शान्ति समितिद्वारा ५३ द्वन्द्वपीडितलाई अभिनन्दन

उदयपुर, २६ जेठ । स्थानीय शान्ति समिति उदयपुरले द्वन्द्वपीडित परिवारका सदस्यलाई शनिबार अभिनन्दन गरेको छ । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता तथा मृतक परिवारका सदस्यलाई गाईघाटमा आयोजित द्वन्द्वपीडितहरूका लागि अभिनन्दन तथा पुनर्मिलन कार्यक्रममा समितिले अभिनन्दन गरेको हो ।

निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न गाविसका १४ महिलासहित ५३ द्वन्द्वपीडित परिवारका सदस्यहरूलाई अभिनन्दन गरिएको समितिले जनाएको छ । देशको आमूल परिवर्तनको आशा लिएर सशस्त्र युद्धताका ज्यान गुमाउनेहरूलाई सम्मानस्वरूप उनीहरूको परिवारका सदस्यलाई अभिनन्दन गरिएको हो । कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न गाविसका १४ महिलासहित ५३ द्वन्द्वपीडित परिवारका सदस्यहरूलाई अभिनन्दन गरिएको समितिका संयोजक जीवन कार्कीले बताए । देशको आमूल परिवर्तनको आशा लिएर सशस्त्र युद्धताका आफ्नो अमूल्य जीवन आहुतिदिने, अंगभंग हुनेहरूको सम्मानस्वरूप उनीहरूको परिवारका सदस्यलाई अभिनन्दन गरिएको उनले बताए ।
जिल्ला शान्ति समितिले जिल्लाभरका सबै द्वन्द्वपीडित परिवारका सदस्यलाई अभिनन्दन गर्ने कार्यक्रम बनाएको जनाएको छ । समितिले आउँदो असार १ गते निर्वाचन क्षेत्र नम्बर ३ का द्वन्द्वपीडित परिवारका सदस्यलाई अभिनन्दन गर्ने कार्यक्रम राखेको छ । त्यस्तै एक नम्बर क्षेत्रका द्वन्द्वपीडित परिवारका सदस्यलाई बेल्टारमा असार ८ गते अभिनन्दन गरिनेछ । देशमा जुन उत्साह लिएर सशस्त्र जनयुद्ध भएको थियो, त्यो पूरा हुन नसके पनि द्वन्द्वपीडित परिवारका सदस्यको शिर उँचोपार्न मद्दत पुगोस् भन्ने आशा लिएर समितिले अभिनन्दन कार्यक्रम राखेको शान्ति समितिका सचिव हेमराज दाहालले बताए ।
कार्यक्रममा उपस्थित द्वन्द्वपीडित परिवारका सदस्यहरूले एकले अर्कालाई अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रममा थुप्रै अथितिको उपस्थिति रहे पनि नयाँ तरिका अपनाएर उनीहरूको सम्मानस्वरूप द्वन्द्वपीडितले द्वन्द्वपीडितलाई नै अभिनन्दन गर्न लगाइएको समितिका कार्यालय सहायक तुलसी कोइरालाले बताए । कार्यक्रममा सहिद तथा बेपत्ता समाज उदयपुरका अध्यक्ष विनोद कट्वालले स्थानीय शान्ति समितिलाई राज्यले अझसम्म आफ्नो अंगको रूपमा मानिनसकेको अवस्थामा राज्य आपैँmले गर्नुपर्ने द्वन्द्वपीडितको सम्मान शान्ति समितिले गरेको बताए ।
कार्यक्रममा द्वन्द्वपीडित कल्पना ढकाल, राजनीतिक दलका प्रतिनिधिलगायतले द्वन्द्वपीडित परिवारका सदस्यलाई सम्मानसँगै उचित काम गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताएका थिए । उनीहरूले युद्धकालमा राज्य र विद्रोहीको दुईतर्फी चेपुवामा परेर मृत्युवरण गर्न पुगेका, अंगभंग भएका सबै परिवारका सदस्यलाई क्षमता र योग्यताअनुसारको रोजगारी दिलाउनुपर्ने सुझावसमेत दिएका थिए ।
‘रोजगारी र आर्थिक उपार्जनको माध्यम तथा गरिखाने वातावरण बनाउन सक्नुपर्छ’ सहभागीहरूको सुझाव थियो ‘यसो गर्नसके मात्र द्वन्द्वपीडितको उचित सम्मान गरेको ठहर्छ ।’ यसतर्फ राज्यको गम्भीर ध्यान जानुपर्ने र शान्ति समितिले पनि यसबारे लक्षित भएर गतिविधि गर्नुपर्ने सरोकारवालाको सुझाव थियो ।

प्रतिक्रिया