रेग्मी प्रधानन्यायाधीशबाट हटेको राम्रो : यादव

विराटनगर, १६ जेठ । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीशको पदबाट राजीनामा दिँदा निर्वाचनका लागि वातावरण बन्छ भने त्यसका लागि रेग्मी तयार हुनुपर्ने उनले बताए ।
मधेसी जनअधिकार फोरम गणतन्त्रिक मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘प्रधानन्यायाधीश पदबाट राजीनामा दिँदा सबै दल निर्वाचनमा सहभागी हुन्छन् र मुलुकले निकास पाउँछ भने प्रधानन्यायाधीशको पद त्याग गरेर भए पनि मन्त्रिपरिषद् अध्यक्षले निर्वाचनको वातावरण बनाउनुपर्दछ ।’ अध्यक्ष यादवले वर्तमान चुनावी सरकारले मंसिरभित्र चुनाव गराउन नसके स्वत: अस्तित्व समाप्त हुने भन्दै मंसिरभित्र कुनै पनि हालतमा चुनाव हुनैपर्ने बताए । ‘यो सरकारको एकमात्र कार्यभार संविधानसभाको दोस्रो निर्वाचन गराउनु हो,’ उनले भने, ‘यदि मंसिरसम्ममा चुनाव भएन भने देश झन्–झन् संवेदनशील अवस्थामा पुग्नेछ ।’ उनले सरकारले छिटोभन्दा छिटो चुनावको मिति घोषणा गर्नुपर्ने धारणा पनि राखे ।
राजनीतिक दलहरूको तर्फबाट सरकारलाई सक्दो सहयोग रहेको बताउँदै पूर्वसञ्चारमन्त्री समेत रहेका यादवले आन्दोलनरत ३३ दलका जायज मागलाई सम्बोधन गरेर चुनावको वातावरण निर्माण गर्नुपर्ने बताए । उनले आन्दोलनरत ३३ दललाई विरोध गर्नुभन्दा पनि सहमतिमा आएर चुनावको वातावरण तयार पार्न आग्रह पनि गरे । दलहरूबीच संविधानसभाको निर्वाचनको सिट संख्या ४ सय ९१ बनाउने र थ्रेसहोल्ड राख्ने विषयमा सहमति भई सकेकाले अब त्यो विषयमा विवाद गर्नुको अर्थ नभएको उनको तर्क थियो । उनले लोकतन्त्रलाई मर्यादित र व्यवस्थित गर्न थ्रेसहोल्ड आवश्यक भएकाले सहमति भइसेकेको कुराबाहिर गएर आफू अनुकुल दलका नेताहरूले जथाभाबी बोल्न नहुने बताए । ‘थ्रेसहोल्ड राख्ने र संविधानसभाको सिट संख्याको विषयमा मुख्य दलबीच सहमति भइसकेको छ,’ एमाओवादीप्रति लक्षित गर्दै उनले भने, ‘अब एक वा दुई दलले त्यसको विरोध गर्दैमा मुख्यदलका नेताहरूले बोली फेर्न हुँदैन ।’
संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीसँग तालमेल हुने संभावना नरहेको उनले प्रष्ट पारे । विगतमा एमाओवादीसँगको गठबन्धनमा सहभागी तथा मन्त्रीसमेत बनेका उनले निर्वाचनमा मधेसवादी दलसँग तालमेल गरेरअघि बढ्ने विषयमा छलफल चलिरहेको जानकारी दिए । सबै मधेसी दलहरूको एजेन्डा एउटै भएकाले आउँदो चुनावमा मधेसवादी दलहरूबीच तालमेल पनि हुन सक्छ उनले बताए । यद्यपी, कुन दलसँग तालमेल हुने भन्नेबारे भने केही खुलाएनन् ।

प्रतिक्रिया