दिनहुँ सय माइल साइकलयात्रा

Steveएउटा व्यक्तिले दिनहुँ एक सय मिल दूरी साइकल चलाइरहन सक्ला ? पत्याउन गाह्रै पर्छ । तर, ब्रिटेनका स्टिभ हेमिल्टन भन्छन्– ‘पत्याउनुस्, म आफैँ दिनको ८० देखि सय मिल दूरी साइकल चलाइरहेको हुन्छु ।’
वास्तवमै अब यो दैनिकी हेमिल्टनको जिन्दगीको यथार्थ बनिसकेको छ । सेन्ट्रल लन्डनको व्यस्त सडकमा दिनभर साइक्लिङ गरिरहनु उनको पेसा हो । उनी कुरियर पुर्‍याउने काम गर्छन् । यस दौरान उनी हरेक दिन करिब एक सय मिलको दूरी साइकलबाट तय गरिरहेका हुन्छन् । अर्थात्, यसअनुसार उनले पार गर्ने दूरीको वार्षिक आँकडा २२ हजार मिल हुन्छ ।
स्टिभ भन्छन्, ‘मलाई साहसिक कार्यमा आनन्द लाग्छ । चलिरहेका दुइटा बसको बीचबाट साइकल छिराउनु अनि रफ्तारमा उनीहरूलाई उछिनेर सकुशल मोड समाउँदा मलाई ‘एडभेन्चर’ महसुस हुन्छ ।’ यद्यपि यो सोचेजति सजिलो छैन । लन्डनका सडकमा स्टिभले हरेक पल सावधानी अपनाइरहनुपर्ने हुन्छ । सानो मात्र मिस्टेकले उनलाई घातक दुर्घटनामा धकेलिदिन सक्छ । सुनाउँछन्, ‘कतिचोटि यस्तो परिस्थिति आएको छ, जहाँ सोचियो– लौ अब बाँच्न यत्ति रहेछ ।’
पछिल्ला केही वर्षमै लन्डनमा साइकलमार्फत कुरियर पुर्‍याउने नौ व्यक्तिको मृत्यु भइसकेको छ । जसमा स्टिभका एक निकटतम मित्र पनि परे । एजेन्सीसँगको बातचितमा स्टिभले सम्झिए, ‘मैले त्यतिखेर भर्खर मात्रै काम सुरु गरेको थिएँ । ऊ साह्रै हितैषी अनि मित्रवत् थियो । बिसप गेटबाहिरको दुर्घटनामा उसको निधन भयो ।’
त्यसो त एकचोटि स्टिभ आफैँ पनि झन्डै त्यस्तै दुर्घटनामा फसिसकेका । ‘म तेज रफ्तारमा साइकल चलाउँदै एक्कासि त्योभन्दा बढी तेज गतिसाथ आइरहेको भ्यान अगाडि पुगेँ । धन्न, त्यसको ड्राइभरले अर्कातिर मोडिहाल्यो । नत्र दुर्घटना निश्चित थियो ।’
स्टिभलाई त अब यस्तो लाग्न थालेको छ कि साइकलबाट टाढाटाढासम्म कुरियर पुर्‍याउनेहरूमा कुनै छैनौँ ज्ञानेन्द्रिय हुन्छ, जसले उनीहरूलाई केन्द्रीय लन्डनका भीडभाडमा हुन सक्ने दुर्घटनाहरूबाट जोगाइरहेको हुन्छ । स्टिभ मात्र होइन, सेन्ट्रल लन्डनमा उनीजस्ता अरू पनि कामदार छन्, जो कुरियर पुर्‍याउने काममा साइकल प्रयोग गर्छन् । उनीहरूका लागि सबैभन्दा मुस्किल पक्ष यो भएको छ कि उनीहरू असंगठित तरिकाले यो जोखिमपूर्ण काम गरिरहेका छन् । बढीजसो कुरियर संवाहकहरू एक्लै काम गरिरहेका हुन्छन् । कुनै दिन बिमार भएमा उनीहरूको त्यो दिनको आम्दानी पूरै सुक्खा । मजदुरी मारिन्छ । उनीहरूको कुनै जीवनबिमा पनि भएको हुँदैन । काम गरेको दिनको मात्रै आम्दानी हुन्छ, नत्र भोकै ।
यही कारण स्टिभ विगत डेढ वर्षदेखि हरेक दिन यो काम गरिरहेछन् । उनको मेहनतका कारण उनलाई सन् २०१२ का लागि ‘कुरियर अफ द इयर’ को अवार्ड दिइएको छ । स्टिभ हरदिन २० देखि ३० वटा कुरियर गन्तव्यसम्म पुर्‍याउँछन् । भन्छन्– ‘कुनै सामान यस्ता हुन्छन्, जुन इन्टरनेटबाट पठाउन सकिँदैन । त्यसैकारण कुरियर संवाहकहरूको आवश्यकता जहिल्यै भइरहन्छ ।’
तर, यत्तिको मेहनत अनि जिम्मेवारीपूर्वक काम गर्दा पनि स्टिभको कमाइ भने कहिल्यै निश्चित हुँदैन । उनी हरेक हप्ता दुई सयदेखि ६ सय पाउन्डको बीचमा रहेर कमाइ गरिरहेका हुन्छन्, निश्चित हुँदैन । हेमिल्टन ४९ वर्ष पुगे तर उनी अझै थाकेका छैनन् । भन्छन्– ‘केही गर्नु छ, बाँच्नु छ भने कमाउनु त पर्छ नै । अनि कमाउनका लागि काम गर्नैपर्छ ।’ हुँदाहुँदा उनी अब आफूलाई साइकल चढ्नु कुनै रमाइलो काम गरिरहेजस्तो अनुभूति हुन थालेको बताउँछन् । (एजेन्सी)

प्रतिक्रिया