कैदीलाई योग प्रशिक्षण

विदुर, १६ जेठ । विभिन्न अपराध गरेका कारण कैदी बनेकाको आत्मविश्वास, सीप र क्षमता विकास गर्न जिल्ला कारागार, नुवाकोटमा योग शिविर सञ्चालन भइरहेको छ । यो प्रशिक्षक तयार पार्ने प्रशिक्षण शिविर हो । आयोजकका अनुसार अब कैदीबन्दीलाई नै योग प्रशिक्षक बनाएर कारागारमा नियमित योग अभ्यासको कक्षा सञ्चालन हुनेछ ।
जिल्ला प्रहरी कार्यालय र पतञ्जली योग समिति नुवाकोटको संयुक्त आयोजनामा जिल्ला कारागारका कैदीबन्दीका लागि यो शिविर शुक्रबारबाट सुरु भएको हो । १५ दिने प्रशिक्षण शिविरबाट उत्कृष्ट देखिएका कैदीबन्दीलाई नै योग प्रशिक्षक बनाएर कारागारमा नियमित योग कक्षा चलाउने योजना जिल्ला कारागारले जनाएको छ ।
पतञ्जली योग समितिका राष्ट्रिय प्रभारी हेम ढुंगानाले कैदीबन्दीलाई मानसिक र शारीरिक रूपमा योगमार्फत शरीर स्वस्थ राख्न देशैभरका कारागारमा योग प्रशिक्षण दिने योजनाअनुसार यहाँका कैदीबन्दीलाई सहभागी गराइएको बताए । योगले कैदीबन्दीलाई निराशाबाट मुक्त गराई आफ्नो जीवनलाई सहज र सक्षम बनाउन सहयोग पुर्‍याउने ढुंगानाको भनाइ छ ।
कारागार सुधारगृह भएकाले यहाँका कैदीबन्दीलाई सकारात्मक र शान्तिपूर्ण जीवन जिउन योग शिक्षाको अपरिहार्य आवश्यकता भएको राष्ट्रिय प्रभारी ढुंगानाले बताए ।
शिविरको उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले नियमित योग साधनाले जीवनलाई मानसिक र शारीरिक दुवैमा स्वस्थ राख्ने प्रमाणित भइसकेकोले कैदीबन्दीले आगामी दिनलाई सदाचार र सकारात्मक बनाउन यो शिविरले सहयोग पुग्ने बताए ।
शिविरमा ६० जनाको सहभागिता रहेको छ । कारागारमा महिला र पुरुष गरी एक सय ७० जना छन् । यो शिविरमा सहभागीमध्ये छानिएका प्रशिक्षकले कारागारमा नियमित योग शिविर चलाउने छन् । सहभागीलाई पतञ्जली योग समितिका जिल्ला अध्यक्ष जफरदिन मियाँलगायतले प्रशिक्षण दिइरहेका छन् ।
शिविरमा सहभागी कैदीबन्दीले योगले मानिसलाई नकारात्मक बाटोबाट ल्याउन भूमिका खेल्ने भएकाले शिविर सञ्चालन लाभदायक हुने बताएका छन् । जीवनलाई बुझ्न योगले सहयोग गर्ने भएकाले सबै साथीलाई जेलको संसार भोग्न शिविरमा सहज बनाउने एक बन्दी सानुकान्छा तामाङले बताए । उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत, प्रहरी नायव उपरीक्षक सानुकाजी लामिछानेलगायतले मन्तव्य राख्दै कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया