चवन्न किलोमिटर सडक जीर्ण

गौशाला : महोत्तरी सदरमुकाम जलेश्वरदेखि सर्लाही जिल्लाको सिमानालाई जोड्ने तथा जिल्लाको राजमार्गसम्म पुग्ने ५४ किलोमिटर लामो सडक पूर्णरूपले जीर्ण बनेको छ ।
सदरमुकाम जलेश्वरदेखि एकडारा, भटौलिया, मनरा, पोखरभिन्डा, रघुनाथपुर, खैरबनी हुँदै सर्लाहीको सिमाना संग्रामपुरसम्मको २७ किलोमिटर र जिल्लाको सम्सी बजारदेखि श्रीपुर, कठुधार, गौशाला, रामनगर हुँदै पूर्वपश्चिम राजमार्गलाई छुने २७ किलोमिटर बाटो जीर्ण भइसकेको छ ।
जलेश्वरदेखि सर्लाही सिमानासम्मको बाटो हुलाकी राजमार्गअन्तर्गत पर्छ भने सम्सीदेखि राजमार्गसम्मको बाटो विभिन्न गाविस तथा जिल्ला विकास समिति र सडक विभागअन्तर्गत छ ।
जिल्लाका ६५ प्रतिशत जनता बसोवास गर्ने यस क्षेत्रका बाटोघाटोमा ठूलाठूला खाल्डाखुल्डी भई कुनै पनि ठाउँमा समतल बाटो छैन भने वर्षायाममा जताततै हिलो, पानी र बाटो कटान तथा डुबानको समस्याले गर्दा बाटो बन्द हुने स्थितिमा पुग्ने गरेको हुन्छ ।
बाटोमा खाल्डाखुल्डी, हिलो, पानी र बाटोको लेबल नमिलेका कारण दैनिक यस सडकखण्डमा दुर्घटना हुने गरेको सो क्षेत्रका बासिन्दा बताउँछन् । सडक जीर्ण भएकै कारण यस क्षेत्रका बजार पनि विस्तारै पातलिँदै गइरहेका छन् भने यस भेगका उत्पादनले पनि सही बजार पाउन नसकेको गुनासो स्थानीयले गरेका छन् ।
बाटोको मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा नै सो बाटोमा दैनिक बससेवा पनि नियमितरूपमा सञ्चालन हुन नसकेको यस क्षेत्रका बासिन्दा बताउँछन् । जिल्लाका महत्त्वपूर्ण र अति उपयोगी बाटोका रूपमा रहेको यस सडकखण्डको मर्मतसम्भार र पुन:निर्माणमा सम्बन्धित निकायले अविलम्ब लाग्नुपर्ने आवश्यक देखिन्छ ।
बर्षेनि यस सडकखण्डका लागि लाखौँ रुपियाँ निकासा भए पनि यस सडकखण्ड दिनदिनै बिग्रँदै र भत्किँदै गइरहेको अवस्थाप्रति सर्वसाधारण चिन्तित र दु:खी छन् । यो बाटो मर्मतसम्भार र पुन:निर्माणको काम पूरा भएपछि महोत्तरीका लाखौँ जनता सहजरूपमा छिमेकी जिल्ला सर्लाही र आºनै जिल्लाको पूर्वपश्चिम राजमार्गसम्म जान आउन सक्छन् भने यस क्षेत्रका जनताको जीवनस्तरमाथि उठ्ने धारणा यस क्षेत्रका बासिन्दाको छ ।

प्रतिक्रिया