फिफामा पहिलोपटक महिला सदस्य

विश्व फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले आङ्खनो १०९ वर्ष लामो इतिहासमा पहिलोपटक कुनै महिलालाई कार्यकारी सदस्यमा चयन गरेको छ ।
फुटबल खेलको दुनियामा यसरी इतिहास निर्माण गर्ने महिला हुन्– लिडिया सेकेरा । उनी हाल अफ्रिकी मुलुक बुरुन्डीको राष्ट्रिय फुटबल संघकी अध्यक्ष पनि हुन् ।
मरिससमा बसेको फिफा कंग्रेसमा भएको निर्वाचनक्रममा ४६ वर्षीय सेकेराले कुल २०३ मतमध्ये ९५ मत प्राप्त गर्दै फिफाको शक्तिशाली कार्यकारी समितिमा निर्वाचित भएकी हुन् । चार वर्षका लागि फिफा कार्यकारी सदस्य बन्नेक्रममा उनले अस्टेलियाकी मोया डड र टर्कस एन्ड क्याकस आइल्यान्ड्सकी सोनिया बिन–एमीलाई पराजित गरेकी हुन् ।
फिफामा चयन भइसकेपछि सेकेराले भनिन्, ‘म महिलाहरूलाई उनीहरूले पनि नेतृत्व गर्न सक्छन् भनेर उनीहरूमा विश्वास जगाउन प्रेरित गर्नेछु र संघमा महिलाहरूलाई समर्थन गर्ने छु ।’ उनी गत वर्ष फिफा कार्यकारिणी समितिमा ‘को–अप्टेड’ सदस्यका रूपमा चयन हुने पहिलो महिला पनि थिइन् ।
सेकेरा पछिल्लो २००४ देखि नै बुरुन्डी फुटबल संघको अध्यक्ष रह“दै आएकी छन् । उनी सन् २००८ र २०१२ मा भएका ओलम्पिक फुटबल प्रतियोगिताका लागि फिफा आयोजन समितिकी सदस्य पनि थिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्यसमेत रहेकी सेकेरा फिफामा हुने वा हुन सक्ने भ्रष्टाचारविरुद्ध कामकारबाहीलाई अगाडि बढाउन गठित स्वतन्त्र गभर्नेन्स समितिकी सदस्यसमेत हुन् ।

प्रतिक्रिया