वनवासा र शारदा ब्यारेजको पुल अब सात घन्टा खुल्ने

काठमाडौं, १९ जेठ । सवारीसाधनको निर्वाध सञ्चालन तथा यात्रुको आवागमनलाई दृष्टिगत गरी नेपाल र भारतका अधिकारी वनवासा र शारदा ब्यारेजको पुल सात घन्टा खोल्न सहमत भएका छन् । काठमाडौंमा सम्पन्न नेपाल–भारत गृहसचिवस्तरीय वार्तामा सो सहमति भएको हो ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई सुदृढ एवं व्यवस्थित बनाउन पनि दुवै देशका अधिकारीबीच सहमति भएको छ ।  मानव बेचबिखन, आतंकवादी गतिविधि, साना हतियार तथा लागुऔषधको ओसारपसार, ‘सिमकार्ड’को दुरुपयोग, संयुक्त लगानीमा नेपालमा सञ्चालित औद्योगिक प्रतिष्ठानको सुरक्षाका लागि दुवै देशका सुरक्षानिकायबीच समयमै सूचना तथा सहयोग  आदानप्रदान गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको हो ।
गृहका अनुसार अन्तरसीमा अपराध नियन्त्रण र सीमा क्षेत्रमा बसोबास गर्दैआएका दुवै देशका जनताले भोग्नुपरेका समस्या सम्बोधन गर्ने सम्बन्धमा बैठक केन्द्रित भएको थियो । सीमास्तम्भको मर्मतसम्भार, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि, भारतीय सीमा सुरक्षा बलको विस्तारका साथै अध्यागमन प्रशासन, कारागार व्यवस्थापन, स्थानीय प्रशासनलगायत सुरक्षा निकायका जनशक्तिलाई तालिम दिएर सक्षम तुल्याउने सहमति पनि बैठकमा भएको छ ।
‘सीमावर्ती क्षेत्रमा दुवै देशका जनताले बेहोरिरहेका स्थानीय तहका समस्याको तत्काल समाधान गर्न दुवै मुलुकका स्थानीय प्रशासन तथा सुरक्षानिकायका पदाधिकारीलाई समकक्षी सम्पर्क अधिकृतका रूपमा काम गर्ने गरी सूचना आदानप्रदान गर्ने प्रणाली अपनाउने र सीमावर्ती जिल्ला समन्वय समितिको बैठक नियमित रूपमा गर्ने समझादारी भएको छ,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया