छोटी भन्सार अभावले तस्करी मोटायो

धनगढी, १५ जेठ । द्वन्द्वकालमा विस्थापित छोटी भन्सार कार्यालय स्थापना नहुँदा तस्करी मोटाएको छ । कञ्चनपुरका दक्षिणी क्षेत्रसहित महाकाली अञ्चलका १० छोटी भन्सार कार्यालय अझै पुन:स्थापना हुन सकेका छैनन् ।
द्वन्द्वकालमा विस्थापित महाकालीका १३ छोटी भन्सार कार्यालयमध्ये बैतडीको महाकाली भन्सार, दार्चुलाको दार्चुला छोटी भन्सार र कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालय मात्र सञ्चालनमा छन् ।
छोटी भन्सार कार्यालय पुन:स्थापनाका लागि एक वर्ष अगाडि भन्सार विभागको टोलीले अध्ययन गरेको भए पनि पुन:स्थापना ‘गर्ने या नगर्नेमा कुनै टुंगो लागेको छैन । भन्सार कार्यालय पुन:स्थापना नहुँदा महाकाली अञ्चलका सिमानाबाट मासिक एक करोड बढी राजस्व चुहावट हुने गरेको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका लेखापाल लोकबहादुर बमका अनुसार बैलोरी भन्सार कार्यालयले मात्रै मासिक ३० लाख रुपियाँको हाराहारीमा राजस्व संकलन गर्ने गरेको छ । ‘बेलौरी भन्सार कार्यालयबाट मात्रै मासिक ३० लाखको हाराहारीमा राजस्व संकलन हुन्छ,’ लेखापाल बमले भने, ‘कञ्चनपुरका अन्य छोटी भन्सार कार्यालय मात्र पुन:स्थापना हुने हो भने छोटी भन्सार कार्यालयबाट मात्र मासिक एक करोड बढी राजस्व उठ्छ ।’
छोटी भन्सार कार्यालय पुन:स्थापना नहुँदा राजस्व घाटा बढेको उनले बताए । छोटी भन्सार कार्यालयबाट अवैध आयातसँगै निर्यात पनि गरेको लेखापाल बमको भनाइ छ । ‘छोटी भन्सार कार्यालय नहुँदा अवैध निर्यातसमेत हुने गरेको छ,’ बमले भने, ‘कानुनी रूपमा निर्यात गर्न नमिल्ने सामानसमेत सीमानाबाट अवैध रूपमा निर्यात हुने गरेका छन् ।’
कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनवस्ती र परासनमा भन्सार कार्यालय नहुँदा अवैध रूपमा कुखुरा तथा अन्डासमेत आयात हुने गरेका छन् । भारतबाट आयात प्रतिबन्ध लगाइएका कुखुरा र अन्डा आयात गर्ने क्रम बढेकाले दक्षिणी क्षेत्रमा ‘बर्ड–फ्लू’ रोगको खतरा बढेको पशु विशेषज्ञ वताउँछन् ।
महाकाली अञ्चलका कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा छोटी भन्सार पुन:स्थापना नहुँदा सबैभन्दा मर्का स्थानीयले खेप्नुपरेको छ । ‘तस्कर भारतीय प्रहरी र नेपाली प्रहरी दुवैलाई पैसा दिएर सामान पैठारी गरिहाल्छन्,’ बैतडी महाकाली गाविसका एक स्थानीयले भने, ‘दैनिक उपभोग्य वस्तु खरिदका लागि समेत भारतीय बजार धाउनुपर्ने स्थानीयले दुवै देशका सुरक्षाकर्मीको सास्ती खेप्नुपर्छ ।’ दैनिक उपभोग्य वस्तु खरिदका लागि पनि भारतीय बजारमा निर्भर रहनुपर्ने बाध्यता रहेका कञ्चनपुरको दक्षिणी क्षेत्र, डडेलधुराको भित्रिमधेसलगायत दार्चुला र बैतडीका हजारौँ स्थानीय मर्कामा परेका हुन् । सीमानामा भन्सार कार्यालय नभएकै कारण भारतीय सीमा सुरक्षा बल
(एसएसबी)ले स्थानीयलाई दु:ख दिने गरेको छ । ‘भारतीय एसएसबीले हामीलाई अनावश्यक दु:ख दिने गरेको छ ‘काम गर्न दैनिक भारतीय सहर डिटीहाट धाउने डडेलधुरा भित्रिमधेसका रमेश नेपालीले भने, ‘भन्सार कार्यालय नभएका कारण एसएसबीले उपभोग्य सामान ल्याउँदा पनि पैसा माग्ने र नदिए दु:ख दिने गर्छ ।’
भन्सार पुन:स्थापना नहुँदा डडेलधुराका रुपाल, शीर्ष, जोगबुढा र भागेश्वर गाविसका २० हजार स्थानीय,  बैतडीका १६ गाविस ४० हजारबढी  र दार्चुलाका ७ गाविस २५ हजारबढी स्थानीयले सीमानामा भारतीय सुरक्षा बलबाट ज्यादति खेप्नु परेको छ ।
छोटी भन्सार कार्यालय नहुँदा सीमा नाकामा चोरीपैठारीसमेत बढ्दै गएको छ । तस्कर र प्रहरीको मिलेमतोमा चोरी पैठारीसँगै स्थानीयले समेत बाध्यात्मक रूपमा चोरी पैठारी गर्नुपर्ने अवस्था रहेको व्यवसायी बताउँछन् ।
राजस्व तिर्न भन्सार कार्यालय नहुँदा व्यापारीले बाध्यात्मक चोरीपैठारी गर्नुपरेको कञ्चनपुर उद्योग वाणिज्य संघ त्रिभुवनवस्ती शाखाका अध्यक्ष वीरबल विकले बताए । उनका अनुसार व्यापारीले चाहेर पनि भन्सारमा राजस्व तिर्न सकेका छैनन् ।
डडेलधुराको भित्रिमधेस क्षेत्रमा पर्ने तातोपानी भन्सार कार्यालय सञ्चालन  नआउँदा स्थानीय वासिन्दाले दैनिक उपभोग्य सामग्री आयात गर्नमा समेत सास्ती खेप्नुपरेको छ । स्थानीय वासिन्दाको मागअनुसार तातोपानीमा भन्सार कार्यालय स्थापनाका लागि जिल्लाबाट सिफारिस गरी पठाइएको भए पनि विभागबाट स्वीकृति प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डडेलधुराले जनाएको छ ।
महाकाली अञ्चलका तीन पहाडी जिल्लाबाट भारततर्फ दैनिक लाखौँ मूल्यको जडीबुटी पनि निकासी हुने गरेको छ । भारतीय बजारमा सस्तोमा दैनिक उपभोग्य बस्तु पाइने भएका कारण पनि नेपालीहरू बढी भारतीय बजार धाउने गरेका हुन्छन् । सीमा नाकामा कर्मचारी नहुँदा विभिन्न किसिमका अवैध सरसामान पनि खुलेयाम आयात भइरहेका छन् ।
डडेलधुराको तातोपानी, बैतडीको पञ्चेश्वर, विनायक र दार्चुलाको बालुवाकोट सीमानामा रहेका छोटी भन्सार पुन:स्थापना हुन नसक्दा स्थानीयले बढी समस्या खेप्नुपरेको छ । डडेलधुरा भित्रिमधेसको तातोपानी नाकाबाट दैनिक रोजगारीका लागि भारतको टनकपुर, डिडीहाट क्षेत्रमा नेपालीहरू आवतजावत गर्ने गर्दछन् । यस्तै बैतडी र दार्चलाका स्थानीय दैनिक उपभोग्य समान नुन, चिनी र चामल खरिद गर्न भारतीय बजार धाउने गर्छन् ।

प्रतिक्रिया