भक्तपुरलाई बालश्रममुक्त जिल्ला बनाइने

भक्तपुर, २२ जेठ । भक्तपुरलाई पाँच वर्षभित्र बालश्रम शोषणरहित जिल्ला बनाइने भएको छ । जिल्लालाई बालश्रम शोषणमुक्त बनाउनका लागि तयार पारिएको रणनीतिक योजनामाथि मंगलबार सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला बाल कल्याण समितिले आयोजना गरेको बालश्रम उन्मूलनका लागि छलफल एवं सुझाव संकलन कार्यक्रममा पाँचवर्षे रणनीतिक कार्ययोजनामाथि सरोकारवालाबीच छलफल भएको हो ।

सिडिओ हिमनाथ दवाडीले रणनीतिक योजनालाई १२ जुनदेखि कार्यान्वयनमा लैजाने जानकारी दिँदै त्यसका लागि आवश्यक तयारी भइरहेको उल्लेख गरे । सिंगो जिल्लालाई छिट्टै बालश्रम मुक्त जिल्ला बनाउन कठिनाइ रहे पनि यसले बालश्रम न्यूनीकरण भने हुने सिडिओ दवाडीको भनाइ थियो ।
श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पवनकुमार तिमिल्सिनाले १४ वर्ष उमेरसम्मका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाइने स्पष्ट पार्दै १४ देखि १८ वर्षसम्मकालाई जोखिममुक्त एवं सुविधासहितको निश्चित काम मात्र लगाउन पाउने व्यवस्था रहेको उल्लेख गरे । कानुनले बालश्रम पूर्णरूपमा निषेध नगरेको जानकारी दिँदै विभिन्न उद्योग तथा कलकारखानामा बालश्रमको अवस्था न्यून हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘तर लुकेर प्रयोग गरिएका बालश्रमको अवस्था भने ज्यादै जटिल बन्दै गएको छ ।’
महिला तथा बालबालिका विभागका निर्देशक माधव गर्तौलाले स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिको सहयोग र समर्थनविना कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन नसकिने भन्दै कार्ययोजना बनाउँदा यसलाई पनि समेटिनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया