जावलाखेललाई हराउँदै थ्री–स्टार सेमीमा

काठमाडौं, २७ जेठ । दुईपटकको विजेता तथा गत संस्करणको उपविजेता थ्रीस्टार क्लब, जावलाखेललाई टाइब्रेकरमा हराउँदै गोर्खा कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनलमा थ्री–स्टारले जावलाखेललाई ३–२ ले हरायो । सानदार प्रदर्शन गर्दै जावलाखेलका गोलकिपर विकेश कुथुले खेललाई टाइब्रेकरसम्म पुर्‍याए पनि टोलीको हार भने टार्न सकेनन् ।

अन्तिम प्रहारमा जावलाखेलका प्रदीप महर्जन चुकेपछि थ्री–स्टार आफ्ना सुरुका तीनमध्ये दुई प्रहारमा असफल भए पनि खेल जित्न सफल भएको हो । प्रदीपको प्रहार गोलकिपर किरण चेम्जोङले रोक्नु अघि जावलाखेलका लागि चौथो प्रहार गर्न गएका नुरराज काफ्लेसमेत असफल भएका थिए । थ्री–स्टारका विक्रम लिम्बु र फेमीले गोल गर्न सकेनन् भने जावलाखेलका राज पौडेल पनि असफल भए । गोलकिपर किरण चेम्जोङ, सर्विन्द्र श्रेष्ठ र डोडोजले थ्री–स्टारका लागि गोल गरे । जावलाखेलका लागि टाइब्रेकरमा सुशील शाह र उमेश थापाले गोल गरे ।
टाइब्रेकर सुरुवातदेखि नै निकै रोमान्चक रहेको थियो । थ्री–स्टारका लागि पहिलो प्रहार गरेका सर्विन्द्रले गोल गरे पनि त्यसपछि विक्रम चुकेपछि थ्री–स्टार राज पौडेल असफल भएको मौका खेर फाल्दै १–१ को स्थितिमा पुगेको थियो । जारी प्रतियोगितामा टाइब्रेकरबाट निर्णय लिइएको यो पहिलो खेल थियो । यसअघिका दुवै खेलमा निर्धारित समयबाट निर्णय आएको थियो ।
राष्ट्रिय टिमका गोलकिपरसमेत रहेका विकेशले निर्धारित तथा अतिरिक्त समयको खेलमा जावलाखेललाई पटकपटक उद्धार गरेका थिए । उनले खेलभर आधा दर्जनभन्दा बढी अवसरमा थ्री–स्टारलाई निराश बनाएका थिए । २०औँ मिनेटमा सर्विन्द्रको प्रहार बारमा लागेपछि थ्री–स्टार सम्भावित १–० को अग्रताबाट पछि परेको थियो । ३०औँ मिनेटमा जावलाखेलले राम्रो अवसर पाए पनि कन्या गुरुङको प्रहारले गोलपोस्टको फ्रेम समात्न सकेन । पहिलो हाफको इन्जुरी समयमा सन्तोष शाहुखलको प्रहारलाई गोलकिपर विकेशले आकर्षक बचाउ गरेपछि थ्री–स्टार गोलको खडेरी चिर्न पुन: असफल भयो । ५७औँ मिनेटमा सर्विन्द्र श्रेष्ठले अफसाइड ट्रयाप बिट गरे पनि उनलाई गोलकिपर विकेशले सानदार प्रदर्शन गर्दै असफल बनाए । ७५औँ मिनेटमा जगजित श्रेष्ठको सानदार प्रहारलाई विकेशले पुन: रोकेका थिए । त्यसको तीन मिनेटपछि थ्री–स्टारका विक्रम लामाको प्रहार बारमा लागेर फर्किएको थियो ।
थ्री–स्टारले फाइनल प्रवेशका लागि मनाङ मस्याङ्दीसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि दुईपटक थ्री–स्टार विजेता बन्दा ती दुवैमा मनाङ पराजित भएको थियो । अर्को सेमिफाइनलमा आर्मीले रानीपोखरी कर्नर टिम (आरसिटी) र ब्वाइज युनियनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया