ग्यास अभाव गर्ने व्यवसायीलाई कारबाही गर्छौं

Gassकाठमाडौं, १४ जेठ । वाणिज्य विभागका प्रमुख नारायणप्रसाद विडारीले उपभोक्तालाई मारमा पार्नेगरी आन्दोलनमा उत्रिने एलपी ग्यास उद्योग संघमाथि कार्बाही गर्ने चेतावनी दिएका छन् ।
मिडिया इन्टरनेसनलले आज (मंगलबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विडारीले उपभोक्तालाई असर पर्ने कुनै पनि गतिविधि गरे उद्योग सञ्चालकहरु कारबाहीमा पर्ने बताए ।
संघले विभिन्न १६ बुँदे माग राखेर आन्दोलन सुरु गरेका बेला विभागका प्रमुख विडारीले बजारमा ग्यास अभाव गराउने उद्योगी र व्यपारीमाथि कार्बाही गर्ने चेतावनी दिएका हुन् ।
उनले अनावश्यक माग अघि सारेर संघले आन्दोलनका कार्यक्रम अघि सारेको बताए । ‘उपभोक्ता माथि खेलबाड गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘ग्यास अत्यन्तै सम्बेदनशील र आवश्यक बस्तु भएकाले बिक्री वितरणमा अबरोध गर्नु हुँदैन ।’
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको सिलिण्डरमा कमिशन बृद्धि नभएसम्म आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताए । ‘माग पुरा नहुँदा सम्म ग्यास उत्पादन र बिक्री कार्य ठप्प हुन्छ,’ उनले भने ।
आयल निगमले एलपी ग्यासमा धेरै नाफा लिएको बताएका अध्यक्ष घिमिरेले भने, ‘व्यबसायीलाई अत्यन्तै थोरै नाफामा ग्यास बिक्री गर्न वाध्य बनाउन पाईदैन ।’
नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेश अग्रवालले व्यवसायीका माग पुरै सम्बोधन गर्न सक्ने अबस्थामा आफूहरु नरहेको बताए ।
ग्यास बिक्रेता महासंघका बरिष्ठ उपाध्यक्ष ओमकार केसीले व्यबसायीलाई कमिसन बढाउनै पर्ने माग गरे । उनले भने, ‘ग्यासमा कमिशन बृद्धि भएन भने बिक्री गर्दैनौं ।’

प्रतिक्रिया