अनुमान

Rohit-Khatiwada‘कमले मरेछ !’ सुरुमा माइँलाकाकाले यति मात्रै भने ।
म बिहान अबेरसम्म सुत्ने गर्थेँ । त्यो दिन पनि सुतिरहेको थिएँ । रेडियो नेपालमा प्रवीण गिरीले भन्ने बिहान सात बजेको समाचार सकिन लागेको थियो । खेलकुद समाचार सकिएर मौसम आयो ।
­‘आज दिनभर मौसम सामन्यतया सफा रहनेछ । पूर्वी पहाडी भेगमा भने फाटफुट वर्षा हुने अनुमान नेपाल मौसम तथा जलवायु विज्ञान विभागले गरेको छ ।’
प्रवीण गिरीले भनेको अनुमान मिलिरहेको थिएन । रातिदेखि नै अनौठो गरी पानी परिरहेको थियो । ह्वार्रह्वार्र आरीबाट घोप्ट्याएको जस्तो । एकछिन् कम हुन्थ्यो । अनि फेरि त्यसैगरी ह्वार्र पानी पथ्र्यो ।
अँगेनाबाट चिया उमालेको कित्ली निकाल्दै आमाले भन्नुभयो, ‘यस्तो झरी परो’ भने त मान्छे मर्छ भन्छन् । कस्तो अलच्छिनी पानी परेको †’
अनि मलाई बोलाउनुभयो, ‘हैन ए कुम्भकर्ण † उठ्दैनस् ?’
मलाई उठ्न मन लागिरहेकै थिएन । म अझै सुत्ने विचारमा थिएँ । भित्तातिर कोल्टे फेर्नुअघि अँगेनामा हेरेँ, आमाले गिलासमा चिया हाल्दिसक्नु भएछ । तैपनि म भित्तातिर फर्किएर निदाएको नाटक गर्न थालेँ । उठेर घाँस काट्न जानु पर्ला भन्ने पिरले पनि सताएको थियो । पानीझरीमा घाँसमा जानुजत्तिको दिक्दारिलो केही लाग्दैन आफूलाई ।
मुख्य समाचार सकेर धून बज्दैगर्दा माइँलाकाका आइपुगे । छाता बाहिर सिकुवामा राखेर जस्केलोमा देखा परे । ढोकामै उभिएर उनले सुनाए,
‘कमले झुन्डिएर मरेछ ।’
भदौ महिना थियो । रातिदेखि यस्तै झरी परिरहेको थियो । हिजोसम्म भने राम्रै घाम लागेको हो ।
उमेरले मभन्दा जेठो भए पनि साथीजस्तो थियो ऊ । म कमले भनेरै बोलाउँथे । आफूभन्दा सात/आठ वर्ष जेठो मान्छेलाई निर्धक्क तँ भनेर बोलाउँथेँ । ऊ मेरो निकै आत्मीय मित्र थियो । स्कुलमा र घरमा पनि म प्राय: उसँगै हुन्थेँ । ऊ ठूलो भए पनि सँगै खेल्थ्यौँ । खेल्दा मलाई निकै माया गथ्र्यो । मेरै कारणले अरूसँग झगडा गर्न पनि पछि पर्दैनथ्यो ।
हिजो दिनभरि पनि हामीसँगै थियौँ । बारीबाट मकै उठाएको निकै भइसकेको थियो । भदौ सकिन लागेकाले सिमी रोप्न ढिलो भइसकेको थियो । त्यसैले बारी खन्न हाम्रो खेतालो आएको थियो । म सानो कोदालो लिएर बारी खनेझैँ गर्दै उसँग गफिइरहेँ । दुई भाइ भएर दुई गरा बारी खनिसिध्यायौँ । कमले एकदम बलियो थियो । जस्तो बल लाग्ने काम पनि सजिलै गथ्र्यो ।
तर, सधैँजस्तो बोलिरहेको थिएन । एकसुरले खनिरहन्थ्यो र बीचमा ‘हूँ’ भन्थ्यो । फेरि उभिएपछि कता टोलाइरहन्थ्यो । म केके कुरा गथेँ अनि बेलाबेला झस्किन्थ्यो । दिनभरसँगै भएकाले मैले उसको अनुहार निन्याउरो भएको देखेको थिएँ । तर, आमाले समेत चाल पाउनुभएन छ । आमासँग सधैँझैँ हाँसिखुसी देखिएको थियो ।
साँझ हाम्रै घरमा खाना खाएर गएको थियो ।
अहिले माइँलाकाका सुनाउँदै छन्, ‘कमले झुन्डिएर मर्‍यो, खनिउँको रूखमा ।’
आमा आत्तिएर उभिनुभयो । म पनि ओछ्यानबाट निस्किएँ । सिधै माइँलाकाका भएको ठाउँमा पुगेँ । काका सुनाउँदै हुनुहुन्थ्यो, ‘रातिनै घरबड निस्केको र’छ । हाम्रो घर आइर’थो । केही नबोली चुपचाप टिभी हेरेर बसो । दश बजेपछि टिभी बन्द गरेर निस्केकोथ्यो । घर गयो होला भन्ठान्यौँ…।’
यसपछि काकाको गला रोकियो । उहाँले अरू बयान गर्नुभएन ।
अघिल्लो दिन बिहान पनि म उसको घरमा गएको थिएँ । हतियार अर्जाप्न लगिएको थियो ।
ऊ आरनको काम गर्दैनथ्यो । उसको बाबुलाई बेलाबेला घन हान्न भने सघाउँथ्यो । घन हान्दा उसको पाखुरा फुलिन्थे । म छेउमा उभिएर भन्थँे, ‘अप्पुइ † राजेश हमालको जत्रै बडी ।’
ऊ मुसुक्क हाँस्थ्यो । बेलाबेला पाखुरा फुलाएर देखाउँथ्यो ।
म सोध्थेँ, ‘तेरो बडी के गरेर ठूलो भ’को ?’
‘कसरत गरेर ।’ ऊ त्यत्रो कामगरिकन बिहान कसरत गथ्र्यो ।
‘अनि के खान्छस् नि ?’
‘अन्डा ।’
‘कतिवटा ?’
‘दिनमा आठवटा ।’
ऊ गफ लाइदिन्थ्यो । गाउँमा दिनैपिछे आठआठवटा अन्डा त केखाएर पाउनु नि †
तैपनि म पत्याउँथेँ । उसको पाखुरा देखेर पत्याउन कर पनि लाग्थ्यो । तर, मेलापातमा कहिलेकाँही उसका बारेमा कुरा हुँदा भनेको सुन्थेँ, ‘कमलेकी आमाले तेल्लाई खान नदिएरै मार्ने भई । सौताको छोरा हो भन्दैमा त्यतिसारो त गर्न नुहुने नि † कमसेकम खान त दिनु पर्छ । फेरि उसका पनि त छोराछोरी छैनन्, केको लोभ गर्नु परेको ?’
आमाले हामीलाई शिशिर र वसन्तको कथा सुनाउनुभएको थियो । मलाई सबै सौतेनी आमा त्यस्तै हुन भन्ने थियो । तर, हाम्री आमा भन्नुहुन्थ्यो, ‘कमलेकी आमा एकदमै जाति मान्छे हो । सौताको छोरालाई पनि एकदम माया गर्छे । कमलेकी आमा शिशिर र वसन्तकी आमाजस्ती छैन ।’
हिजो बिहान पनि ऊ कमलेलाई खाजा बनाइदिँदै थिई । उसको खाजामा दुइटा मात्रै अन्डा थिए । एउटा मैले खाइदिएँ । अनि उसलाई भनँे, ‘ओए कमले † घरमा नसुनाइ दे नि । आमाले मार्नुहुन्छ ।’
कहिलेकाहीँ कमलेकी आमाले मलाई जाँड पनि दिन्थी, सिल्बरे बटुकोमा । म खाइदिन्थेँ । खाइसेपछि ऊ डर देखाउँथ्यो, ‘अब म तेरी आमालाई भन्दिन्छु ।’ तर, कहिल्यै भन्दिएन ।
त्यसदिन पनि उसले ‘हुन्छ’ भनेर मुन्टो हल्लायो ।
अनि मैले भनेँ, ‘खुब आठवटा खान्छु भनेको होइन ?’
‘दिउँसो चारवटा खान्छु र बेलुका दुइटा ।’
फेरि पत्याएँ ।
त्यसपछि ऊ घाँस काट्न गयो । मचाँहि हतियार लिएर घरतिर आएको थिएँ ।
अहिले बिहान ऊ मरिसकेको थियो ।
‘के भएछ त बज्यालाई ? त्यस्तो मान्छे त थिएन त्यो ।’ आमा बल्ल बोल्नुभयो, ‘कठै † हिजो दिनभरि यहीँ काम गरेको ।’
‘राति हाम्राबड सिधै गएछ नि अम्रिसोबारीको खनिउँमा । तीँ पासो लागेछ । घाँस काट्न जानेले देखेछन् ।’
काकाले यति भनेपछि फेरि सन्नाटा छायो ।
एकछिन् उभिएर काकाले भन्नुभयो, ‘म जान्छु । खबर दिन मत्रै आकोथेँ । पुलिस आइपुग्ने बेला भो होला ।’
‘म पनि जान्छु नि । छोरोजस्तै थियो मोरो । कठै †’ आमालाई माया लागिरहेको थियो ।
मेरो कसैले वास्ता गरेन । आमा र काकाले नदेख्ने गरी म पछिपछि कमले झुन्डिएको ठाउँमा गएँ ।
खनिउँको रूख थियो, होचो । खुट्टा जमिनबाट अलिकति मात्रै उचालिएका थिए । कालो हापिन लाएको थियो । हरियो भेस्ट जीउमा टिमिक्कै कसिएको थियो । बडिबिल्डरको जस्तो छाती प्रस्ट देखिइरहेको थियो । घाँटीमा एउटा सानो सुता (सुनपाटको सानो डोरी) बेरिएको थियो, गाडिनगाडिन लागेको । मुन्टो लत्रिएको थियो, देब्रेपट्टिको काँधमा । अनुहार पूरै सुन्निएको थियो ।
कोही बोल्दै थियो, ‘आँखामा हाल्दा पनि नबिझाउने मान्छे थ्यो बरा ।’
‘आमाचाहिँले कहिल्यै देख्न सकिन । त्यही पीरले मरेको हुनुपर्छ ।’
कसैले लख काट्यो । अर्को एकजनाले जवाफ फर्काइहाल्यो, ‘पाप लाग्ला त्यसो नभन । यसकी आमाले कहिल्यै सौताको जस्तो व्यवहार गरिनँ । आफ्नु छोरालाई पनि मान्छेले यति माया गर्दैनन् । विचरी खबर पाएदेखि मुर्छापरेकी छे ।’
आमाले भन्नुभयो, ‘त्यसको पनि आधार यही एउटा छोरो त थियो नि । एक परिवार भइसकेपछि के सौताको के आफ्नु । बाबुको के नै आधार छ र विचरीलाई †’
आमाको कुरामा सही थाप्दै अर्को मान्छे बोल्यो, ‘बाबु अहिले पनि रक्सी खाएर लडिरहेको छ कि ? त्यसैको पीरले हुनुपर्छ यो ग’को ? नत्र अरू के थियो र ?’
‘हो त । भएको जग्गा पनि बेच्यो । घर न घाटको बनायो । गरिखाने ठाउँ नै मासिदियो । अनि केको आशले बाँचोस् त ?’ यो आइमाई पनि मैले चिनिनँ ।
‘होइन होइन । त्यतिसाह्रो त होइन । साहू लाग्यो भन्थ्यो । विचरा रिनले डुबेको हो । अब कमलेलाई घडेरीसम्म भए पनि यसैबेला जोडिदिउँला भन्दैथ्यो ।’
अड्कलबाजी अनेक भए । तर, कमले मर्नुको कारण पत्ता लागेन । यस्तैमा पुलिस आइपुगे, तीनजना । गाउँका मान्छेलाई केही सोधपुछ गरे । दुई/चार पाना कागजमा खै केके लेखे ।
र, डोरी काटे ।
कमले भुइँमा झर्‍यो । उठेर बडी फुलाउँदै आउँछ कि भन्ने लागेको थियो । तर, उसलाई पुलिसले कपडा ओढाइदिए । अनि ‘पोसमाटम’ गर्न भन्दै लिएर गए । सदरमुकाम लान पर्ने रे ।
कमलेले अमृतालाई मन पराउँछ भन्ने हल्ला चलेको थियो अलि अघि । त्यही भएर मर्‍यो कमले भन्नेहरू पनि भए । तर, कुरो बुझ्दा अमृताले पो उसलाई मन पराएकी रहिछ । उसले त इन्डियातिर जाऔँला भागेर भन्थी रे । कमले पाए गाउँ, घर, जात सबै त्याग्न तयार थिई रे । तर, कमलेले केही गर्दा मानेको रहेनछ । बाआमाको माया लाग्छ भन्थ्यो रे । यही गाउँमा बस्न सक्ने कुरा भएन ।
कमले मर्नुको कारणबारे सबै अनुमान फेल खाए, प्रवीण गिरीले भनेको मौसमजस्तै । भोलिपल्ट कमलेको लास ल्याइयो । खोलामा लगे, सद्गद गर्न । हामीलाई जान दिएनन् ।
बेलुका आमाले सोध्नुभयो, अस्ति दिउँसो बारीमा हुँदा केही भनेको थियो तँलाई ?
त्यस्तो केही भनेको जस्तो लागेन ।
‘अँह †’, मैले कुरा टुंग्याएँ । यतिबेलासम्ममा आमाका आँखा आँसुले भरिइसकेका थिए ।
आमाले रुन्चे स्वर पारेर मलाई भन्नुभयो, ‘नानी † कमले इमान्दार थियो । अहिलेको जमानामा इमान्दारिता सबैभन्दा ठूलो जात हो । कमलेजस्तै इमान्दार हुनु ।’
आमा, म प्रयत्न गर्छु इमान्दार हुन तर कमले जति इमान्दार हुनै सक्दिनँ ।

प्रतिक्रिया