निर्वाचनमैत्री मिति घोषणा हुन्छ : रेग्मी

भैरहवा, १२ जेठ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अब छिट्टै निर्वाचन मैत्री मिति घोषणा गरी संविधानसभाको सुनिश्चिता दिने बताएका छन् । २५५७औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस ०७० को अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार भएको समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकारको ध्यान संविधानसभाको निर्वाचनतर्फ केन्द्रित भएको जनाए ।
अध्यक्ष रेग्मीले अहिलेको परिस्थितिमा जिम्मेवारदलहरू विशेष गम्भीर हुनु जरुरी रहेकोले सबै दल जिम्मेवार ढंगले प्रस्तुत हुन उनले आग्रह गरेका छन् । लुम्बिनीको सम्बद्र्धन र प्रबद्र्धनमा सरकारले ध्यान पर्‍याउनेमा उनले प्रतिबद्धता जनाउँदै भने ‘सरकारले क्षमताले भ्याएसम्म बजेटको सीमितता भित्र रहेर लुम्बिनीको विकास र प्रबद्र्धन गर्न सधँै तयार छ ।’
अध्यक्ष रेग्मीले बुद्धको अद्वितीय शान्तिको सन्देश विश्वको मार्गदर्शक भएको पनि बताउँदै अहिंसा र शान्तिलाई अंगिकार गरेमा विश्व समुदाय समृद्धितर्फ उन्मुख हुने उनको धारणा थियो ।
समारोहमा बोल्दै लुम्बिनी विकास कोषका अध्यक्ष तथा बुद्धजयन्ती समारोहका सभाध्यक्ष संस्कृति मन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीको विकास विस्तार र प्रबद्र्धनको लागि सरकार कटिबद्ध भएको बताएका थिए । कार्यक्रममा कोषका उपाध्यक्ष आचार्य कर्मा सांगबो शेर्पाले लुम्बिनीको गुरुयोजना अनुसारको काम अहिले ७५ प्रतिशत सम्पन्न भएको बताएका थिए । उपाध्यक्ष शेर्पाले बुद्धलाई अझै पनि नेपालीहरूले सही रूपमा चिन्न नसकेको बताउँदै भने, ‘हामीले अझै बुद्धलाई चिन्न सकेनौ ।’ बुद्धलाई चिन्न नसकेकै कारण नेपालीहरू पछाडी परेको उनको तर्क थियो ।
कोषका सदस्य–सचिव अजितमान तामाङको सञ्चालन तथा कोषाध्यक्ष ओम अर्यालको धन्यवाद ज्ञापन रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रचारप्रसारमा सहयोग पुर्‍याएको भन्दै न्युज २४ का पत्रकार रवि लामिछाने, उक्त टेलिभिजनका अध्यक्ष अनिल जोसी, वेलकम इभेन्ट म्यानेजमेन्टका निर्मल पौडेल,  पत्रकार चेतन पन्त, विज्ञान थापालाई प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी लुम्बिनी आसपासका सात वटा गाविसका विद्यालयका उत्कृष्ट जेहेन्दार र विपन्न विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो भने कोषका केही कर्मचारीलाई पनि कार्यदक्षताको आधारमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा लुम्बिनीको विकास र प्रबद्र्धनका लागि होटेल कसाईको तर्फबाट कोषका पदाधिकारीलाई १० लाख रूपिया सहयोगसमेत भएको छ ।

प्रतिक्रिया