वृत्तचित्र ताप्लेजुङ प्रदर्शन

ताप्लेजुङ : ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र ‘ताप्लेजुङ दर्पण’ प्रदर्शन गरिएको छ । जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूलाई समेटेर निर्माण गरिएको उक्त वृत्तचित्र हालै सदरमुकामस्थित सामुदायिक भवनमा प्रदर्शन गरियो ।
पाथीभरा पर्यटन सेवा समाज ताप्लेजुङद्वारा निर्मित वृत्तचित्रमा जिल्लाको भौगोलिक, आर्थिक, समाजिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका विभिन्न विधालाई समेटिएको छ । यहाँ रहेका पर्यटकीयस्थल कञ्चनजंघा हिमाल, कुम्भकर्णलगायत अन्य सात हजारभन्दा बढी उचाइ भएका दर्जनौँ हिमाल, पाथीभरादेवी मन्दिर, दिकीछ्योलिङ गुम्बालगायतका प्रसिद्ध धार्मिक स्थलहरू, तिम्बुङपोखरी, सोदुपोखरीजस्ता ताल–तलैयाहरू वृत्तचित्रमा समेटिएका छन् ।
वृत्तचित्रमा लिम्बू, वालुङ, तोक्पेगोले लगायतका जातजातिको संस्कार संस्कृति, रेडपान्डा, हिमचितुवा, डाँफे, कस्तुरी मृग आदि दुर्लभ वन्यजन्तु तथा चराचुरुंगीहरू साथै यहाँको परम्परागत पेसा, सीप, आयस्रोत, उत्पादन, हाटबजार, गाउँबस्ती सबैलाई वृत्तचित्रमा समावेश गरिएको छ । (सौस)

प्रतिक्रिया