डलर देखाएर ठग्ने सार्वजनिक

भक्तपुर, १४ जेठ । विभिन्न समयमा जिल्लाका  केही स्थानमा अमेरिकी डलर देखाएर नेपाली रुपियाँ ठगी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले सोमबार सार्वजनिक गरेको छ । डलर देखाएर ठगी विगतमा पुरुष मात्र सक्रिय भएको भेटिए पनि हाल ग्राहकले छिटो विश्वास गर्ने हुनाले महिलासमेत सक्रिय हुने गरेका छन् ।
यसरी ठगी गर्ने दुई महिला र ६ पुरुषसहित आठ जनालाई प्रहरीले पत्रबार सम्मेलन गरी  सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे गाविस–४ घर भएका अन्दाजी ५१ वर्षे केशरबहादुर तामाङ रहेका छन् । प्रहरीले भक्तपुर नगरपालिका–४ कमलविनायक फिल्म हल पछाडिबाट १० जेठमा पक्राऊ गरेको हो ।
तामाङले रामेछाप दिमिपोखरी गाविस–१ घरभएका ४२ वर्षका कर्णबहादुर श्रेष्ठलाई नेपाली रुपियाँमा अमेरिकी डलर साट्ने भन्दै रूमालमा कागजको बिटा बाधेर तीन लाख रुपियाँ ठगी गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक दिलिप चौधरीले बताएका छन् । तामाङले यसअघि गत १ भदौमा काभ्रे बालुवापाटी देउपुर गाविस–६ का लोकबहादुर तामाङ र रामेछाप हिलेदेवी–४ का विक्रम मोक्तानसमेतलाई अमेरिकी डलर सस्तोमा सटही गर्ने भन्दै चार लाख रुपियाँ ठगी गरेको समेत प्रहरीले जनाएको छ ।
ठगीमा सक्रिय सिन्धुपाल्चोक बाह्रबिसे–४ का दीपक तामाङ र दोलखा क्षमावति गाविस–६ का १७ वर्षे विकास खड्का भने फरार रहेका छन् । प्रहरीले मध्यपुर ठिमीको बोडेबाट अमेरिकी डलर एक दरका दुई साय थानसहित  अन्य पाँच जनालाई सार्वजनिक गरेको छ । पक्राऊ पर्नेमा उदयपुर कटारी–३ का ३४ वर्ष की उर्मिला भन्ने मनमाया दनुवारको डेरामा खानतलासी गर्दा अमेरिकन डलर दुई सयसमेत बरामद गरेको छ । पक्राउ पर्ने अन्यमा भोजपुर पोखरे–७ बस्ने ५४ वर्ष की प्रमिला तामाङ, सिन्धुपाल्चोक करथली गाविस–३ बस्ने २२ वर्षका धनकृष्ण भुजेलको साथबाट चार डलरसहित नियन्त्रणमा लिएको बताएको छ ।
सिन्धुपाल्चोक करथली गाविस–३ का ५० वर्षका रामबहादुर तामाङको साथबाट अमेरिकन चार डलर, सोही गाविस–१ बस्ने ४४ वर्षका दातेम्बा शेर्पा रहेका छन् । अमेरिकी डलर नेपाली रुपियाँमा सस्तोमा सटही गर्ने भन्दै ठगी गर्न हिडेका दुई जनालाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले मध्यपुरठिमी नगरपालिका–१० कमेरोटारबाट दुई सय ९८ अमेरिकी डलरसहित पक्राउ गरेको छ ।
प्रहरीले सिन्धुपाल्चोक गादी–४ बस्ने ५२ वर्षका गोविन्द तामाङको साथबाट अमेरिकी डलर ५० दरको एक थान र एक दरको एकसय सात थान र सोही गाविस–३ बस्ने २९ वर्षका विशाल भन्ने रामबहादुर तामाङको साथबाट ५० दरको एक थान र एक दरको ९१ थान अमेरिकी डलरसहित पक्राऊ गरेको हो । निजहरूले विभिन्न व्यक्तिलाई डलर देखाएर दुई लाख रुपियाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । प्रक्राउ परेका व्यक्तीको साथबाट करिब पाँच सय आठ डलर बरामद गरेको चौधरी बताए । पक्राऊ परेका सबैलाई विदेशी मुद्रा अपचलन र ठगी सम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया