उपयोगी ऐतिहासिक सामग्रीको संग्रह

hari-adhikariमेरा प्रिय मित्र देवीप्रसाद वनवासी नेपाली साहित्यका एक अथक साधक हुनुहुन्छ । उहाँको जीवनको अधिकांश भाग नेपाली भाषा र साहित्यको आराधना गर्नमा बितेको छ । साहित्यिक सामग्रीको खोजखाज, अध्ययन–अनुशीलन र लेखनप्रति उहाँको गम्भीर लगन र अध्यावसाय देख्दा ७३ वर्षमा हिँडिरहनु भएका वनवासीजीको जीवनको बाँकी समय पनि सा्रहित्य साधनामै व्यतित हुनेछ भन्न सकिन्छ । जीविकोपार्जनका क्रममा सरकारी जागिरमा अल्मलिएका समयमा पनि वनवासीजी एकलव्य शैलीमा अध्ययन, मनन र लेखनमा निरन्तर सक्रिय हुनुहुन्थ्यो भने नोकरीबाट अवकाश लिई आफ्नो थातथलो स्याङ्जा जिल्लाको/शंकरे डाँडा गाउँमा फर्किएर फुक्काफाल रहँदासमेत उहाँले साहित्य सिर्जनालाई निरन्तरता दिई नै रहनुभएको छ । यस्तो लाग्छ– देवीप्रसाद वनवासी नामक यी सज्जनले आफ्नो जीवनको एक मात्र उद्देश्य नै साहित्य सेवालाई बनाएका छन् ।
पचासभन्दा बढी कृतिको प्रकाशन गरेर नेपाली भाषा–साहित्यको भण्डारलाई समृद्ध पार्न उल्लेख्य योगदान गरेका वनवासीले कविता, निबन्ध, आत्मकहानी, लोक–संस्कृति, गेय कविता, बाल र किशोरोपयोगी रचना र कथा–कहानी जस्ता विविध विधामा कलम चलाउनुभएको छ । उहाँले जुनसुकै विधामा रचना गरे पनि आफ्नो साहित्यमा समाजोपयोगी जीवन–मूल्य र मान्यता, छद्म र पाखण्डको भत्र्सना, नेपाली जातिको यशगान, राष्ट्रवादको पक्षपोषण र उदार प्रजातान्त्रिक संस्कृतिप्रतिको आस्था र विश्वासको प्राणप्रतिष्ठा गर्ने प्रयत्न गर्दै आउनुभएको छ । उहाँको साहित्यले जहिले पनि मानव–जीवनको उदात्त पक्षको अन्वेषण गर्न खोजिरहेको देखिन्छ ।
cover-page-mailmilapदेवीप्रसाद वनवासी कट्टर प्रजातन्त्रवादी व्यक्तिको नाम हो । यस नाताले अरू लाखौँ नेपालीहरू जस्तै उहाँ पनि उद्भट प्रजातन्त्रवादी जननेता बिपी कोइरालालाई आफ्नो आदर्श मान्नुहुन्छ र उहाँको कीर्ति समुज्ज्वल जीवन–गाथाबाट अभिभूत हुनुहुन्छ । बिपी रचनावली मात्र होइन, बिपीसँग सम्बन्धित पाएजति साना–ठूला सबै प्रकारका मुद्रित सामग्रीको संग्रह गर्दै आउनुभएको छ वनवासीजीले धेरै पहिलेदेखि नै । भाषागत समस्याका कारण वनवासीजीको संग्रहमा बिपीसँग सम्बन्धित अंग्रेजी भाषामा तयार भएको सामग्री नभए पनि नेपाली र हिन्दी भाषामा उपलब्ध सामग्रीको भने राम्रै संकलन छ उहाँसँग ।
देवीप्रसाद वनवासीको बाउन्नौँ कृति ‘मेलमिलाप’ (बिपी/दस्तावेज/अभिलेखन) बिपी कोइरालासम्बन्धी त्यस्ता सामग्रीहरूको संकलन हो, जुन आफ्नो समयको प्रशिद्ध हिन्दी विचारप्रधान साप्ताहिक पत्रिका ‘दिनमान’मा सन् १९७० को दशकको उत्तरार्ध र असीको दशकका प्रारम्भिक दिनका केही अंकमा छापिएका थिए । ‘दिनमान’ को तत्कालीन सम्पादन समूह जसमा प्रख्यात हिन्दी कवि सर्वेश्वरदयाल सक्सेना पनि थिए, श्रीकोइराला, नेपाली कांग्रेस पार्टी र प्रजातन्त्रवादी नेपाली जनताप्रति अत्यन्त सहानुभूतिशील थियो र नेपाली जनताको प्रजातन्त्रको पुनर्वहालीको आन्दोलनसँग गाँसिएका समाचार, विचार र टिप्पणीहरूलाई प्राथमिकता दिएर छाप्ने गर्दथ्यो । आफूहरूप्रति सहानुभूति राख्ने ‘दी टाइम्स अफ इन्डिया’ प्रकाशन समूहको त्यो साप्ताहिक हिन्दी पत्रिका नेपालका प्रजातन्त्रवादीहरूबीच लोकप्रिय थियो । वनवासीजी पनि त्यसको नियमित पाठक हुनुहुन्थ्यो ।
हप्तैपिच्छे किनेर पढ्ने गरेको ‘दिनमान’मा छापिएका नेपालसम्बन्धी र खास गरी बिपी कोइरालासँग सन्दर्भ राख्ने सामग्रीहरूलाई अलग्गै छुटयाएर पञ्जिका नै बनाई राख्नुभएको रहेछ वनवासीजीले त्यतिबेला नै । सन् १९७० को दशकको नेपालको प्रजातान्त्रिक आन्दोलनका सन्दर्भमा एउटा विशिष्ट महत्त्व छ । त्यही कालखण्डमा नेपाली राष्ट्रियता नै जोखिममा परेको कुरा मनन गरी भारतमा निर्वासित जीवन बिताउँदै त्यहीँबाट प्रजातान्त्रिक आन्दोलन चलाइरहनु भएका बिपी कोइराला राष्ट्रिय मेलमिलापको नारासहित स्वदेश फर्कनु भएको थियो । त्यही समयमा सानो निहुँमा सुरू भएको विद्यार्थी आन्दोलनले राष्ट्रव्यापी आयतन लिएर निर्विकल्प घोषित निरंकुश पञ्चायत प्रणालीको जग हल्लाइदिएको थियो र राजा वीरेन्द्र सुधारिएको पञ्चायत र बहुदलीय व्यवस्थाबीच एउटालाई छान्न पाइने गरी राष्ट्रिय जनमतसंग्रह गराउन वाध्य भएका थिए । दरबारियाहरू र तिनका खेताला सूर्यबहादुर थापाले नग्न धाँधली गरेर बहुदलीय व्यवस्थालाई जनमत संग्रहमा हराई दिएका भए पनि त्यसपछि पञ्चायतका सदस्यहरूको चुनाव वालिग मताधिकारबाट हुने प्रबन्ध त्यही समयबाट गरिएको थियो ।
त्यस समयमा ‘दिनमान’ मा छापिएका र वनवासीजीले हिन्दीबाट अनुवाद गरी प्रस्तुत संग्रहका रूपमा पाठकबीच ल्याइएका यी सामग्रीले त्यति बेलाको नेपालको राजनीतिक परिस्थिति, घटना–प्रतिघटनाको सुस्पष्ट चित्र त उतारेको छ नै, सँगसँगै बिपी कोइराला र उहाँको नेतृत्वमा गोलबद्ध भएको प्रजातन्त्रवादी नेपाली जनमतको मनस्थितिको झलक पनि देखाएको छ । यी सामग्रीको केन्द्रमा बिपी कोइराला हुनुहुन्छ तर यहाँ प्रस्तुत कतिपय समाचार, विचार र लेख–टिप्पणीले विविधताको स्वाद पनि दिन्छन् । बिपी र अन्य महानुभावहरूसँग गरिएका अन्तर्वार्ता संकलित छन् यस पुस्तकमा भने भारतीय पत्रकारहरूले गरेका तत्कालीन नेपालको राजनीतिका व्याख्या, विश्लेषण पनि छन् । साथै यहाँ संकलित त्यस समयमा ‘दिनमान’को पाठक–पत्र स्तम्भमा छापिएका पाठकीय प्रतिक्रियाहरू सार्‍है चाखलाग्दा र विचारोत्तेजक छन् । यस संग्रहमा परेको नेपालको राजनीतिसँग कुनै सरोकार नराख्ने तर बडो महत्त्वपूर्ण साहित्यकेन्द्रित लेख डा. ईश्वर बरालद्वारा लिखित ‘बालकृष्ण सम पुरस्कृत’ पनि उल्लेखनीय छ । त्यस्तै क्याम्बोडियासम्बन्धी लेख पनि विचारोत्तेजक छ ।
यो पुस्तक अतीततिर फर्केर हेर्दै त्यसको वस्तुगत विश्लेषण गरी भविष्यका लागि उपयुक्त मार्गचित्र बनाउन चाहने सजग राजनीतिकर्मीहरू, समसामयिक नेपाली राजनीतिक इतिहासका विद्यार्थीहरू र बिपीमाथि अध्ययन गर्न चाहने र उनका अनुयायीहरूका लागि उपयोगी सन्दर्भ सामग्री हुने कुरामा कुनै विवाद हुन सक्दैन । हिन्दी साप्ताहिक ‘दिनमान’ को प्रकाशन बन्द भएको धेरै वर्ष भइसकेपछि त्यसमा छापिएका सामग्रीहरूको एउटा सानो अंश प्रकाशमा ल्याएर देवीप्रसाद वनवासीले नेपाललाई माया गर्ने स्वर्गीय सर्वेश्वरदयाल सक्सेनालगायतका दिनमानकर्मीहरूप्रति श्रद्धा प्रकट गर्नुभएको छ भन्न सकिन्छ । यसका लागि पनि म मित्र वनवासीलाई धन्यवाद दिन चाहन्छु । दिनमान मेरो पनि प्रिय पत्रिका थियो जसले सन् १९७७ मै मेरो एउटा कविता हिन्दीमा अनुवाद गरेर छापेको थियो ।

प्रतिक्रिया