एक सातादेखि इन्टरनेट अवरुद्ध

पर्वत : नेपाल टेलिकमद्वारा वितरण गरिएको एडिएसएल इन्टरनेट सेवामा एक सातादेखि समस्या आउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल टेलिकमले समयमै गुणस्तरमा सुधार नगर्दा इन्टरनेट प्रयोगकर्ता समस्यामा परेका हुन् । विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यापारिक तथा सञ्चार प्रतिष्ठानमा नेपाल टेलिकमद्वारा वितरण गरिएको इन्टरनेट सेवा जडान गरिएको भए पनि एक साता बितिसक्दासमेत समस्या समाधान भएको छैन ।
द्रुतगतिको इन्टरनेट भनेर निजी क्षेत्रबाट वितरित इन्टरनेट सेवा छाडेर धेरैले टेलिकमको इन्टरनेट जोडेका थिए । बेलाबेलामा समस्या आउँदासमेत टेलिकमले सुधार नगर्दा समस्या आएको उपभोक्ताको भनाइ छ । इन्टरनेटमा लामो समयदेखि खराबी आएको भए पनि सम्बन्धित निकायले चासो नदिने गरेको नागरिक सञ्जाल पर्वतका अध्यक्ष किशोर सापकोटाले बताए । ‘कहिले विद्युत्को समस्या त कहिले काठमाडौंको समस्या भन्दै जिम्मेवारीबाट भाग्ने काम गरेको छ’ सापकोटाले भने, ‘हामीले रकम एक दिन नतिर्ने हो भने हाम्रो लाइन काटिने तर हामी समस्यामा पर्दा जिम्मेवारीबाट भाग्ने काम नागरिकमाथिको खेलवाड हो ।’
आधुनिकतासँगै इन्टरनेट सेवा नागरिकका लागि अनिवार्य जस्तै बन्दै गइरहेको समयमा रकम तिरेर पनि सेवा नपाउनु सार्वजनिक निकायको लापरवाही भएको सञ्चारकर्मी लक्ष्मण सापकोटाले बताए । यता नेपाल टेलिकम पर्वतका प्रमुख रामकृष्ण मल्लले जिल्लामा कुनै समस्या नभएको र काठमाडौंमा भएको समस्यालाई  इञ्जिनियरहरूबाट समाधान गर्ने प्रयास भइरहेको जानकारी दिए । पर्वतमा २ सयले प्रत्यक्षरूपमा नेपाल टेलिकमको इन्टरनेट र  करिब एक हजार जनाले वायरलेस इन्टरनेट प्रयोग गर्ने गरेको आँकलन छ । त्यसैगरी पछिल्लो समयमा करिब ५० हजारले मोबाइलबाट इन्टरनेट चलाउने गरेको टेलिकम पर्वतको भनाइ छ ।

प्रतिक्रिया