बसले किच्दा पतिको मृत्यु पत्नी घाइते

राजविराज : सप्तरीको कुसहा चोकमा मंगलबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बनौली–९ का २२ वर्षीय वासुदेव राम छन् । साइकलपछाडि बसेकी वासुदेवकी पत्नी १८ वर्षीया विमलादेवी गम्भीर घाइते भएकी छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे.१ख १२४७ नम्बरको बसले विपरीत दिशामा जाँदै गरेको साइकललाई ठक्कर दिएको सप्तरीका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । प्रहरीका अनुसार दुर्घटनालगत्तै दुवै जनालाई लहानस्थित फ्रेन्ड्स मोडेल अस्पतालमा भर्ना गरे पनि वासुदेवको उपचारका क्रममा एक घन्टापछि साढे ११ बजे मृत्यु भएको हो । विमलाको उपचार भइरहेको छ । साइकललाई ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय कडरवोनाले नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई कारले किच्यो
त्यस्तै, मधुपट्टी–९ स्थित पूर्व–पश्चिम राजमार्गमा बा.९च ७६५ नम्बरको कारको ठक्करबाट प्रहरी चौकी कडरवोनाका हवल्दार सुजन विक गम्भीर घाइते भएका छन् । उनको टाउको तथा शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ । विकलाई उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको डिएसपी चौधरीले बताए । गाडी चेकजाँच गर्ने क्रममा हवल्दार विकलाई कारले ठक्कर दिएको प्रहरीले दाबी गरेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (सौस)

प्रतिक्रिया