स्ववियु चुनाव माग गर्दै नेविसंघ आन्दोलनमा

काठमाडौं, २० जेठ । नेपाल विद्यार्थी संघले स्ववियु चुनावको नयाँ मिति तत्काल घोषणा गरी चुनाव गराउन माग गर्दै आइतबार देशभरका क्याम्पसअगाडि चक्काजाम गरेको छ ।
संघले आइतबार देशभरका क्याम्पसअगाडि बिहान ९ देखि १० बजेसम्म एक घन्टा चक्काजाम गरेको हो । संघले चक्काजाम गर्दा देशभरका क्याम्पसअगाडिको यातायात आवागमनमा अवरोध भएको थियो । स्ववियु चुनाव अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुका कारण भाँडिएको आरोप लगाउँदै संघ चुनावको नयाँ मिति घोषणाको माग राखी आइतबारबाट आन्दोलनमा उत्रिएको हो । संघले आइतबार राजधानीको प्रदर्शनीस्थित विश्वभाषा क्याम्पसबाट नारा जुलुससहित चुनाव स्थगनको विरोधमा र्‍यालीसमेत निकालेको थियो । विरोध र्‍याली पद्मोदय मोड, पुतलीसडक, बागबजार हुँदै त्रिचन्द्र क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा संघका प्रवक्ता युपी लामिछानेले स्ववियु चुनाव स्थगन गर्नु आपत्तिजनक भएको उल्लेख गर्दै जेठ मसान्तसम्म चुनावको मिति घोषणा गर्नुपर्ने माग गरे ।
संघले सोमबार देशभर सरकारी गाडी चलाउन रोक लगाउने, २१ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गर्ने, २२ गते अन्तरिम चुनावी मन्त्रिपरिसद्का अध्यक्ष तथा त्रिविका कुलपति खिलराज रेग्मीको त्रिचन्द्र क्याम्पसअगाडि पुतलादहन गर्ने र २३ गते उपत्यका बन्दसम्मका आन्दोलनका कार्यक्रम शनिबार सार्वजनिक गरेको थियो । २३ जेठका लागि त्रिभुवन विश्वविद्यालयले तय गरेको स्ववियु चुनाव विद्यार्थी संगठनहरूबीचको विवादका कारण अनिश्चितकालका लागि स्थगन भएको छ ।

प्रतिक्रिया