दल प्रवेश र बाहिरिने प्रवृत्ति

Sangita-Dahal-1नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापा र नेकपा एमालेकी पोलिटब्युरो सदस्य उर्मिला अर्याल एकै साथ एनेकपा एमाओवादीमा प्रवेशको खबरले निक्कै तरंग ल्यायो । थुप्रै टीका–टिप्पणी भयो । व्यक्तिको आ–आफ्नो रुचि र इच्छाको कुरा हो । नायिका रेखाको प्रवेश कुनै राजनीतिक दलमा जानु त्यति आश्चर्यको कुरा होइन । तर, राजनीतिक र ग्ल्यामर क्षेत्र भिन्न हो, त्यसलाई के कति मात्रामा उनले खुट्याउन सक्छिन् त्यो उनको निजी क्षमताको कुरा हो । एकाक्षेत्रमा सफल व्यक्ति अर्को क्षेत्रमा पनि सफल हुन्छ भन्ने हुँदैन । भारतीय सिनेमा क्षेत्रमा शिखर चुम्न सफल कलाकार अमिताभ बच्चनको आज राजनीति क्षेत्रमा त्यसै अनुसार जम्न सकेन । राजनीतिबाट अन्तत: विमुख नै भए । कुनैबेला नेपालका चलचित्र नायक भुवन केसीको एमालेमा प्रवेशको खबर निक्कै चर्चामा रहेको थियो । एमालेमा उनको के कस्तो स्थान छ ? उनको प्रवेशले एमाले कति मोटायो र अरू दल कति दुब्लाए ? संगठनको सुदृढिकरण र विस्तारमा कति मद्दत पुर्‍यायो ? सोधको विषय छँदै छ । प्रवेशको खबर एकछिन चर्चामा रहन भने कामयाबी भयो ।
नेकपा एमालेबाट आफ्नो राजनीतिक व्यक्तित्व निर्माण मात्र होइन । सत्ताको सुखको समेत अनुभूति गर्न सफल उर्मिला अर्यालको एमाओवादीमा प्रवेशले भने किन मानिस दल परित्याग गर्छ ? अर्को दलप्रति उसको आकर्षण किन हुन्छ ? एउटा दलबाट लिने र अर्को दललाई दिन किन लालायित हुन्छन् ? प्रश्न स्वभाविक रूपमा उठ्दछ । तर, यो कुनै आश्चर्य मान्नुपर्ने विषय भने हुँदै होइन । यस्ता विगतमा पनि धेरै घटना भएका थिए । कोही घर छोडेर हिँडेर फेरि आफ्नै थात थलोमा फर्केको पाइन्छ । कोही घरबारविहीन मात्र भएका होइनन् । आफ्नो राजनीतिक इतिहास र व्यक्तित्व नै लुप्त गराउन पुगेका पनि छन् ।
कुनै बेला वाम राजनीतिक आन्दोलनमा राम्रो हैसियत र चर्चित केशरमणि पोख्रेल ०४६ को आन्दोलन पछि नेपाली कांग्रेसमा एकाएक प्रवेश गरेका थिए । नेपाली कांग्रेसमा अहिले उनको स्थान कहाँ छ ? आफ्नो लामो इतिहास आपैँm धुमिल र विलिन बनाउन बाहेक पोख्रेलले केही पाए जस्तो पनि लाग्दैन । नेपाली कांग्रेसबाट आफ्नो राजनीतिक व्यक्तित्व निर्माण गरेका खेमराज भट्ट मायालु कुनै बेला रामराजाप्रसाद सिंहको नेतृत्वको जनमोर्चामा गए । ०४२ सालमा घटित बमकाण्डको जिम्मेवार लिएका सिंहसँगै भारतमा स्वनिर्वासित समेत भए । आखिर पुरानै कांग्रेसमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न फर्के । एमालेबाट एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झाले एमालेको भन्दा बढी र आकर्षक जिम्मेवारी हात नपारिरहेको अवस्थामा उर्मिलाको हातमा भने परिहाल्छ भनेर अनुमान गर्न पनि सकिँदैन । मानवीय महत्त्वकांक्षाले मानिसलाई विजयी मात्र होइन । परास्त पनि गराउँदछ । उत्थान र पतनको दुवै कारण पनि बन्दछ ।
झापा आन्दोलनको क्रममा लामो अवधि जेलमा मात्र होइन । गोलघरभित्र समेत गरेर १७ वर्ष बिताएका राधाकृष्ण मैनाली एमालेबाट माले हुँदै राजाको सक्रिय शासनको मन्त्रीसमेत भए । राजनीतिक धैर्यता र प्रतिक्षा उनमा पनि रहन सकेन, ०६२/६३ को आन्दोलन पछि एमाओवादीमा प्रवेश गरे । जुन प्रवेशमा उत्साह थियो । त्यसले निरन्तरता पाउन सकेन । न त एमाओवादीले उनको राजनीतिक इतिहासको मूल्यांकन गरेर कुनै जिम्मेवारी नै दियो । राजाद्वारा मनोनित राष्ट्रिय सभाका सदस्य कुनै बेलाका चर्चित पत्रकार जनार्दन आचार्य अधैर्य भए । एमाओवादीमा प्रवेश गरे । उनको स्थान र सम्मान एमाओवादी दलमा कस्तो छ ? त्यो उनलाई बाहेक अरूलाई थाहा हुने कुरा भएन । त्यति राम्रो लेखन कला भएका आचार्यको सीपलाई के कति मात्रामा एमाओवादीले प्रयोगमा ल्याउन सक्यो ? त्यसको जानकार आचार्य र उनको दलबाहेक अरू हुँदा पनि हुँदैन । उनलाई स्मरण गर्ने अझै पनि ‘समय–समय’ भन्ने उनको स्तम्भ लेखनका पाठक अझै बाँकि छन् ।
०४६ सालको राजनीतिक परिवर्तनपछि ३० वर्षको पञ्चायती व्यवस्थाको राजनीतिक संगठनको अनुभव हासिल गरेका पूर्वपञ्चहरू एकै दलमा आवद्ध भएर आफ्नो दरो उपस्थिति देखाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी थापा र चन्द दुई दलको गठन गर्नपुगे । गाउँ, नगर, जिल्ला, अञ्चलमा उनीहरूको सत्ता व्यवस्थाकै कारण संगठन थियो । परिवर्तनले हतास भए । आफ्नो पूर्वजनाधारलाई प्रयोगमा ल्याउन सकेनन् । वैचारिक रूपमा एउटै संगठन बनाएर पञ्चायत इतरपक्षसँग दरो प्रतिस्पर्धा गर्न नसके पनि त्यति विचरो पनि भइराख्ने थिएनन् । त्यस्तो भएन । दुईटा भिन्न दल भए । परिणाम ०४८ सालको आमनिर्वाचनमा शून्य सरह नै भयो । तीन सिट मात्र हात पारेका थिए ।
०५६ सालको आम निर्वाचनमा एमालेबाट फुटेर गएको मालेले एउटै पद पनि हात पार्न सकेन । नराम्ररी पराजित भयो । कतिपय मालेबाट एमालेमा नै फर्के भने सिपी मैनालीलाई भने माले जोगाउन धौधौ नै परिराखेको छ । त्यसबेला एमालेबाट फुटेर गएको मालेले आफ्नो विजयोत्सव मनाउन पाएन । मात्र एमालेको सम्भावित बहुमत सरकारको सम्भावनालाई पाखा लगाउन भने सफल भयो । त्यसको एउटा कारक तत्त्व बन्न सक्यो । त्यसबेला एमालेले पनि राजनीतिक संस्कार कायम गर्न सकेन । उनीहरूलाई नराम्ररी दुत्कार्‍यो । बासी गुट भनेर उछितो काट्नसमेत काटेर पनि सन्तुष्ट भएन । टुँडिखेलमा आमसभा गरेर नेपालको भ्रष्टचारी १ नम्बर को हो ? घोषणा गर्ने भनेर सभाको आयोजना गर्‍यो । मालेमा गएकाहरूलाई भ्रष्टाचारी भनेर ठहर गर्न पुग्यो । रजनीतिको पछिका सम्भावनालाई पटक्कै हेरेको थिएन ।
कुनै दलमा प्रवेश गर्ने र बाहिरिने प्रवृत्ति नौलो र नयाँ हुँदै होइन । व्यक्तिगत महत्वाकांक्षा, राजनीतिक नाफा र नोक्सानको आँकलनले प्रभाव पारेको हुन्छ । कुनै वैचारिक स्पष्टता र सैद्धान्तिक अडान हावी भएको पनि हुँदैन । मात्र व्यक्तिगत प्रवृत्ति हावी हुन्छ । कसैको प्रवेशले अमुक दलले आफूलाई उच्च र अरूलाई निचो क्षणिक रूपमा देखाउनबाहेक ठूलो उपलब्धि हात पारेको पनि हुँदैन । कसैलाई आत्मरतिमा रमाउन अमुक व्यक्तिको अमुक दल प्रवेश र भित्रिने प्रवृत्तिले निश्चय पनि मद्दत गर्छ । अरूलाई त्यसको खास प्रभाव र असर भइराख्छ जस्तो लाग्दैन ।

प्रतिक्रिया