निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं, २८ जेठ । निर्वाचन आयोगले राजनीतिक दलका नेता कार्यकर्ताबाट निर्वाचनको नाममा अनियमित एवं भ्रमपूर्ण सूचना दिनेलगायत काम भइरहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक दल तथा त्यसका पदाधिकारी, कार्यकर्ता र अन्य व्यक्तिबाट पनि निर्वाचनको नाममा जबर्जस्ती चन्दा उठाउने, एकअर्काविरुद्ध अशिष्ट एवं अमर्यादित भाषा प्रयोग गर्ने, ब्यानर, तुल प्रयोग गर्ने, भित्तेलेखन गर्ने र निर्वाचनकै सम्बन्धमा भ्रमपूर्ण सूचना दिनेलगायत काम भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता वीरबहादुर राईले आज सोमबार विज्ञप्ति जारी गरी अर्को संविधानसभाको निर्वाचन मर्यादित, स्वच्छ, निष्पक्ष र विश्वसनीयरूपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन् ।
आयोगले राजनीतिक दल तथा त्यसका पदाधिकारी, कार्यकर्ता, अन्य व्यक्तिले सर्वसाधारणसमक्ष आफ्नो विचारधारा, कार्यक्रम, नीति शान्तिपूर्ण एवं मर्यादित ढंगबाटमा पुर्‍याउन सक्ने वातावरण निर्माण गर्नसमेत आग्रह गरेको छ । त्यसका लागि जबर्जस्ती चन्दा उठाउने, निर्वाचन प्रचारप्रसार गर्दा कुनै व्यक्ति, राजनीतिक दल एवं विचारधाराविरुद्ध अशिष्ट एवं अमर्यादित भाषा प्रयोग गर्ने तथा सार्वजनिक सभामा कुनै व्यक्ति, राजनीतिक दल एवं विचारधाराको आलोचना वा टीकाटिप्पणी गर्दा नीति, कार्यक्रम वा विचारबाहेक अन्य कुराको आलोचना वा टीकाटिप्पणी गर्नेजस्ता कार्य नगर्न नगराउन र गराएको भए तत्काल रोक्न सम्बन्धित दल तथा त्यसका पदाधिकारी, कार्यकर्ता र अन्य व्यक्तिलाई आयोगले अनुरोध गरेको छ ।
त्यस्तै, आयोगले पोस्टर टाँस्ने, भित्तेलेखन गर्ने, आयोगको पूर्वस्वीकृति नलिई सार्वजनिक सञ्चारमाध्यमबाट प्रत्यक्ष वा परोक्षरूपमा निर्वाचनका लागि प्रचारप्रसार गर्ने र अर्को संविधानसभा सदस्यको निर्वाचनका सम्बन्धमा भ्रमपूर्ण सूचना वा जानकारी दिने कार्य नगर्न नगराउन र गरे/गराएको भए तत्काल रोक्न सम्बन्धित दलसँग अनुरोध गरेको छ ।
संविधानसभा सदस्य निर्वाचन सम्पन्न गर्न निर्वाचन अयोगबाट नेपाल सरकार र विभिन्न सहयोगी राष्ट्र तथा दातृसंस्थाहरूबाट निर्वाचन समग्रीहरू प्राप्त गर्नका लागि द्विपक्षीय र बहुपक्षीयरूपमा छलफलका साथै केही मित्रराष्ट्रहरूसँग सामग्री प्राप्त गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
आयोगले जापान सरकारबाट १२ करोड ९४ लाख ८१ हजार बराबरका मतपेटिकमा टाँसिने स्टिकर, सेक्युरिटी सिल र छेकाबारामा समेत गरी विभिन्न आठ प्रकारका सामग्री प्राप्त गर्न र भारत सरकारबाट ४८ थान सवारीसाधन प्राप्त गर्न अर्थ मन्त्रालयमार्फत सम्बन्धित कूटनीतिक नियोगमा अनुरोध गर्ने निर्णय गरेको जनाएको छ ।
संविधानसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाका लागि जापान सरकारबाट प्राप्त भएको मतपेटिका नै आगामी निर्वाचनका लागि पुग्ने गरी मौज्दात रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया