उपराष्ट्रपति झा चीन भ्रमणमा

Pramananda-Jhaकाठमाडौं, २२ जेठ । उपराष्ट्रपति परमानन्द झा मंगलबार चीनको ६ दिने भ्रमणमा लागेका छन् । चीनको दक्षिण–पश्चिमी प्रान्त युनानको कुनमिङमा आयोजना हुने ‘प्रथम चीन दक्षिण एसियाली व्यापार मेला’मा सहभागी हुन उपराष्ट्रपति झा पत्नी नविनाका साथ मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति झाले २३ जेठदेखि चार दिनसम्म कुनमिङ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त मेलामा दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र अफ्रिकी मुलुकका विशिष्ट व्यक्तिले भाग लिँदै छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले उपराष्ट्रपति झालाई बिदाइ गरेका थिए । झाको बिदाइका लागि परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे र सूचना तथा सञ्चारमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मुख्यसचिवसहित सचिव, सुरक्षा निकायका प्रमुख तथा चिनियाँ र स्विट्जरल्यान्डका राजदूतहरू झाको बिदाइका लागि विमानस्थलमा उपस्थित थिए । उपराष्ट्रपति २६ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया