‘पुरानै ऐनअनुसार चुनाव गर्नुपर्छ’

Surya-Bd-Thapa-Jiकाठमाडौं, २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पुरानै ऐनको व्यवस्थाअनुसार आगामी संविधानसभाको चुनाव गर्नुपर्ने बताएका छन् । चुनावको मुखमा नयाँ–नयाँ सर्तहरू राख्नु चुनाव नगर्ने नियत भएको उनको ठहर छ ।

‘राजनीतिक अन्यौलता चिर्नलाई चुनाव गर्ने हो । यतिबेला थ्रेसहोल्डजस्ता नयाँ–नयाँ कुरा अगाडि सारेर चुनाव हुन सक्दैन । जनताले नै नेताहरूको बोलीमा विश्वास नगरिरहेको बेला नयाँ–नयाँ भ्रम फैलाउने कुरा गर्नु हुँदैन । अहिले पुरानै ऐनको व्यवस्थाअनुसार चुनाव गर्नुपर्छ’, बुधबार पत्रकारसितको कुराकानीमा अध्यक्ष थापाले भने । चुनावपछि मात्रै ऐनमा नयाँ कुरा थप्न सकिने उनको सुझाव छ ।
‘पहिला आफैं प्रधानमन्त्री र प्रधानन्यायाधीश स्विकार्ने अनि, अहिले वाहियात कुरा गर्ने ? रेग्मी जबरजस्ती प्रधानमन्त्री बन्न आएका हुन र ? त्यसैले यतिबेला यो माग सान्दर्भिक छैन । प्रधानन्यायाधीश पदले चुनाव रोकिँदैन’, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग वाहियात भएको भन्दै अध्यक्ष थापाले भने । सकभर निर्दलीय सरकार नबनाएको भए हुन्थ्यो भन्दै उनले अहिले विरोध गर्नु चुनावको वातावरण बिगार्ने काम मात्रै हुने बताए ।
मंसिर पहिलो हप्ताभित्र चुनाव गर्ने सहमतिले लगभग मिति तोकिसकेको अवस्था रहेको भन्दै अध्यक्ष थापाले मिति तोक्न माग गर्दै निहुँ खोज्नेहरूलाई चुनावमा जाने इच्छा नभएको आरोप लगाए । ‘मंसिरको पहिलो साता निर्वाचन हुने निश्चित छ । मिति तोक्ने माग गर्दै वितण्डा मच्चाउनेहरूको चुनावप्रतिको विश्वास नै छैन । मोटामोटी तय भइसकेकाले अब अविश्वाश गर्नुको आवश्यकता छैन’, उनले भने ।
प्रमुख दलहरूले लामो गृहकार्य गरेर निष्पक्ष निर्वाचनका लागि रेग्मी नेतृत्वको सरकार बनाएकोले अहिले निष्पक्ष चुनाव हुन्छ/हुँदैन भनेर आशंका गर्ने बेला नभएको अध्यक्ष थापाले बताए । ‘निर्वाचन गराउन क्षमतावान छ सरकार । सरकारले निर्वाचनको वातावरण र व्यवस्था मात्रै गर्ने हो । बाँकी निर्वाचन आयोगले गर्ने हो । त्यसको काम भइरहेको छ । त्यसैले आशंका गर्नु हुँदैन’, उनले भने ।

प्रतिक्रिया