व्यस्त ओमकृष्ण

Omc-Krishnaकराते खेलबारे आममानिसको धारणा चाहेजति सकारात्मक नभेटिन सक्छ अहिले । तर, खेल–इतिहासमा कुनै बेला यसले पूरै नेपाली खेलकुदको विरासत उँचो राखेको गौरवशाली तथ्यलाई बिर्सन सकिँदैन । केही नकारात्मक पाटा पनि रहे, जसकारण यसलाई हेर्ने आमदृष्टिकोण सोचेजति सन्तोषजनक रहेन । कराते प्रशिक्षक ओमकृष्ण प्रसार्इं पनि झलझली देखिरहेछन् नेपाली करातेको यो ओइलाउँदो अवस्था । र, यसमा प्राण भर्न सम्पूर्ण करातेकर्मी एक भएर लाग्नुपर्ने आवश्यकता देख्छन् ।
कुनै पनि व्यक्तिका लागि जीवनको महत्त्वपूर्ण कालखण्ड हो, अढाइ दशक भनेको । जहाँ उनिएका हुन्छन्, सम्बद्ध व्यक्तिको संघर्ष, विफलता, अनवरत समर्पण अनि सफलताका किस्साहरू । ओमकृष्णले पनि आफ्नो ऊर्जाशील उमेरको अढाइ दशक लामो कालखण्ड करातेमा बिताइसके । अनि यो यात्रामा थुप्रै आरोहअवरोह पार गरे । नौ–दश वर्षको उमेरदेखि करातेमा छिरेपछि केही महत्त्वपूर्ण सफलता पनि पाए ।
सन् २००६ मा सम्पन्न विश्वस्तरीय कराते प्रतियोगितामा स्वर्ण पदक जित्नु खेलाडी जीवनमा उनले पाएको सबैभन्दा महत्त्वपूर्ण सफलता हो । तथापि अन्य केही पाटामा पनि सफल भए । सधैँभरि व्यस्त । अहिले उनी प्रशिक्षक छन् तर राज्यको सुविधाप्राप्त प्रशिक्षक होइनन् । न त जागिरे । तथापि निरन्तर प्रशिक्षणमा लागिरहेका छन् । यदाकदा नेपाली करातेमा आइरहने आरोहअवरोहमा प्रसाईं पनि सामेल रहे ।  अफिसियल करातेका चार स्टाइलमा सितेरियो नेपालमा सबैभन्दा प्रभावकारी छ । अहिले अन्य स्टाइलमा आबद्धहरू पनि कुनै समय सितेरियोकै खेलाडी थिए । ओमकृष्ण जस्तै । सात वर्षअघि नेपालमा गोजुरियो करातेले प्रवेश पायो । सितेरियोमा आबद्धहरूले नै गोजुरियोमा प्रवेश गर्दै यसलाई अघि बढाए ।
ओमकृष्ण सुरुआती दिनमा नै नेपाल गोजुरियो कराते संघका हर्ताकता भए । उनीसहितको समूहले यसलाई नेपालमा अघि बढायो । नेपाली गोजुरियोलाई अन्तर्राष्ट्रिय आबद्धता दिलाउनुका साथै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी गराउने काम पनि भयो । गोजुरियोमा आबद्धतापछिको डेढ दशकमा ओमकृष्णले केही पृथक् काम पनि भ्याए । विश्वविद्यालयको औपचारिक शिक्षामा दुई विषयमा स्नातकोत्तर छन् । कराते शिक्षामा त आफूलाई अग्रणी राखिरहेकै थिए । फलस्वरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्ने मौका पाए । यति बेला उनले करातेका अब्बल शिष्यहरू पनि उत्पादन गरिसकेका थिए । गरिरहेकै छन् ।
नेपाली अफिसियल करातेका चार स्टाइलमा निर्विवाद रह्यो सितेरियोको दबदबा । अनौपचारिक कुराकानीमा सितेरियो खेल्नेहरूले हामी नै सबै हौँ भन्ने अनि अन्य तीन स्टाइलका चाहिँ पद, जिम्मेवारी र सुविधाका कारण सितेरियो बलियो देखिएको बताउने । यस्तैखाले आआफ्नै पक्षीय दाबीको जुहारी करातेमा लामो समयदेखि चलिरहेको थियो । तर, हाल यो जुहारी लगभग अन्त्य भइसकेको छ, राज्यपक्षबाट । वर्तमान कराते महासंघमा बादोरियोका तर्फबाट महासचिव छन् भने गोजुरियोका तर्फबाट ओमकृष्ण सचिव छन् । प्रशासनिक हैसियत प्राप्त गरेपछि उनको जिम्मेवारी पनि फेरिएको छ । आरोप–प्रत्यारोप होइन, आफ्नै बलबुताले केही गरेर देखाउनुपर्ने स्थानमा छन् । भन्छन्, ‘महासंघमा जिम्मेवार भूमिकामा रहेपछि अब केही नयाँ सोचाइसाथ काम गर्नेछौँ ।’
त्यसो त विगतमा आआफ्नो स्टाइलको अस्तित्वमाथि औपचारिक–अनौपचारिक वाक्युद्ध चलिरहँदा पाँचौँ राष्ट्रिय खेलकुदमा उनका शिष्य शशांक श्रेष्ठले जितेको स्वर्णपदकले अर्थपूर्ण संकेत गरेको थियो । सितेरियो करातेबाहेकबाट राष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक जित्ने पहिलो खेलाडी बनेका थिए शशांक ।
हाल ओमकृष्णको जिम्मेवारी झाँगिएको छ । नेपाल गोजुरियो कराते महासंघका महासचिव उनी जापाज ओसोकाइ कराते डोमा पनि महासचिव छन् । फरक जिम्मेवारी र विस्तृत भूमिकाबीच उनको एउटा सोच भने प्रस्ट छ– करातेकर्मीको छवि सुधार्नु, कुशल प्रशिक्षण उपलब्ध गराउनु र राम्रो नतिजा दिलाउनु । उनको संघमा नेत्र सुब्बा अध्यक्ष छन् । तर, धेरै काम उनकै पहलमा हुन्छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्मा गोजुरियो ओसोकाइको कार्यालय छ । मूलधारका थुप्रै संघले सामान्य प्रक्रिया पनि पूरा नगरिरहेका बेला उनी आबद्ध यो संघ कमसेकम न्यूनतम कुरामा भने सचेत देखिएको छ । वार्षिक साधारणसभा, निश्चित समयमा निर्वाचन र वार्षिक राष्ट्रिय प्रतियोगितालगायत नियमित जिम्मेवारी पूरा गर्ने थोरै खेलसंघमध्ये यो पनि एउटा हो ।

प्रतिक्रिया