माथिल्लो तामाकोसीका कारण स्वास्थ्यचौकी प्रभावित

लामाबगर, १ असार । माथिल्लो तामाकोसी निर्माणको क्रम सुरु भएपछि गोगरखोलाको स्वास्थ्य चौकीमा प्रतिकूल प्रभाव पारेको छ । वर्षा लागेपछि स्वास्थ्य चौकीनजिकैको सडक हिलो भएपछि बिमारी आवातजावत गर्न समस्या हुन्छ भने गर्मी महिनामा धूलोले मान्छे नै चिन्न नसकिने अवस्था हुन्छ । धूलोले स्वास्थ्य संस्थामा रहेका सामाग्रीसमेत धुलाम्मे हुने गर्छ । त्यसो त साँघुरो कोठा र बस्न असहज अवस्था चौकीका थपसमस्या हुँदै थपिदै गएको छ । उत्तरी क्षेत्रको लामाबगर, खारे र गौरीशंकर गाविसका वासिन्दासहित निमाार्णाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका कर्मचारीसमेत यसै स्वास्थ्य चौकीका सेवाग्रही हुन् । तर, अर्कालाई सेवा दिने संस्था भने चार वर्षदेखि आफैँ रोगी बनेको छ ।

स्वास्थ्यचौकी इञ्चार्ज ईश्वरकुमार खड्का आफ्नै कम्पाउण्ड भएको चौकीलाई आयोजनाले क्षति पुर्‍याएपछि पुननिर्माण नगरिदिँदा समस्या आएको बताउँछन् ‘आफ्ना कारण संरचनामा क्षति भएको थाहा हुँदाहुँदै आयोजना स्वास्थ्य चौकीको दुर्दशा हेरेर रमिते बनेको छ,’ खड्काले भने ।
पाँच वर्षअगाडि आयोजनाले स्वास्थ्यचौकीलाई क्षति पुर्‍याएमा पुन:निर्माण गर्ने जनाएको थियो । तर, अहिलेसम्म यसमा सुधार भने भएको छैन । आयोजनाले कार्यालयलाई मिति २०६५ सालको १९ चैतमा पत्राचार गर्दै आयोजना निर्माणको क्रममा स्वास्थ्य चौकी भवनमा हानी नोक्सानी भएमा त्यसका लागि कार्यालय जिम्मेवार हुने कुरा उल्लेख गरिएको छ । आयोजनाले कार्यालयलाई लेखेको पत्र देखाउँदै खड्का भन्छन् ‘हामीले कतिपटक भनिसक्यौँ । तर, कहिल्यै हुन्न पनि भन्दैनन् । काम पनि गरिदिँदैनन् ।’
स्वास्थ्य संस्थाको भवन नभएपछि सेवा लिन धेरै गाह्ररो परेको सेवाग्राहीको भनाइ छ । लामाबगर ६ ठाडीका विष्णु लामा भवन नहुँदा काम गर्न समस्या परेको वताउँछन् । ‘यो क्षेत्र धेरै जोखिमको क्षेत्र हो । ब्लास्टिन पड्किरहन्छ । एउटा एक्स रे मेसिन आवश्यकता छ,’ लामाले भने, ‘आयोजनाले स्थानीयको कुरै सुन्दैन । एक कानले सुन्छ अर्को कानले उडाउँछन् ।’ स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य पहलमान तामाङ पनि तामाकोसी आयोजनाको बेवास्ताका कारण समस्या निम्तिएको बताँउछन् । उनका अनुसार आयोजना आउनुअगाडि यो ठाउँमा स्वास्थ्य चौकीले राम्रो सेवा प्रदान गरेको थियो । स्थानीय कार्यालय जुत्ता खोलेरभित्र पस्ने किसिमको सुविधासम्पन्न बनाइ दिन्छौँ भनेर आश्वासन आयोजनाका पदाधिकारीले दिएका थिए । तामाङ भन्छन् ‘भएको पनि भत्काइदिए । राम्रो बनाउने त कुरै नगरौँ ।’ स्वास्थ्य चौकीले गौरीशंकर, खारे, लामाबगर र ओराङ गाविसको केही क्षेत्रका साथै माथिल्लो तामाकोसी आयोजनाका झण्डै दुई हजार गरी करिब २० हजार जनसंख्यालाई सेवा प्रदान गर्नुपर्छ । प्राथमिक उपचारलगायतका स्वास्थ्य सेवासँगै २४ घण्टे प्रसुती सेवा पनि संस्थाले प्रदान गर्ने गरेको छ । यी काम गर्नका लागि भवन नहुँदा समस्या परिरहेको स्वास्थ्य संस्थामा कार्यरत अनमी सानुमाया खड्का बताउँछिन् ।

प्रतिक्रिया