खोजखबर

सिंहदरबार गेटमा कमलरी क्रन्दन

सौर्य अनलाइन २०७० जेठ २२ गते २:४५ मा प्रकाशित

Deepa-Chaudhari२०६० सालको एक दिन । आफ्ना लगाउन हुनेसम्मका मैला, थोत्रा लुगाको पोको बोकेर सिंहदरबारअगाडि आइपुगिन् दीपा चौधरी । ‘काठमाडौंको राजदरबार यही हो ।’ सिंहदरबारको बाटो भएर ‘मालिकको घर’ जाँदै गर्दा गाउँबाट ल्याउनेले भनेका कुरा अझै स्मृतिमा ताजै छन्, उनका । त्यतिबेला बन्दुक बोकेका पुलिसलाई राम्रोसँग हेर्न पनि डर लागेको थियो रे † दुवैतिर हतियारसहित ठडिएका सुरक्षाकर्मीलाई एक झलक मात्रै नियालेकी थिइन् ।

गेटमा बन्दुक बोकेका पुलिस राखेर भित्र बस्ने ठूला मान्छे को होलान् ? तिनीहरूको काम के होला ? यस्ता कुरा सोच्नेसम्मको आँट गर्न पनि डरायो उनको मस्तिष्क । त्यो अलिसान महलभित्रका ‘ठूला’ हरूका पञ्जामा आफ्नो अस्तिस्वरक्षाको पोको बाँधिएको कसले सुझाइदिनु उनलाई † उनी त काठमाडौं सहरको मालिकका घरमा बसेर जीवन राम्रो बनाउने महत्त्वकांक्षाले तानिएकी एक किशोरी न थिइन् । त्यतिबेला उनलाई थाहा थिएन, हरेक दिन शारीरिक र मानसिक यातना लिएर कमलरी जीवन गुजार्नुपर्छ भन्ने ।
१० वर्षपछि अर्थात् आज, दीपा चौधरीका लागि सिंहदरबार अर्थपूर्ण थलो बनेको छ । आठ दिनयता लगातार सिंहदरबार गेटमा धर्नामा छिन् । सिंहदरबारको कुर्सीमा बसेर आफूजस्ताहरूको अधिकार खोस्नेहरूसँग पैँठेजोरी खेल्न तयार भएकी छन् । उनलाई साथ दिइरहेछन्, उनीजस्तै हिंसामा परेका थुप्रै घरेलु कमलरीको । ‘हिजो मेरो स्तनमा लाठी छिराएर पुलिसले कुट्यो ।’ आक्रोशमिश्रित भावमा उनले भनिन्, ‘१२ वर्ष हुँदा लगौँटी मात्रै लगाएको मालिकको शरीर मालिस गर्दाको पीडाभन्दा न्याय माग्दा खाएको कुटाइ सामान्य हुँदो रहेछ ।’
कैलालीबाट आफूजस्तै यातनाको पोको मनभरि सँगालेका पूर्वकमलरीसँगै दोस्रोपटक काठमाडौं आएकी हुन् उनी । ५० जनाभन्दा बढी पूर्वकमलरीसँगै आफ्नो पीडा साट्दै सिंहदरबार गेटमा बसेर न्यायको अपिल गरिरहँदा विगतमा सिंहदरबारसँग जोडिएको स्मृतिले उनको हृदयको राप बढेर आउँछ । आँखा रसाउँछन् । एकपटक भावीलाई सम्झिन्छन्, सायद भाग्यरेखा भगवान्ले कोर्दैन । ‘यदि भगवान् हुँदो हो त एउटै मानवभित्र पनि किन यति साह्रो विभेद ।’
कमलरी–यात्राको चारवर्षे जीवनमा जीवनको सिंगो पाटो नै बुझेझैँ लाग्छ उनलाई । त्यही सिंहदरबारभित्र बसेर २०५७ सालमा सरकारले देशबाट कमैया मुक्तिको घोषणा गरेको कागज तयार पार्‍यो । कागजी मुक्ति पाएको तीन वर्षपछि दीपा चौधरी कमलरी बनेर त्यही सिंहदरबारको गेटछेउ हुँदै मालिकको घरमा भित्रिइन् । दश वर्षपछि फेरि त्यही सिंहदरबारअघि न्याय माग्दै विगत यसरी सम्झिँदै छिन् दीपा–
६ जनाको परिवार हाम्रो । एक दाइ, दुई भाइ, आमाबुबा र म । १२ वर्षसम्म म कैलालीस्थित घरमै थिएँ । बुबाले ज्याला गरेर हामीलाई खानेकुरा जुटाउनुहुन्थ्यो । म पनि नजिकैको सरकारी स्कुलमा पढ्दै थिएँ । एक दिन एक्कासि बुबाको हातखुट्टा नचल्ने समस्या भयो । दिनदिनै बुबाले कमाएर ल्याएर हामीले खाने गरेका थियौँ । बुबालाई औषधोपचार गर्ने पैसा थिएन हामीसँग । आमाले बुबाको स्याहार, भाइहरूलाई हेर्ने र घरधन्दा गर्दैमा ठिक्क । अब दाइ र म भएर घर चलाउने कमाइ गर्नुपर्ने भयो ।
एक दिन घरनजिकैका रुद्र पौडेलले काठमाडौंमा काम लगाइदिने कुरा गरे । अलिअलि घरको काम गर्ने, पढाइदिने र वर्षको पाँच हजार रुपियाँ दिने सर्तमा उनले काठमाडौं ल्याएका थिए । काठमाडौंको ब्रह्मटोलस्थित कुशप्रसाद मल्लीको घरमा काम गर्न राखिदिए । तीन हजार रुपियाँ त्यो घरबाट लिएर बुबालाई औषधिखर्च भनेर तिनै रुद्रले लगेका थिए । त्यो पैसा त मलाई बेचेको पो रै’छ, पछि थाहा पाएँ । कैलालीबाट आएको एक–दुई दिन त राम्रै व्यवहार गरेका थिए । पढाइदिन्छु पनि भनेका थिए । तर, पढाउने हो भने पैसा दिँदैनौँ भन्न थाले । स्कुल भर्नासमेत गरिदिएनन् । बरु उल्टै घरको कपडा धुने, भाँडा माझ्ने, तेल लगाएर जीउ मालिस गर्न लगाउन थाले ।
बिहान ४ बजे उठाउँथे । उठेपछि घर तलदेखि माथिसम्म सफा गर्नुपथ्र्यो । त्यसपछि सबैले नुहाएका कपडा धुने र भाँडा माझ्ने काम । घरबाट पढ्छु अनि ठूलो मान्छे बन्छु भनेर आ’की मान्छे, साहुको महलमा बसेर भाँडा माझ्नेभन्दा बढी केही गर्न सकिनँ । कहिलेकाहीँ भागेर घर जाउँझैँ हुन्थ्यो । तर, त्यो घरबाट निस्केर कहाँ जाने, केही थाहा थिएन । न त पैसा नै साथमा हुन्थ्यो ।
बिहानदेखि राति दश/एघार बज्दासम्म घरको सफाइ र भाँडा माझेर सक्थेँ । सबै जना सुत्ने समय भएपछि त्यो घरको साहुको शरीर मालिस गरिदिनुपथ्र्यो । मालिक एउटा लगौँटी मात्रै भिर्थे । अनि, मेरो खुट्टामाथि आफ्नो खुट्टा तेस्र्याउँथे । मचाहिँ उनको खुट्टा मिच्न थाल्नुपर्ने । शरीरको सबै भागमा मालिस गरिसकेपछि पनि उनले भो नभनेसम्म मिचिरहनुपथ्र्यो । कहिलेकाहीँ त मेरो संवेदनशील स्थानमा पनि हात ल्याइपुर्‍याउँथे ।
एक दिन दिउँसो मालिकका छोराबुहारी बाहिर गएका थिए । म र मालिक मात्रै घरमा भयौं । मालिकले त्यस्तै मौका खोजेका छन् भन्ने पहिलेदेखि नै सुइँको पाइसकेकी थिएँ । मलाई अर्डर दिए, ‘हिटरमा इँटा तताएर शरीर सेक्नुपर्‍यो ।’ इँटा तताउन आदेश दिएर उनी छतमा घाम ताप्न थाले । मलाई भने आफ्नो अस्तित्व कसरी जोगाउने भन्ने चिन्ता बढ्न थाल्यो । उपाय निकालेँ– घर तल रहेको बिजुलीको मेन स्वीच अफ गरिदिएपछि बत्ती आउँदैन अनि इँटा तताउने काम पनि गर्नु पर्दैन । घरअगाडिका पसले दाइले मलाई त्यो घरमा गर्ने व्यवहार बुझ्ने भएकोले उहाँलाई सुटुक्क सबै कुरा भनेर ‘बत्ती आएको छैन’ भन्न लगाएँ । मालिकका छोराबुहारी नआउन्जेल बत्ती आएको छैन भन्दै बसेँ । उनीहरू आएपछि बल्ल मेनस्विच अन गरिदिएँ । धेरैपटक यस्तै जुक्ति लगाएर आफ्नो अस्मिता बचाएकी छु ।
मालिकहरू मैले छोएको भात खाँदैनथे । तर, थाल भने मेरै हातले माझेको चोखो हुन्थ्यो । उनीहरूले खाना खानुअघि मलाई भान्छामा छिर्न दिँदैनथे । एक दिन बुहारीचाहिँले ‘मालिक बाहिर जानुभएको छ, तँ भान्छामा आएर भाँडा माझ्’ भनेर अह्राइन् । म काम गर्दै थिएँ, मालिक आइपुगे । मलाई भान्छामा देखेपछि मालिकले कुटे । गाली त केके हो केके, सुन्नै नसकिने हुन्थ्यो । त्यो दिन भान्छामा गएको कारबाहीस्वरूप तीन दिनसम्म बिहानबेलुका त्यही बासी भात खाएर बस्नुपर्‍यो । चिसो अनि बासी भात हातमा लिएपछि आँखाबाट आँसु झथ्र्यो । कुदेर आमाबुबा भएठाउँ पुगौँझैँ लाग्थ्यो । तर, के गर्नु उपाय थिएन ।
काठमाडौं आउने बेला लुगाको पोको बनाउँदा आमाले भन्नुभाथ्यो– ‘सुकिला लुगा लगाउन काठमाडौं जाँदै छेस्, किन मैलाधैला बोक्छेस् ?’ तर मैले नयाँ लुगा कहिल्यै पाइनँ । अरूका लुगा सफा गर्दागर्दै आफू सफा हुने, आफ्ना कपडा धुने समय कहिल्यै हुँदैनथ्यो । भित्री कपडा कहिल्यै नयाँ पाइनँ । उनीहरू आफन्तको घर जाँदा मलाई पनि सँगै लैजान्थे कहिलेकाहीँ । आफन्तकोमा जाँदा भित्रको ब्रा देखियो भनेर गाली गर्थे, तर लुगा फाटेछ कहिल्यै भनेनन् । अरूका घरमा पनि मैले भाँडा माझिदिनुपथ्र्यो ।
काठमाडौंको घरानियाँ परिवारले सानोतिनो काम लगाएर स्कुल पठाइदिने आश्वासनमा आएकी थिएँ । कैलालीदेखि काठमाडौंसम्मको यात्रामा राजधानीको ‘राम्रो स्कुल’मा पढेर ‘ठूलो मान्छे’ बन्ने सपना पनि सँगै बुनिएर आएको थियो । बसबाट ओर्लिंदा देखेको अस्तव्यस्त काठमाडौंभन्दा जीवनको नवीनतम गोरेटो कोरिएको उत्साहले खुसी थिएँ । तर, मेरो ‘ठूलो मान्छे’ बन्ने सपना फगत सपना मात्रै भयो । मात्र तीन हजार रुपियाँमा बेचिएकी एक कमलरी मात्रै पो रहेछु ।
पटकपटकको चरम यातना भोग्न नसकेपछि नजिकै पसल रहेका प्रकाश पाण्डेको सहयोगमा त्यो घरबाट भागेँ । सिंहदरबार नजिकैको सडक पेटीमा त्यो रात बिताएँ । त्यो दिन पनि मलाई यो सिंहदरबारभित्र मजस्ता कमलरीका न्यायको कागज बन्छ भन्ने थाहा थिएन । थाहा पाएको भए त्यही दिन आजझैँ पैँठेजोरी खेल्ने साहस जुट्थ्यो होला ।
०००
अहिले आफ्नै गाउँ कैलालीमा पसिना बगाउँछिन् दीपा । दुई वर्षको चरम शारीरिक र मानसिक शोषणपछि उनी आफ्नो घर फर्किइन् । गाउँनजिकै अर्काे घरमा कमलरी बस्दै सीप पनि सिकिन् उनले । सिलाइ–कटाइको तालिम लिएर अहिले गाउँमै सिलाइ काम गर्छिन् । भाग्य भगवान्को भरोसामा होइन, आफैँले कोर्नुपर्छ भन्ने दीपाले बुझेकी छिन् । परिवार चलाउन आफ्नै सीपले कमाइ गरिरहेकी उनी अरूले पनि गरिबीका कारण कमलरी बस्नु नपरोस् भन्ने चाहन्छिन् । ‘१३ हजार दिदीबहिनी कमलरी बनेर मुक्त भएका छौँ । अझै छ सय ४५ जना न्यायको पर्खाइमा छन् । कतिले ज्यान गुमाएका छन् । उनीहरूको मुक्ति र न्यायका लागि हामी लडिरहन्छौँ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय