खोजखबर

छाडेको फूल

सौर्य अनलाइन २०७० जेठ २५ गते ३:५५ मा प्रकाशित

Dinman-gurchhanसुधालाई देखेँ, अचानक । ऊ मेरै अगाडि मतिरै लम्किँदै थिई । अब त उसले पनि मलाई देखी । हाम्रा आँखा चार भए ।
म अडिएँ । धेरैपछि भेट्दै छु उसलाई, चार वर्ष भइसक्यो क्यारे †
‘सुबोध तिमी ? आज अचानक भेटियौ । उस्तै छौ, फेरिएन छौ ?’ नजिक पर्नासाथ एकैचोटि धेरै कुरा मनमा गुम्साएझैँ भनी र प्रश्न पनि गर्न भ्याई ।
म फिस्स हासेँ । तर ऊ फेरिएकी थिई । पातली, धेरै होइन, कम्मर छिनेकी । मेकअप टन्न गरेकी देखिन्थी ।
‘अ, तिम्रो खबर के छ नि ?’ सोधिहालेँ ।
‘यस्तै त हो नि †’ उसले मलाई एकोहोरो हेर्दै रहिछ । मैले उसको टाइट पहिरनमा कसिएको शरीर हेर्न भ्याएँ । सबैभन्दा पहिले मैले उसको सिउँदो हेर्न भ्याएछु । खाली थियो ।
ठमेलको बाटोमा हामी उभिएका थियौँ । बाटो हिँड्नेले हामीलाई नै हेर्दै रहेछन् । मलाई अप्ठ्यारो लाग्यो, भनेँ ‘उभिएरै कुरा गर्ने कि ? कतै बसौ ?’
उसले भनी,‘जाम् कफी पिउँदै कुरा गरौँला । म थाकेको पनि छु ।’ उसले अलि परको कफीसपमा लगी । म उसको शरीरबाट आइरहेको हरहर परºयुमको बास्ना पछ्याउँदै पछि लागेँ ।
हामी टेबलमा आमुन्ने–सामुन्ने भएर बस्यौँ ।
बेयरा हामीछेउ आयो । उसका हातमा टिप्नका लागि सानो नोटबुक थियो । ‘दुई कफी’ भन्दा उसले त्यसमै टिप्यो । अलिकति झुके जस्तो गर्‍यो । नयाँ युगको नयाँ शैलीका ‘कमैया’ जस्तो लाग्यो । यसरी सम्मानार्थ नझुके हुन्थ्यो, यस्तै सोचेँ ।
‘अनि के गर्दै छौ ? कस्तो चल्दै छ जिन्दगी ?’ सुधाले ध्यान खिच्न खोजी । धेरै पछिको भेटले होला उसले धेरै कुरा जान्न चाहेकी थिई ।
‘स्थायी काम त केही गरेको छैन । पत्रपत्रिकामा सानोतिनो लेखेरै धानिरा’छु ।’ बेरोजगारीको पीडा सबै के भन्नु † आखिर जिन्दगी आफैँले चलाउने हो ।
‘लेखेर पनि बाँच्न सकिन्छ ?’ उसले आश्चर्यताको विस्फारित आँखाले हेरी । मानौँ मैले नवौँ आश्चर्यका कुरा गरे जस्तो । ‘हैन, कुनै न कुनै काम त गरेकै होला ।’ कुरा थपी ।
अब के भन्ने ? वास्तविकता यही थियो । फेरि दोहोर्‍याएँ । स्पष्टै पार्न खोजेँ । उसले पत्याएन । यस्तै लाग्यो, उसको मुखाकृतिले मलाई देखाइरहेको थियो ।
कफी आइपुग्यो ।
कफी पिउन थालेँ । उसले ब्यागबाट चुरोट झिकी । मतिर त्यस्र्याई । मैले खाने गरेको छैन भन्ने स्पष्टीकरण दिएँ । उसले फेरि पनि मलाई घुरी । चुरोट सल्काउँदै कफीको चुस्की लिन थाली ।
‘तिमी के गर्दै छौ नि ?’ पालो मेरो थियो, सोधेँ ।
‘तिमै्र जस्तो हो । बाँचिराछु ।’ उसले झन् छोटो उत्तर दिई । म अलमल्ल परेँ । मैले ढाँटेको ठानेकी थिई कि क्या हो † उसले नि कुरा छली । तिम्रो जस्तो भन्नाले कस्तो ? मैले जस्तै सानोतिनो लेखेर कि बेरोजगार बनेर ?
तर मैले फेरि सोधिनँ ।
‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ उसको मोबाइल बज्यो । ऊ मोबाइलमा बोल्न थाली, ‘म आइसकेँ । हुन्छ, कुराई राख्नू । एकै छिन हो ।’ उसले मोबाइल कानबाट हटाउँदै कफीतिर हात लम्काई । अर्काे हातमा चुरोट थियो, सकिनै लागेको ।
‘कसले फोन गरेको ? तिमीलाई हतार छ जस्तो छ नि †’ सोध्न नहुनेथ्यो कि † सोधिहालेँ । म ऊसँग अझै बस्न चाहन्थेँ । ऊसँगको सामिप्यतामा आजको क्षण केही अरू बिताउन चाहन्थेँ । चुरोटको धुवाँ उडाई । धुवाँ हामीबीच बाक्लै गरी उडिरह्यो ।
‘काम गर्ने ठाउँबाट हो । हतार चाहिँ छैन । सुबोध, तिमीसित बल्लबल्ल भेट भाको छ । कुरा गर्न बाँकी छ ।’ फेरि चुरोट ओठमै टासी । मलाई उसले चुरोट तानेको मन परेको थिएन । भन्न चाहिँ सकिनँ ।
‘काम गर्ने ठाउँ नजिकै छ ?’ सोधिहालेँ ।
‘अ, नजिकै छ ।’ रेशमी कपाल मिलाई । उसको खाली सिउँदोमै आँखा पुग्यो ।
‘एक्लै छौ कि † बिहे गर्‍यौ ?’ अप्ठेरो मान्दै सोधी । उसको बोली अड्किएको थियो । टेलिकमको मोबाइलसेवा जस्तै आवाज किस्तामै गुन्जियो । अलि अप्ठेरो, सकस किसिमले ।
म अलमल्ल परेँ । उसको अप्रत्यासित प्रश्नले पुरूषत्व र बेरोजगारी दुवैलाई चुनौती दियो । यो उमेरसम्म एक्लै थिएँ, र बेरोजगारीले बिहे गर्ने आँट कहिल्यै आएन । भनिदिएँ, ‘छैन । म एक्लै हो ।’
उसको अनुहारमा हर्ष र पीडा दुबै पोतियो । मतिर पुलुक्क हेरी । नजर अलिकति झुकाई । फेरि चुरोटको सर्काे तानी । त्यही चाहिँ मलाई मन परिरहेको थिएन । ऊ बेला–बेला त्यही दोहोर्‍याई रहन्थी ।
०००
सुधा काभ्रेको डाँडापारिकी थिई । राम्री, चिटिक्क परेकी । पढाई ठिकै । हामी एउटै कलेजमा भर्ना भएका थियौँ । मीनभवनमा हाम्रो भेट भएको थियो । राम्री भएकीले केटाहरू उसको पछि लाग्थे । सबैको मुखमा उसको नाम हुन्थ्यो ।
तर, उसले कसैलाई भाउ दिएकी थिइन् ।
कलेजबाट फर्किंदा उसको र मेरो बाटो १० मिनेटका लागि भए पनि एउटै पथ्र्याे । फर्किंदा प्राय: हामी सँगै पथ्र्याैं । म ऊ भन्दा पनि लाजालु स्वभावको थिएँ, र त सधै उसको प्रश्नको जवाफ मात्र दिन्थेँ । आफू बोल्न कहिल्यै अघि सरिनँ ।
०००
‘किन अहिलेसम्म बिहे नगरेको नि ?’ अहिले भने हाँस्दै सोधेकी थिई । व्यंग्यपूर्ण मुस्कान ओठभरि पोतिएको थियो ।
‘यस्सै’ मेरो जवाफ थियो । अरू के भन्नु र †
‘तिमीले चाहिँ किन नगरेको नि ?’ ज्या फुत्किहाल्यो । अझै पनि मेरा आँखा उसको खाली सिउँदोमै पुग्थे । सोधेपछि बेकार सोधेछु, लाग्यो । मुटुको कम्पन बढेको थियो ।
‘तिमीलाई पर्खिराखेकी नि †’ ऊ मरीमरी हाँस्न पुगी । उसले मलाई जिस्क्याएकी थिई । उसका हातले मेरा गालामा प्याट्ट हिर्काई, बिस्तारै मायालु पाराले । म सरमले लाल भएँ । कफी उठाएर पिउन थालेँ । उसलाई घरिघरि चोर नजरले हेरेँ । ऊ पनि अप्ठेरो मानेकी थिई । अब हामी चुपचाप थियौँ । वातावरण सुनसान थियो ।
०००
तीन वर्षसम्म मैले उसको आनीबानी नै थाहा पाउन सकिनँ । प्राय: भेट हुन्थ्यौँ । पढाइकै गफ चल्थ्यो । कहिले काहीँ भने घरको कुरा गथ्र्याैं । बाटोमा हुन्थ्यो हाम्रो गफ ।
ऊ घरको एक मात्र छोरी । दाजु उतै गाउँमा किसानी गर्थे । आमा सानैमा बितेका । बाबुचाहिँ गाउँमा प्राविमा शिक्षक । ऊ काठमाडौंमा फुपूसँग बसेकी थिई । मैले जानेको उसको बारेमा यत्ति हो ।
गोरी, जिउडाल मिलेको । उसको मीठो बोलीको जादुले मलाई तानिसकेको रहेछ । कुनै दिन ऊसित भेट नहुँदा खल्लो लाग्थ्यो । छटपटी बढेर आउथ्यो । उसलाई मन पराइसकेको रहेछु । मलाई यस्तै लाग्थ्यो । उसले चाहिँ के सोच्थी, मैले कहिल्यै महसुस गर्न सकिनँ । तीन वर्षसम्ममा हाम्रो गहिरो मित्रता गासिएको थियो ।
तेस्रो वर्षमा मभित्र उसप्रति प्रेम फक्रिसकेको थियो । व्यक्त गर्न सकेको थिइनँ । म मौकाको खोजीमा थिएँ । फागुन महिना । त्यसै पनि प्रेमको उत्साह मनभरि भरिने समय । प्रेम दिवस आयो । म यो अवसरलाई गुमाउन चाहन्नथेँ ।
बिहानै तयार भएँ । नयाँ लुगामा ठाटिँदा लाज पनि लाग्यो । तर आज जसरी नि भन्छु भन्ने दृढताका साथ अघि बढेँ । तीन दिन भइसकेको थियो, सुधासँग भेट नभएको । कोठा देखेको थिएँ र म त्यतैतिर लागेँ ।
कोठामा ऊ तयार भएकी थिई । यो देखेर म छक्क थिएँ । मलाई एकाबिहानै देखेर सुधा झनै छक्क परी । के म आउँदैछु भन्ने उसले थाहा पाएकी थिई ? म मनमनै सोच्दै थिएँ ।
‘ओहो † कस्तो अचम्म, एकाबिहानै आयौ नि †’ उसले भनी ।
‘अ, तिमीलाई भेटौँ भनेर ।’
ऊ एक्लै रहिछ । फुपू बिहानै काममा निस्किनु भएको रहेछ । म भनौ कि नभनौ दोधारमा थिएँ । उसले चिया बनाउञ्जेल म आफैँलाई धिक्कार्दै थिएँ । कारण मभित्रको लाछीपनले प्रेम प्रस्ताव राख्न डर मानिरह्यो ।
‘आजको तिम्रो प्लान के छ ?’ उसैले सोधी ।
‘केही छैन ।’ थुक्क † डरपोक बोली हाल्यो । भन्नुपर्ने कुरा भन्नै सकिनँ ।
‘अनि तिम्रो नि ?’ डराई डराई सोधेछु ।
‘रमेशलाई भेट्न जादैछु । आजको पुरा समय उसैलाई दिँदै छु । मेरो त फुल्ली डेटिङ छ । तिमीलाई थाहा छैन, आज प्रणय दिवस हो ?’
मेरो कान रनक्क रन्किएर आयो । उसका सबै कुरा मगजमा बस्नै सकेन । टेकेको धरातल भासिएझैँ लाग्यो । भाउन्न छुटेर आयो । कतिखेर उसले चिया दिई, कतिबेला त्यहाँबाट बाहिरिएँ थाहै पाइनँ । ऊसित बिदा पनि मागे कि मागिनँ, होसै भएन ।
बाहिर आएपछि यति थाहा पाएँ, उसलाई दिन भनी ल्याएको फूल उसको कोठामै खसालेछु ।
०००
‘अचेल कोठा कता छ नि ?’ उसले सोधेपछि म वर्तमानमा फर्किएँ ।
‘पाटन’ गह्रुङ्गो आवाज निस्कियो । लाग्यो अझै पनि म ऊसित खुलेर बोल्न सकिरहेको छैन ।
‘रमेश कहाँ छ नि ?’ यो सोध्न नहुने थियो कि † चिप्लिहाल्यो । उसको अनुहारमा रगत सोहोरिएर आएको प्रस्टै देखेँ । उनीहरू बीच के भयो मलाई थाहा थिएन ।
‘त्यो मुर्दारको नाम नलिऊ । त्यो हरामी अहिले विदेश गा’छ । साला धोकेबाज ।’ अचानक ऊ गाली बक्न थाली । मलाई अब पो बेकार सोधेछु जस्तो लाग्यो । आत्मग्लानि भयो । सायद मेरो अनुहारले पनि बतायो क्यार ऊ एकैछिनमा शान्त भई ।
उनीहरूबीच लामो प्रेम भएन छ । रमेशले सुधालाई धोका दिएको रहेछ । मान्छे चिन्न नसकेकोमा उसले पछुतो मानी । म उसका कुरा सुनिरहेँ ।
यसबीच घरको कुरा गर्‍यौँ । उसको बाबु तीन वर्षअघि बितेछन् । भाउजू छुच्ची भएकीले ऊ घर फर्किन । काठमाडौंमै दु:ख गर्न थाली ।
‘सिम्पल सिम्पल…’ उसको मोबाइल बज्यो । मलाई थाहा थियो, यो उसको काम गर्ने ठाउँबाट आएको हो । उसले मोबाइलको स्क्रिनमा हेरी । साइलेन्ट मोडमा राखी, फोन उठाइन ।
हामीले तीन/तीन कप कफी खाइसकेका थियौँ । उसलाई ढिला भएको मैले बुझेको थिएँ, भनेँ‘ सुधा अब उठौँ क्यारे † तिमीलाई नि ढिला भइसक्यो ।’
मलाई हेरी र घडीतिर आँखा लगाई । दुई घन्टा बितिसकेको थियो । ऊ पनि सहमत भई । उठ्नेबेला मेरो मोबाइल नम्बर मागी । भनिदिएँ, उसले मोबाइलमा सेभ गरी र भनी, ‘मिस कल दिन्छु । सेभ गर है †’
सहमतिमा टाउको हल्लाएँ ।
काउन्टरमा म तिर्ने भन्नेमै हानाथाप भयो । मैले नै जितेँ । गर्व लाग्यो । बिलमा विशेष छुट लेखिएको थियो यसरी, ‘भ्यालेन्टाइन डे विशेष छुट ।’ म झन छक्क परेँ । आज प्रेम दिवस रहेछ । धेरै भएथ्यो यस विषयमा नसोचेको । बिर्सिसकेको रहेछु ।
बाहिरिँदासम्म उसले मेरो मोबाइलमा फोन ट्राई गरिरही । तर, लागेको होइन । हिँड्दा पनि बाटोमा डाइल गरिरही । बरू टिपाएकी भए हुन्थ्यो, मलाई यस्तै लाग्यो । छुटिने बेला भएछ, उसको काम गर्ने ठाउँ आइसकेको थियो ।
‘यही हो मेरो काम गर्ने ठाउँ ।’ उसले अग्लो घरमा देखाई, जहाँ ठूल्ठूला बोर्डहरू टाँगिएका थिए । उसको इसारा चाहिँ एउटा झ्यालको बोर्डमा थियो । लेखिएको थियो, ‘युनिक मसाज सेन्टर’
‘म गएँ है †’ उसले हात हल्लाइसकेकी थिई । अनायासै मैले नि बिदाइको हात हल्लाएछु । ऊ त्यहाँबाट हराइसकेकी थिई । म भारी मन लिएर अघि बढ्न थालेँ । मनमा अनेक विचारले युद्ध गर्दै थिए । लैनचौर पुग्दा मोबाइल बज्यो । मेसेज आएको रहेछ, हेरेँ । सुधाको थियो । म स्तब्ध भएँ । लेखिएको यस्तो थियो, ‘तेस्रो वर्ष, आजैको दिन मेरो कोठामा तिमीले छोडेको फूल अझै मसँग सुरक्षित छ ।’
मेरा आँखा भने मोबाइलमै एकत्रित भइरह्यो । र, छाडेको फूलले बेस्सरी घोच्न थाल्यो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय