सुआहाराले वितरण गरेका कुखुरा मर्न थाले

ताप्लेजुङ, १२ जेठ । महिला तथा बालबालिकाहरूको पोषणको अवस्थालाई सुधार गर्न ताप्लेजुङका विभिन्न गाविसमा वितरण गरिएका कुखुरा मर्न थालेका छन् । अमेरिकी सहयोग नियोग नेपालको सहयोगमा वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङद्वारा जिल्लाभर सञ्चालित सुआहारा कार्यक्रममार्फत वितरण भएका कुखुराहरू मर्न थालेका हुन् । सदरमुकामसँगै रहेको दोखु गाविसका लक्षित परिवारले प्राप्त गरेका कुखुराहरू मध्ये प्राय: धेरै परिवारले पालेका कुखुरा मरिरहेका छन् । दोखु–४ ल्याङ्वाका निरा सुनुवार, शान्ता सुनुवार, दुर्गा तामाङ र अन्जु तामाङले प्राप्त गरेका एक–एक वटा कुखुरा मरेको सोही वडाका महिला स्वास्थ्य स्वयंसेविका मनरूपा सुनुवारले बताइन् । उनकाअनुसार टीका सुनुवार, देवीमाया सुनुवार, सविना तामाङलगायतले प्राप्त गरेका केही कुखुरा पनि मरेका छन् । उनले कुखुराहरू झोक्राउने अनि मर्ने गरेको जानकारी दिइन् । यस्तै दोखुलगायत फुङ्लिङका विभिन्न वडा तथा फेरुम्बु गाविसमा पनि कुखुरा मरेको बताइएको छ । फेङलिङ–६ का महिला स्वास्थ्य स्वयंसेविका  विन्दु गुरुङले आफ्नो वडाका लक्षित वर्गले प्राप्त गरेका कुखुरा केही संख्यामा
मरेको बताइन् ।
कुखुरा मरेपछि अनुसन्धान टोलीमा गएका जिल्ला पशुसेवा कार्यालय ताप्लेजुङका पशु विकास अधिकृत डा.सुवासचन्द्र चौधरीले कुखुराहरू प्रकोपका कारण नमरेको बताए । डा. चौधरीले कुखुरा सरसफाई युक्त ठाउँमा, पोषिलो तथा सन्तुलित दाना खुवाएर हुर्किएका तर समुदायमा भने बमोजिमको खोर, दाना, मौसम, वातावरण तथा पालनपोषण लगायतको व्यवस्थापन नभएका कारण केही कुखुराहरूमा समस्या देखिनु सामान्य भएको बताए । वितरण भएका कतिपय कुखुराहरू साना ठूला हुनु पनि कारक रहेको चौधरीको भनाइ छ । कुखुरालाई हुर्काउन सन्तुलित दाना व्यवस्थापन, आवश्यक रेखदेख गर्न उनीहरूलाई सल्लाह दिएको र त्यसपछि पनि कुखुरा मरेमा जिल्ला पशुसेवा कार्यालयमा ल्याएर परीक्षण गराउन सुझाव दिएको चौधरीले बताए ।
सुआहारा कार्यक्रमले पहिलोपटक जिल्लाको फुङ्लिङ, दोखु र फुरुम्बु गाविसका लक्षित परिवारलाई झापाबाट गिरीराज जातको कुखुरा ल्याई वितरण गरिएको हो । उक्त गाविसका लक्षित परिवारका महिला तथा दुई वर्षभन्दा कम उमेरका बालबच्चाहरूमा देखिने कुपोषणलाई न्यूनीकरण गर्न अन्डा र मासुको प्रयोगमा वृद्धि गर्न प्रति परिवार पाँच वटा कुखुरा वितरण गरिएको हो । पहिलो र दोस्रो दुई चरण गरी दुई हजार ६ सय ४५ वटा कुखुरा वितरण गरिएको जिल्ला सुआहारा कार्यालय ताप्लेजुङका प्रमुख सुरेश खतिवडाले बताए । कार्यक्रमअन्तर्गत जिल्लाका ५० वटै गाविसका लक्षित वर्गलाई ३० हजारभन्दा बढी उन्नत जातको कुखुरा बाँडिने खतिवडाको भनाइ छ ।

प्रतिक्रिया