कालीगण्डकी करिडोर निर्माणमा ढिलाइ

बागलुङ, १६ जेठ । नेपालको उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर निर्माणको काममा ढिलाइ भएको छ । राष्ट्रिय गौरवको आयोजनामा परेको कालीगण्डकी करिडोर निर्माण प्रक्रिया पछिल्लो समय सुस्ताएको छ । ठेकेदार कम्पनीले पहिलो चरणमा ठेक्का लिएपछि दास्रो कम्पनीलाई क्लस्टरको ठेक्का दिने परिपाटीले करिडोरको काम प्रभावित भएको आयोजनाले जनाएको छ ।
भारतको सुनौलीदेखि चीनको कोराला नाकासम्म कुल ४ सय १७ किलोमिटरको सो करिडोरको निर्माणमा ढिलाइ हुनुमा ठेकेदार कम्पनी नै बढी जिम्मेवार भएको आयोजनाका प्रमुख इन्जिनियर राजेन्द्र शाहले बताए । अघिल्लो आर्थिक वर्षमा काम सम्पन्न गर्ने सम्झौतासहित करिडोरको ९७ किलोमिटर खण्ड ठेक्का लिएका ८ ठेकेदार कम्पनीले हालसम्म काम सम्पन्न गर्न सकेका छैनन् ।
बेलैमा काम सक्न आयोजनाले ठेकेदारलाई सचेत बनाए पनि आयोजनाको काममा ढिलाइ हुन छाडेको छैन । योजनाले सूर्यजीवन कन्स्ट्रक्सन प्रालि, हौसला निर्माण सेवा, ए निर्माण सेवा, अस्मिता कन्स्ट्रक्सन प्रालि, रमन/नयाँ बाटो प्रालि, पशुपति बिकम र लोकप्रिय शंकरमालीलाई निर्माणको जिम्मा दिएको छ ।
आयोजनाको लक्ष्य अघिल्लो वर्षभित्रै सबै क्षेत्रमा ट्रयाक खोलिसक्ने भए पनि सरकारी उदासीनता र ठेकेदारका कारण सोचेअनुसार काम गर्न नसकिएको कालीगण्डकी करिडोरका निमित्त प्रमुखसमेत रहेको इन्जनियर शाहले स्विकारे । शाहले अझै ४५ किमी सडकखण्डमा ट्रयाक खोल्न बाँकी रहेको जानकारी दिए । करिडोरका विभिन्न निर्माणका चरणदेखि कालोपत्र गर्न २३ अर्ब ७१ करोड ९२ लाख लाग्ने आयोजनाले जनाएको छ । शाहका अनुसार हालसम्म सो रकममध्ये १५ करोडको मात्र काम भएको छ ।
करिडोरअन्तर्गत मुस्ताङ खण्डमा चार किमी, बाग्लुङमा आठ किमी, पर्वतमा छ किमी, स्याङ्जामा चार किमी, गुल्मीमा पाँच किमी र पाल्पामा २५ किमी ट्रयाक खोल्न बाँकी रहेको शाहले जानकारी दिए । ‘पेटी ठेक्का प्रणालीका कारण पनि काममा ढिलाइ भएको छ, अब यसलाई हामी सुधारेर बहुवर्षे ठेक्का दिने योजनामा हामी छौँ,’ शाहले भने, ‘ठेकेदारको उदासीनता कारण पनि काम सुस्ताएको छ, सरकार पनि बढी जिम्मेवार हुन आवश्यक छ ।
बहुवर्षे ठेक्का प्रणालीबाट काम छिटो सम्पन्न हुने विश्वास आयोजनाको छ । करिडोरको ट्रयाक मात्र खोल्न ३५ करोड रुपियाँ बजेट आवश्यक पर्ने शाहले बताए । आवश्यक बजेट विनियोजन भए आगामी वर्षभित्र आयोजनाको सबै ट्रयाक खोल्ने काम सकिने अपेक्षा निर्माण कम्पनीले गरेको छ ।
सरकारले बेलैमा आवश्यक जनशक्ति, पूर्वाधार तथा बजेटको व्यवस्था नगर्दा समस्या भएको शाहको भनाइ छ । विभिन्न आठ चरणमा काम गर्ने करिडोरको योजनामा तेस्रो चरणअन्तर्गत ट्रयाक खोल्ने काम आगामी वर्षभित्र सक्ने लक्ष्य छ । योजनाका प्रमुखको छिटोछिटो सरुवा हुनाले पनि काममा समस्या भएको शाहले बताए । पछिल्लो एक वर्षमा कालीगण्डकी करिडोरमा तीन जना योजना प्रमुख फेरिएका छन् । ०६७ देखि सुरु भएको यो आयोजनाले दस वर्षभित्र कालोपत्रे गर्ने योजना बनाएको थियो ।
करिडोरको नवलपरासीको गैँडाकोटदेखि पीपलडाँडासम्म १ सय ३० किमी, पीपलडाँडादेखि मिर्मि ३० किमी, मिर्मीदेखि कुश्मा ५५ किमी, रुद्रबेनीदेखि बाग्लुङ ८८ किमी, कुश्मादेखि मालढुंगा ११ किमी, मालढुंगादेखि बेनी १५ किमी, बेनीदेखि जोमसोम ७२ किमी, जोमसोमदेखि कागबेनी १० किमी र कागबेनीदेखि कोरला एक सय किमीमध्ये मालढुंगा–बेनी र बेनी–जोमसोम खण्डबाहेक अरू सबै खण्ड निर्माणाधीन अवस्थामा रहेका छन् । भारत र चीन जोड्ने गरी निर्माण हुन लागेको कालीगण्डकी करिडोरलाई रणनीतिक हिसाबले पनि  महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया