खानेपानी योजनामा कर्मचारीको मिलेमतोमा लाखौँ अनियमितता

डडेल्धुरा : ठूलो लगानीमा निर्माण भइरहेको रूपाल गाविसको सुविगडा खानेपानी योजनामा लाखौं अनियमितता भएको रहस्य खुलेको छ । रूपाल गावि–१ रूपालीगाडमा निर्माण हुने योजनामा कर्मचारी र उपभोक्ता समितिका पदाधीकारीको मिलोमतोमा लाखौँ रुपियाँ हिनामीना भएको हो ।  ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाद्वारा सञ्चालित खानेपानी योजनामा समान खरिदसँगै ढुवानी गर्दासम्म लाखौँ रुपियाँ हिनामिना भएको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्माणकार्य सुरु नहँुदै सुविगडा योजनामा लाखौँ  अनियमितता सुरु भएको  स्थानीयवासीको आरोप छ । धनगढीस्थित कामख्य ट्रेडर्सबाट १० लाख ५० हजारको समान खरिद गर्दा निमार्ण कम्पनीले अनियमिता गरेको जनाइएको छ । खानेपानी निर्माण उपभोक्ता समितिका पदाधिकारी देखि ग्रामीण जलश्रोत
व्यवस्थापन परियोजनाका डडेल्धुराका  कर्मचारीसम्मको  मिलेमतोमा अनियमित ढंगले कमिसन दिइएको स्रोतले जनाएको छ । कोटेसन आह्वान गर्दासमेत मिलेमतोमा गरिएकाले सामान खरिद गर्दा पनि महँगोमा खरिद गरिएको छ ।
सामान खरिद गर्नका लागि भरिएका कोटेसन कर्मचारी आफैँले मिलाई भरेको रकम व्यापारीको फर्मका नाममात्रै राखेर औपचारीकता पूरा गरेको सम्बन्धित व्यवसायीले बताए । समान खरिददेखि लिएर समान ढुवानीसम्ममा करिब १० लाख अनियमितता भएको भन्दै सथानीयवासीन्दाले जलश्रोत व्यवस्थापन परियोजना  क्षेत्रीय कार्यालय धनगढीमा उजुरी दर्ता गरेका छन् ।
धनगढीबाट खरिद गरिएको सिमेन्ट निर्माण स्थलसम्म पुग्दा ३० देखि ४० किलोप्रति बोरा पुग्ने गरेको  स्थानीयवासीले जनाएका छन् । सिमेन्टका प्रत्येक बोरा पूरै च्यातिएको हुनाले सिमेन्ट निर्माण स्थलमा कम पुग्ने गरेका छ । बगरकोट बजारमा राखिएको सिमेन्टमध्ये ३६ बोरा उपभोक्ता समितिको मिलेमतोमा बिक्री गरेको स्रोतको दाबी  छ । उपभोक्ता समतिका अध्यक्ष पद्मम नाथले ३६ बोरा सिमेन्ट गोदाम धनिले प्रयोग गरेको स्वीकारेका  छन् । समितिका कुनै पनि पदाधिकारीलाई जानकारी नै नदिई गोदाम धनीले सिमेन्ट प्रयोग गरेकाले यसबारे छानबिन गरिनेसमेत अध्यक्ष नाथले बताए ।
निर्माण स्थलसम्म समान ढुवानी गर्दाप्रति किलो ३७ रुपियाँ दिने उल्लेख गरिएको भए पनि उपभोक्ता समितिले भने १८ देखि २५ रुपियाँसम्म मात्रै दिएको मजदुर नारायण नाथले बताए ।  उपभभोक्ता समितिका अध्यक्ष पद्मम नाथले अनियमितता नगरेको दाबी गरे । उनले ३२ लाख ९९ हजार रुपियाँमा सम्पूर्ण निर्माण सामग्री गरिद गरेको बिल भौचर देखाउँदै आफू आर्थिक अनियमिततामा संलग्न नरहेको दाबी गरे ।

प्रतिक्रिया