मकवानपुर र रोल्पा उत्कृष्ट

boxinbg-photoकाठमाडौ, २० जेठ । राष्ट्रिय युथ बक्सिङ च्याम्पियनसिपमा मकवानपुर र रोल्पा दुवै जिल्लाले सर्वाधिक तीन स्वर्ण जितेका छन् । दाङको तुलसिपुरमा आइतबार सम्पन्न च्याम्पियनसिपमा मकवानपुरले १८ वर्षमुनि उमेर समूहमा तीन स्वर्ण जित्यो । रोल्पाले महिलातर्फ दुई र पुरुषतर्फ एक स्वर्ण पदक जिते । यस्तै १८ वर्षमाथि भक्तपुरले दुई स्वर्णमा कब्जा जमायो ।
नेपाल बक्सिङ संघको तत्वाधानमा दाङ जिल्ला बक्सिङ सघद्वारा आयोजित पाँच दिने प्रतियोगितामा १८ वर्षमाथि उमेर समूहमा बानुजका आदित्य कर्माचार्य उत्कृष्ट खेलाडी घोषित भए । उनले पुरुष ६० केजीमा स्वर्ण जितेका थिए । त्यस क्रममा बानुजले पाटन बक्सिङ क्लबका रोहित अवालेलेलाई फाइनलमा हराए । गंगा इँटा उद्योग मुख्य प्रायोजक गरेको च्याम्पियनसिपमा १८ वर्षमुनि ४४ केजीमा स्वर्ण विजेता मकवानपुरका सोमबहादुर लामा उत्कृष्ट घोषित भए । आज भएको फाइनलमा सोमबहादुरले काठमाडौंको मेघदुतका अमन तामाङलाई हराउँदै स्वर्ण जिते । महिलामा रोल्पाकी नंजा बुढामगर उत्कृष्ठ खेलाडी घोषित भइन् ।
पुरुष १८ वर्षमाथि उमेर समूहको ४९ केजी तौल समूहमा नक्शालका सुशील थापाले स्वर्ण जिते । फाइनलमा सुशीलले काठमाडौंका संजय भुजेललाई हराएका थिए । सोही उमेर समूहको ५२  केजीमा दाङका चन्द्रज्योति थापाले स्वर्ण जिते । चन्द्रले फाइनलमा कपिलबस्तुका राजेश चौधरीको चुनौती पन्छाएका थिए । फाइनल भिडन्तमा बाकेका सागर राणालाई हराउँदै ५६ केजीमा भक्तपुरका सजय प्रजापतीले स्वर्ण हात पारे । १८ वर्षमुनि ६४ केजीको स्वर्ण नवलपरासीका जीवन क्षेत्रीले जिते । उनले फाइनलमा भक्तपुरका सञ्जिव थिङलाई हराए । ६९ केजीमा भने भक्तपुरका सन्दिप व्यञ्जु स्वर्ण जित्न सफल भए । सन्दिपले फाइनलमा बानुजका दिप्ताङस श्रेष्ठलाई हराएका थिए । च्याम्पियनसिपको अन्तिम भिडन्तमा टिकाथलीका दिगविजय भारती सफल भए । १८ वर्षमुनिको ७५ केजी तौल समूहको फाइनलमा सल्यानका शैलेन्द्र रोकामगरलाई हराउँदै दिगविजय स्वर्ण पदकमाथि विजय गर्न सफल भए । पाँच दिनसम्म सञ्चालन भएको च्याम्पियनपपिमा पुरुषतर्फ दुई तौल समूह र महिलातर्फ खुला रूपमा प्रतिस्पर्धा गराइएको थियो ।
च्याम्पियनसिपको समापनका अवसरमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बक्सिङबाट पदक जित्ने खेलाडीलाई सम्मान गरिएको थियो ।  समापनका अवसरमा बोल्दै दाङ जिल्ला बक्सिङ सघका अध्यक्ष संगमबहादुर शाहले सबैको सहयोगमा २१ वर्षपछि दाङमा राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता आयोजना गर्न सकिएको बताउनुभयो ।

प्रतिक्रिया