दा कमजोर संस्मरण ‘चरी’ आएको छ । ऋचा भट्टराई आफ्नो अंग्रेजी लेखनमा जस्तो यसमा अलिकति पनि चम्किन सकेकी छैनन् । यो रचना उनको पहिलो प्रेमको कथा नभएर उनले लम्बेतान वर्णन गरिरहेको व्यक्तिको कथा हो जस्तो लाग्छ । यो संस्मरण ‘फस्ट लभ’का लागि होइन, ‘फस्ट छुट्कारा’का लागि सुहाउने खालको छ ।
ऋचाको संस्मरणपछि पछिल्लो समयमा युवाहरूमाझ लोकप्रिय बन्न पुगेको उपन्यास ‘समर लभ’ का लेखक सुबिन भट्टराईको ‘दूरी’ शीर्षकको संस्मरण समाविष्ट छ । विद्युतीय माध्यमबाट सुरु भएको मित्रता अनि सम्बन्ध अघि बढ्दै जाँदा बसेको अल्लारे प्रेमबारे उनले लेखेका छन् । ‘समर लभ’ भन्दा धेरै भिन्न भाषा पनि छैन यसमा । उनको शैलीसँग परिचित भइसकेकाले यस संस्मरणलाई ‘झ्याउरे’ संज्ञा दिन पनि बेर छैन ।
राबतको ‘कुखुरे बैँस’ शीर्षकको संस्मरण पनि अल्लारे प्रेमकै नमुना हो । पुरुषको ‘पर्भर्ट’ मानसिकताको चित्रण पाइने यस रचनामा लेखकले माया प्राप्त नहुँदा पैदा हुने तनावलाई जीवन्त
उतारेका छन् । प्रेमका अव्यक्त भावकै कारण पढाइ नराम्रो हुँदा लाग्ने चिन्तालाई पनि यस संस्मरणमा उतारिएको छ । लेनिन बन्जाडेको ‘नाममा के छ ?’ मा जस्तै यसमा पनि प्रेम प्राप्त गर्नुलाई साथी–साथीबीच पुरुषार्थसँग जोडेर हेर्ने कुराको अभिव्यक्ति पाइन्छ ।
अन्तिम संस्मरण शोभा शर्माको हो । ‘आइडियल बोइ’ शीर्षकको यस संस्मरणमा शोभाले सुन्दर भाषाका माध्यमबाट आफ्नो पहिलो प्रेम र प्रेम गर्दा आफूमा देखा परेको चञ्चलताबारे विश्लेषण गरेकी छन् । हतार–हतारमा संस्मरण टुंग्याउन खोजे पनि भाषाको मिठासले गर्दा सुरु–सुरुका अंश भने रमाइला लाग्छन् ।
समग्रमा भन्नुपर्दा ‘फस्ट लभ’मा समावेश केही रचना उत्कृष्ट छन्, केही सबै कोणबाट कमजोर छन् भने केही राम्रा र नराम्राको बीचमा कतै जेलिएका छन् । राम्रा, नराम्रा जस्ता भए पनि सबै संस्मरण वियोगान्त छन् । यस संग्रहको प्रमुख विशेषता भनेकै युवाकेन्द्रित हुनु हो । प्रेमका मसला घुसाएर मनगढन्ते हिसाबमा लेखिएका रचनाभन्दा त आफ्ना मनोभावलाई जस्ताको तस्तै उतारी पाठकलाई वास्तविकताको अनुभूति गराउने क्षमता भने यसका रचनामा नभएका होइनन् ।

प्रतिक्रिया