मनमुटावमै सकियो गणतन्त्र दिवस

काठमाडौं, १६ जेठ । छैटौँ गणतन्त्र दिवस बुधबार सरकार र नागरिक समाजले छुट्टाछुट्टै रूपमा मनाएका छन् । राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सरकारले सैनिक मञ्च टुँडिखेलमा र विभिन्न दलका नेताहरूको सहभागितामा नागरिक समाजले नयाँ बानेश्वरमा छुट्टाछुट्टै गणतन्त्र दिवस मनाएका हुन् ।
गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति डा. यादव, उपराष्ट्रपति परमानन्द झा, मूल समारोह समितिका अध्यक्ष एवं अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी तथा विभिन्न पेसाकर्मी सहभागी थिए । कार्यक्रममा सरकारी तथा विभिन्न संघसंस्थाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
नागरिक समाजले मनाएको गणतन्त्र दिवस व्यंग्य र आरोप–प्रत्यारोपमा परिणत भएको थियो । समाजले सरकारले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको गणतन्त्र दिवस बहिष्कार गरी बेग्लै कार्यक्रम गरी यो दिवस मनाएका हुन् । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल, राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानको नाममा मनाइएको सो कार्यक्रममा सहभागी विभिन्न वक्ताले राष्ट्रियता र लोकतन्त्र जोगाउन गणतन्त्रवादीहरू पुन: गोलबद्ध हुन जरुरी रहेको बताएका थिए । उनीहरूको भनाइ थियो, ‘राजनीतिक नेतृत्वले जनभावना र लोकतन्त्रको मर्मविपरीतका काम गरेकाले त्यस्ता निर्णयलाई फिर्ता लिन र राजनीतिक स्थायित्व चाँडै हुनुपर्छ ।’ गणतन्त्र स्थापना भएको पाँच वर्ष पुग्दा नपुग्दै सरकार, राजनीतिक दल र नागरिक समाजले बेग्लाबेग्लै ढंगले गणतन्त्र दिवस मनाउनुपर्ने अवस्था आउनुले लोकतन्त्रवादीलाई पीडा दिएको कार्यक्रममा सहभागीले व्यक्त गरेका थिए ।
प्रधानन्यायाधीश र मन्त्रिपरिषद्को अध्यक्ष एकै व्यक्ति रहनु शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएकाले प्रधानन्यायाधीशबाट तत्काल राजीनामा दिन अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराउने प्रयास पनि उनीहरूले गरे । नागरिक समाजले गरेको गणतन्त्र दिवसमा सहभागी भई कांग्रेस, एमाले र नेकपा–माओवादीका नेताहरूले समेत उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए । सभामा पुगेर विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, तत्कालीन व्यवस्थापिका–संसदमा कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरे, एमाले महासचिव ईश्वर पोखरेल, नेकपा–माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहाललगायतले नागरिक समाजको अभियानप्रति ऐक्यबद्धता प्रकट गरेका थिए ।

प्रतिक्रिया