कोइराला परिवारको एक्लो बृहस्पति

Kamal-Koirala२०११ सालमा बुबा मातृकाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो । नेपाली कांग्रेसको सभापति पनि हुुनुहुन्थ्यो उहाँ त्यतिबेला । दक्षिण एसियामै नेपालको कोइराला घरानालाई कांग्रेस घरानाका रूपमा चिनिन्छ । कांग्रेसको आन्तरिक राजनीतिको केन्द्र पनि कोइराला परिवार नै हो । म त्यही परिवारको एक्लो कम्युनिस्ट हुँ । हुन त राजनीति विचारबाट निर्देशित हुन्छ अनि परिवार–गृहस्थको अर्कै व्यावहारिक सिद्धान्त हुन्छ । सिँगै परिवार मुलुकको कांग्रेसी राजनीतिको केन्द्र हुँदा पनि मलाई त्यसले कुनै असर पारेन । बरु मैले कम्युनिस्ट राजनीति आत्मसात गरेर यहाँसम्म आइपुग्दा गौरव महसुस गरेको छु ।
पारिवारिक जीवन र राजनीतिक विचारको भेदले मलाई कुनै दैनन्दिन असर पारेनन् । तर, केही यस्ता सम्झना पनि छन्, जसलाई आज विश्लेषण गर्दा मेरो परिवारमा सहिष्णु राजनीतिक संस्कार मौलाउने ठाउँ थियो भन्ने लाग्छ । म आफू कम्युनिस्ट भएर आफ्नै फुपूकी छोरीसँग चुनाव लड्दा र त्यसबेला आफ्नै भाइले पनि मलाई होइन बहिनी शैलजालाई जिताउन प्रचार गरेको सम्झँदा परिवारको भन्दा विचारको नाता बलियो पाएँ । न म कम्युनिस्ट भएबापत परिवारका कसैले विरोध गरे न त मैले नै चुनावमा परिवारले मलाई सघाइदिए हुन्थ्योजस्तो गरेँ । एउटै चुल्होमा पाकेको खाना खाएर म कम्युनिस्ट राजनीतिमा सक्रिय हुन्थेँ । अरू, सबै कांग्रेसको राजनीतिमा सक्रिय हुन्थे ।
०००
२०११ सालतिरकै कुरा, म त्रि–चन्द्र कलेजमा आइए पढ्दै थिएँ । परिवारको राजनीतिक पृष्ठभूमि कांग्रेस भए पनि त्यति बेलासम्म मेरो छुट्टै राजनीतिक पृष्ठभूमि बनिसकेको थिएन । कलेज गएपछि अधिकांश साथी कम्युनिस्टनिकटका थिए । त्यतिबेला कम्युनिस्ट पार्टीलाई सभा–जुलुस गर्न प्रतिबन्ध थियो । कम्युनिस्ट पार्टी भूमिगत थियो । कलेजबाट जनअधिकार सुरक्षा समितिमार्फत हामीले प्रदर्शन गर्‍यौँ । प्रदर्शनमा प्रहरीले धरपकड गर्‍यो । म पनि पक्राउ परेँ । जनअधिकार सुरक्षा समिति कम्युनिस्टहरूको संगठन हो भन्ने सबैलाई थाहा थियो । निषेधाज्ञा उल्लंघन गरेर प्रदर्शन गरेपछि प्रहरीले पक्रिएर एक हप्तासम्म नख्खु जेलमा राख्यो । एक हप्तापछि घर जाँदा बुबा मसँग बोल्नुभएन । एकातिर कम्युनिस्ट पार्टीमा लागेको मन नपरेको, अर्कोतिर पढ्ने बेला आन्दोलनमा हिँड्यो भनेर बुबा मसँग ठुस्किनुभएको थियो । तर, मुखै फोरेर केही भन्नुभएन । ‘पढ्ने बेला आन्दोलनमा लाग्यो’ भनेर गुनासो गर्नुभएछ, आमासँग । म कम्युनिस्टमा लागेको थाहा पाएपछि करिब दुई महिनासम्म उहाँ मसँग बोल्नुभएन । त्यसपछि विस्तारै सामान्य हुँदै गयो ।
खानदाननै कांग्रेस भए पनि म कम्युनिस्ट भएँ । भित्रभित्रै मन नपरे पनि देखिने गरी बुबाले कहिल्यै मलाई ‘किन कम्युनिस्ट भइस्’ भन्नुभएन । तर, परिवारमा केही अप्ठ्यारो त हुने रहेछ । बुबा कांग्रेसको सभापति अनि प्रधानमन्त्री दुवै हुँदा पार्टी र सरकारको काम लिएर मान्छे घर आउँथे । घरमा कांग्रेसका बैठक हुन्थे । त्यस्ता समारोहमा म कहिल्यै बस्दैनथेँ । आफैँले जानेर घरबाट निस्किदिन्थेँ । आफ्ना साथीहरूलाई पनि घर लिएर कहिल्यै गइनँ । एकदुई कम्युनिस्ट साथी घर गए पनि मेरो कोठामा बस्थ्यौँ । खासखुस गफ गरेर फर्किन्थ्र्यौं ।
काठमाडौंमा पहिलोपटक जेल परेपछि बुबाले मलाई आइए पढ्न इलाहाबाद पठाउनुभयो । बनारस युनिभर्सिटीबाट बिए पास गरेँ । म इलाहाबादमा एमए पढ्दै थिएँ, नेपालमा २०१७ सालको काण्ड भयो । तत्कालीन राजा महेन्द्रले बहुदलीय प्रजातन्त्र खोसे । म त्यतिबेला अखिल भारत नेपाली विद्यार्थी फेडेरेसनको महामन्त्री थिएँ । फेडेरेसनमा सबै पार्टीनिकट विद्यार्थीहरूको उम्मेदवारी पथ्र्यो । त्यतिबेला वामपन्थीहरूको वर्चस्व भयो फेडेरेसनमा । नेपालबाट बिपी गएर फेडेरेसनको अधिवेशन उद्घाटन गर्नुभएको थियो । म महामन्त्री भएको केही दिनपछि महेन्द्रले ‘कू’ गरे । महेन्द्रलाई भारतको समर्थन थियो, यता सम्पत्तिको मोह भएका व्यक्तिहरूले राजालाई समर्थन गरे ।
नेपालमा कम्युनिस्ट पार्टी भूमिगत थियो त्यतिबेला । भारत बसेर पढे पनि म नेपाल आएर पार्टीको काम पनि गर्ने गर्थें । २०१२ सालमा मलाई नरबहादुर कर्माचार्यले पार्टीको सदस्यता फारम भराउनुभएको थियो । त्यतिबेला अहिलेजस्तो मन लागेको मान्छेलाई भर्ती गर्ने चलन थिएन । सदस्यता फारम भरेपछि ती व्यक्तिका बारेमा आवश्यक सुझबुझ गरेपछि मात्रै सदस्यता स्वीकृत गरिन्थ्यो । मेरो सदस्यता चाँडै स्वीकृत भयो ।
कम्युनिस्ट पार्टी भूमिगत भएकाले खुला राजनीतिमा कांग्रेसको एकछत्र राज थियो । २०१५ सालको आमनिर्वाचनमा नेपाल राष्ट्रवादी गोरखा परिषद्मार्फत कम्युनिस्टहरू पनि सहभागी भएका थिए । चुनावी प्रचारप्रसारका लागि म विराटनगर आएँ । परिषद्को नेतृत्व केआई सिंहले गर्नुभएको थियो । सुरुआती दिनमा कम्युनिस्ट सिद्धान्त बुझेरभन्दा पनि जिम्मेवारीले कम्युनिस्ट भइरहेको थिएँ । म ।
०००
म आफ्नै महत्त्वाकांक्षाले कम्युनिस्ट भएँ । कम्युनिस्ट भएकै कारण २०१७ देखि २०२४ सालसम्म भारतमा निर्वासित जीवन पनि बिताएँ । २०२४ सालमा नेपाल आएपछि पक्राउ परेँ । २ वर्षसम्म भद्रगोल जेलमा राखियो । जेलमा रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, प्रदीप गिरीलगायतलाई पनि ल्याएका थिए । उनीहरू विद्यार्थी नेता थिए त्यतिबेला । मनमोहन अधिकारी, रूपचन्द्र विष्ट, मोहनविक्रम सिंह, आनन्ददेव भट्टलगायतलाई पनि भद्रगोल जेलमा राखिएको थियो । हामी पक्राउ परेको केही समयपछि बिपीलगायत नेता भने छुट्नुभयो ।
नातामा बिपी मेरो काका । उहाँ छुटेपछि एक दिन भद्रगोल जेलमा आउनुभएको थियो । उहाँले मलाई तिमीलाई के चाहिएको छ ? भनेर सोध्नुभयो । काका भएको नाताले ‘केही खर्च दिनुस्’ भनेँ । उहाँले रामचन्द्र पौडेल र मलाई २५/२५ रुपियाँ दिनुभएको थियो । बिपी काका खाँटी कांग्रेस भएर पनि कहिल्यै मलाई कम्युनिस्ट भएकोमा कुनै गुनासो गर्नुभएन । न त मेरो बुबाले नै गर्नुभयो । बरु, बाहिरका साथीहरू तथा कांग्रेस पार्टीका अरू नेताले हाम्रै पार्टीमा आउनुस् भन्थे । कहिलेकाहीँ घरका सबै कांग्रेसबीच आफू एक्लो कम्युनिस्ट हुँदा अलग्गिएको महसुस पनि हुन्थ्यो । यद्यपि, कम्युनिस्ट पार्टीमा लागेर कहिल्यै ग्लानिबोध भएन । बरु, छुट्टै पहिचान भएझैँ लाग्थ्यो मलाई । २०२६ सालमा जेलबाट छुटेपछि बिहे गरेँ, त्यसपछि लगातार ११ वर्ष वकालत पेसा गरेँ । पेसा वकालत भए पनि कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य थिएँ । २०४६ सालको आन्दोलन सुरु भएपछि कम्युनिस्ट पार्टीको झन्डा लिएर निस्किएँ । त्यतिबेला पनि पक्राउ परेको थिएँ । प्रजातन्त्र घोषणा गर्ने पक्का भएपछि चैत २५ गते थुनामुक्त भएँ ।
२०४८ सालको निर्वाचनमा पारिवारिक सहयोग नपाउँदा चाहिँ मलाई परिवारभित्रै एक्लो बृहस्पति भएझैँ महसुस भएको थियो । मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवार भएको थिएँ । मेरो प्रतिद्वन्द्वी आफ्नै फुपूकी छोरी शैलजा आचार्य थिइन् । हरेक वर्ष तिहारमा भाइटीका लगाउने बहिनीसँग चुनावी प्रतिस्पर्धामा थिएँ । उनले नेपाली कांग्रेसबाट टिकट पाएकी थिइन्, मैले नेकपा (एमाले) बाट । पार्टीले टिकट दिएपछि चुनाव लड्नै पर्‍यो । फेरि, राजनीति भन्ने कुरा व्यक्तिगत महत्वकांक्षाबाट प्रेरित हुन्छ । राजनीतिमा महत्त्वाकांक्षा त्याग्नु भनेको सक्रिय राजनीतिबाट हात धुनु हो । मलाई लाग्छ– धर्म, राजनीति र खेलमा व्यक्तिगत सम्बन्धले कुनै महत्त्व राख्दैन । त्यसैले मैले बहिनीसँगको चुनावी लडाइँ स्वीकारेँ । भाइ विजयसमेत बहिनीकै चुनावी अभियानमा हुन्थ्यो । मलाई त आफ्नै पार्टीका कार्यकर्ताले मात्र साथ दिएका थिए । यद्यपि शैलजाले चुनाव जितिन्, मैले हारेँ । २०५१ सालमा भने त्यही क्षेत्रबाट मैले जितेँ । कांग्रेसका श्यामलाल तबदार थिए मेरा प्रतिद्वन्द्वी ।
शैलजाले चुनाव जितेपछि पनि उनीसँगको पारिवारिक सम्बन्ध कहिल्यै बिग्रिएन । चाडपर्वमा आउने–जाने उसै गरी भयो । पहिलेझैँ पारिवारिक सम्बन्ध सुमधुर थियो । हाम्रो परिवारमा कहिल्यै राजनीतिक कारणले मनमुटाब भएन ।
म परिवारको माहिलो छोरो । मेरा दाजुभाइ सबै कांग्रेस । बुबा कांग्रेस पार्टीको सभापति हुनुभयो । काका जननायक नै हुनुहुन्छ । अहिलेसम्म पनि नेपाली कांग्रेसको नेतृत्वमा कोइराला परिवारकै वर्चस्व छ । तर, मैले कांग्रेसको राजनीतिमा लाग्ने सपना कहिल्यै पालिनँ । न त कम्युनिस्ट बनेर परिवारसँग मनमुटाव नै भयो । मेरा दाजुभाइ एउटै विचारका भए पनि बुबासँग छुट्टिएर बसे । तर, म बुबाको अन्तिम अवस्थासम्म सँगै रहेँ । मैले बुबाको किरिया गरिनँ । दाजुभाइले किन काजक्रिया नगरेको भनेर गुनासो पनि गरेनन् । दाजुभाइ किरिया बस्थे, म भने आफ्नो तरिकाले बाहिर हिँड्डुल गर्थें ।
०००
नेपाली कांग्रेसको राजनीतिमा नभए पनि पारिवारिक सम्बन्ध र राजनीतिक चेतनाका कारण नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियालेको छु । सुरुआतदेखि कांग्रेसको आन्तरिक राजनीति व्यक्तिगत महत्त्वाकांक्षाले प्रभावित रहँदै आयो । २००८ सालमा बिपीले गृहमन्त्रीबाट राजिनामा दिएपछि मेरो बुबा मातृका कोइरालाको प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षाका कारण उहाँलाई दरबारले हात लियो । बुबा प्रधानमन्त्री बन्नुभयो । म ११ वर्षको थिएँ, त्यतिबेला । बिपी काका र बुबाको मनमुटाब भएको अलिअलि जान्छु । अरू बेला पार्टीका विषयमा महत्त्वपूर्ण छलफल हुने गरेको हाम्रो घरमा बुबा प्रधानमन्त्री भएपछि घरायसी कामबाहेक अरू कुरामा बिपीसँग बुबाको बोलचाल हुँदैनथ्यो । भारतका तत्कालीन नेता पण्डित नेहरू नेपालमा त्यसअघि गठन भएको राणा, कांग्रेस र राजाको संयुक्त सरकारबाट रिसाएपछि बिपीले राजिनामा दिनु परेको थियो । बिपी सरकारमा भए देशको समृद्धि हुने देखेर नेहरूले राजामार्फत खेले । त्यतिबेला बुबा नेपाली राष्ट्रिय कांग्रेसको सभापति हुनुहुन्थ्यो । राजालाई पनि ‘देशको सबैभन्दा ठूलो पार्टीको सभापतिलाई मन्त्रिमण्डल गठनका लागि बोलाइबक्सेका छौँ’ भन्न सजिलो भयो ।
बुबा प्रधानमन्त्री भएपछि एकपटक काका त्यो मन्त्रिमण्डलमा आउन लाग्नुभएको थियो । बिपी, सुवर्ण शमशेरलगायत चार जना मन्त्रिमण्डलमा सहभागी हुने पक्का भएको थियो । तर, राजा त्रिभुवनले मानेनन् । बिपीलाई मन्त्रिमण्डलमा सहभागी नगराउनु भनेर त्रिभुवनले पत्र पठाए । त्यो दस्तावेज मसँग अझै सुरक्षित छ । बिपीलाई कमजोर पारेर राष्ट्रियता कमजोर बनाउन भारतले राजामार्फत खेल्यो त्यतिबेला । तर, बिपीलाई कमजोर पार्न सकेन । महेन्द्रको महत्त्वाकांक्षामार्फत २०१७ सालमा भारत र अमेरिकाले नेपालको राष्ट्रियतामाथि खेलेका थिए । नेपाली राजनीतिमा त्यही रोग आजसम्म पनि कायमै छ ।

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया