सिन्धुपाल्चोक, १६ जेठ । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौंका लागि छुटेको आमा ह्योल्मो यातायाताको बा २ ख ३६४५ नम्बरको बस थाङपालकोट–२ स्थित सल्लेबिसौनामा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । घाइतेमध्ये ३४ को अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा थाङपालकोट–३ का रणबहादुर पण्डित, सविना पण्डित, गीतादेवी बस्नेत, वडा नम्बर ५ की मिठु सापकोटा, वडा नम्बर ६ का धने तामाङ, भोताङ–३ का सिमेन तामाङ, बुधे तामाङ, वडा नम्बर–८ का शेरबहादुर तामाङ, बरुवा–१ का छिरिङ तामाङ, म्हेन्दो तामाङ र गुन्सा गाविसका छोटे बम्जन छन् । अन्यको सनाखत हुनसकेको छैन । दुर्घटनामा १० जनाको घटनास्थलमा, २ जनाको उपचारका लागि लैजाने क्रममा बाटोमा र तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी राजधानीको त्रिवि शिक्षण अस्पताल, बी एन्ड बी र अल्का अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइतेको स्थानीय स्वस्थ्य संस्थामा उपचार भइरहेको छ ।
राति पानी परेर हिलो भएको कच्ची सडकमा बस चिप्लिएर दुर्घटना भएको गाविसका प्राविधिक सहायक कुमार बस्नेतले बताए । उनका अनुसार बसमा करिब ७० जना यात्रु थिए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिपेनीबाट नेपाली सेना र स्थानीयवासी घटनास्थल पुगेका थिए । स्थानीयवासीका अनुसार फराकिलो घुम्तीबाट बस सिधै भीरमा खसेर अड्किएको छ । दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रताप गुरुङले जानकारी दिए ।
दुर्घटनापछि चालक फरार छन् भने सहचालक प्रहरी नियन्त्रणमा छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट मेलम्ची हँुदै ६५ किलोमिटरको दूरीमा पर्छ ।
प्रतिक्रिया