माओवादी रोल्पाबाटै समाप्त हुने पौडेलको दाबी

Ram-chandra-paudel-Sourya-Dरोल्पा, २३ जेठ । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले रोल्पाबाट जन्मेको माओवादी रोल्पाबाटै समाप्त हुने बताएका छन् ।

प्रेस युनियन रोल्पाले लिवाङमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो दाबी गरेका हुन् । २०५२ सालमा रोल्पाबाट युद्ध थालेर हतियारकै माध्यमबाट ठूलो पार्टी बन्न पुगेको एकीकृत माओवादीको अन्त्य पनि रोल्पाबाटै हुने पौडेलले तर्क गरे । ‘रोल्पाली निमुखा जनतालाई हौस्याएर रोल्पालाई उद्गमथलो बनाई बन्दुकको सहारामा सत्तासम्म पुगेको एमाओवादीको समाप्ती रोल्पाबाटै हुनेछ,’ पौडेलले भने, ‘उनीहरूसँत भएको हतियार कन्टेनरमा गइसकेको छ । लडाकु शिविरमा नेपाली सेना प्रवेश गरिसकेको छ तसर्थ अब माओवादीको सर्वसत्तावाद चल्दैन ।’
उनले युद्धताका रोल्पाली जनतासँग सिस्नो ढिँडो खाएर जनयुद्धको रणनीति बनाएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब रोल्पालीसँग माफी माग्दै युद्ध सकिएको घोषणा गर्नुपर्ने धारणा व्यक्त गरे । ‘जबसम्म प्रचण्डले रोल्पाली जनतासँग हत्या हिंसा गर्दैनाँै, जनतालाई मार्दैनौँ भनेर माफी माग्दैनन् तबसम्म जनता माओवादी देखेर डराउँछन्,’ उनले भने, ‘अब माओवादी देखेर जनता डराउने होइन जनता देखेर माओवादी डराउनुपर्ने अवस्था आउँछ ।’
उनले संविधानसभा चुनावले मात्र निकास दिने उल्लेख गर्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको विरोध गर्नुभन्दा पनि सबै दल तथा नागरिक समाज चुनावको उचित वातावरण बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरे । ‘राष्ट्रपतिलगायत सबै दलहरूको सहमतिमा खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाइएको हो, कतिपयले उनको राजीनामा मागिरहेका छन् । राजीनामा माग्नुको कुनै तुक छैन,’ उनले भने, ‘यदी त्यसो भए मुलुक अझ अन्योलतातर्फ जानेछ । अहिलेको मुख्य मुद्दा भनेको संविधानसभाको निर्वाचन गराउँनु हो । राजीनामा होइन ।’

प्रतिक्रिया