राजनीतिक समितिको संयोजकमा गच्छदार

4 dal ka ne ji haru

काठमाडौं, ३१ जेठ । संविधानसभा निर्वाचन मंसिर चार गते गर्ने सरकारी निर्णयको उच्चस्तरीय राजनीतिक समितिले स्वागत गरेको छ ।
राजधानीमा आज (शुक्रबार) बसेको समितिको बैठकले सरकारी निर्णयको स्वागत गर्ने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘मंसिर चार गते संविधानसभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेका छौं,’ उनले भने ।
समितिमा निर्वाचन कानून र मितिमा सहमति जुटाउन नसके पछि त्यसको जिम्मेवारी सरकारलाई नै दिईएको थिए । त्यस लगत्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नुका साथै निर्वाचन अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो ।
त्यसैगरी समितिले आन्दोलनमा रहेका सबै राजनीतिक दललाई चुनावी प्रक्रियामा सामेल हुन आह्वान गर्ने निर्णय गरेका छन् । एमाले नेता रघुजी पन्तले आन्दोलनरत दललाई सहमतिमा ल्याउन तत्काल वार्ता थालिने बताए ।
यसैबीच, भोलि शनिबारबाट उच्चस्तरीय राजनीतिक समितिको संयोजकत्वको जिम्मेवारी मधेसी मोर्चामा जाने भएको छ । संयोजकको जिम्मेवारी मधेसी मोर्चाका नेता समेत रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई दिईने बुझिएको छ । समितिको नेतृत्व एक/एक महिना चार राजनीतिक शक्तिका शीर्ष नेताहरुले लिने यस अघिनै सहमति भईसकेको छ । अर्को बैठक असार–२ गते बस्ने छ ।

प्रतिक्रिया