खोजखबर

फुर्सदै छैन, पुरस्कार लिन!

सौर्य अनलाइन २०७० जेठ ११ गते १:०६ मा प्रकाशित

सुनखानी, ११ जेठ । सार्वजनिक समारोहमा पुरस्कृत गर्न निम्ता गरे नजाने को होला र ? अझ कतिपय अवस्थामा त आफूले नै खर्च गरेर पुरस्कार लिने गरेका घटना पनि सुनिने गर्छन् । समाजमा यस्ता मानिस पनि भेटिन्छन् जसलाई समाजले पुरस्कार थाप्न बोलाउँछ तर आफ्नै काममा व्यस्त उनीहरू पुरस्कार लिन जान समय निकाल्न सक्दैनन् । आयोजकहरू कार्यक्रममा नाम बोलाउँछन्, अनि उनी आउन सकेनन् । आयोजकहरू बेलुका घरमै पुरस्कार पुर्‍याइदिन्छन् ।
सुन्दा पत्याउन गाह्रो पर्ने यस्तो घटना दोलखा जिल्ला सुनखानी गाविस मलेपुका किसान मेखबहादुर बस्नेतको जीवनमा निरन्तर भइरहेको छ । गाउँमा मिहिनेती किसानको परिचय बनाएका उनी प्राय:जसो समय आफ्नै खेतबारीमा व्यस्त देखिन्छन् । यही खेतबारीबाट भएको आयस्ताले उनले आफ्नो परिवार त पालेका छन् नै † यसैबाट अहिले उनी वार्षिक १ लाख रुपियाँ बचत पनि गर्छन् । भिरालो ठाउँमा घर छ । उँभो हेर्दा भीर छ । उँधो हेर्दा तामाकोसी नदी एकनाशले सुसाइरहेको छ । निरन्तर बगिरहेको नदीजस्तै मेखबहादुरको दैनिकी पनि एकनाश अगाडि बढिरहेको छ । उमेरले ६१ वर्ष पूरा गरेका मेखबहादुरको जोश अझै तन्नेरै छ । १५/१६ वर्षका युवाजस्तै ।  ‘खेती भनेको खटिएर गर्ने पेसा हो अनि पो भनेजस्तो आम्दानी हुन्छ त,’ उनले भने ।
घरवरपर मौरीको भुनभुनाहट छ । परम्परागत रूपमा खोपा, काठको डुँड तथा आधुनिक घारमा गरी २० घारमौरी पालेका छन् उनले । मौरीसँगै उनको घरवरपर केराको घारी छ । १५ भन्दा बढी जातका केराखेती गरेको उनले बताए । ‘बस्नेत यस क्षेत्रका मिहिनेती किसान हुन,’ स्थानीय शिक्षक ढालबहादुर सापकोटाले भने । उनले अगाडि थपे, ‘उनका घरमा के पो पाइन्न र † सबै चिज उत्पादन गर्ने किसान हुन् उनी ।’ २० वर्षको उमेरमा नेपाल प्रहरीको जागिर सुरु गरेका उनले जागिर छाड्नेबित्तिकै व्यावसायिक कृषि सुरु गरेका थिए । गाउँमा गरेको खेतीपातीबाटै जीवन चलाउन सकिन्छ भन्ने लागेर जागिरका क्रममा नै २ पटक छाडेर खेती गर्ने जमर्को गरे । अर्काको नुनपानी खाएपछि भनेजस्तो के हुन्थ्यो र चर्को घाममा सुस्ताउँदै उनले आफ्नो विगत सुनाए ।
जागिरका क्रममा गाउँ–गाउँ जाँदा विभिन्न स्थानमा किसानले गरेका खेतीपाती हेर्थे । कुनै नयाँ प्रविधि देखे उत्सुकतापूर्वक सोधेर जानकारी लिन्थे । गाउँ–गाउँ जाने र गाउँलेसँगै रहेर काम गर्ने क्रममा उनले विभिन्न सीप सिकेका हुन् । गाउँमा सिँचाइको समस्या चर्को छ । सिँचाइको सुविधा भए गाउँको आम्दानी ३ गुणासम्म बढ्छ । अहिले गाउँमा खेतीपाती सबै आकाशेपानीकै भरमा गर्नुपर्छ । असारमा रोप्ने धान रोप्न साउन महिना पर्खनुपर्छ । गाउँमा यस्तो सिँचाइको समस्या हुँदाहुँदै पनि बस्नेतले ६ सय मिटर टाढाको दूरीबाट पाइपमा पानी ल्याएर सिँचाइ गरेका छन् । ‘अहिलेसम्म कुनै संस्थाले सहयोग गरेको छैन । काम गर्न स–साना कुरामा पनि सरकारको मुख ताक्ने हो भने कसैले प्रगति गर्न सक्दैन,’ उनले भने ।
झन्डै २० वर्षअघि सुष्पा–क्षमावतीबाट ल्याएको २ घार मौरी र टुकी संघ दोलखा नामक गैरसरकारी संस्थासँग किनेको १६ सय केराका बिरुवा रोपेर उनले व्यावसायिक खेती सुरु गरेका थिए । गाउँघरमा आँगनछेउमा मात्र रोपिने केरा उनले पूरै २० पाथी धानको बीउ जाने खेतमा रोपेर व्यवसाय सुरु गरेपछि उनले धेरैको आलोचना सहनुपर्‍यो । एउटा बिरुवाको १० रुपियाँका दरले १६ हजार रुपियाँको केरा किनेर करिब ३०–३५ रोपनी जग्गामा रोप्दा धेरैले धान खाने खेतमा केरा रोपेर के खान्छ होला पनि भने । त्यसबेला उक्त रकमले झन्डै डेढ तोला सुन किन्न सकिन्थ्यो । गाउँलेले कुरा काट्ने त गरेकै थिए । यति धेरै जग्गामा केराखेती गर्दा उनले परिवारको पनि साथ पाएनन् । श्रीमतीले पनि यो काम गर्नुहुन्न भनेर रोक्न खोजिन् । छेउमा रहेकी बस्नेतकी श्रीमती पार्वती उनको यो कुरा सुनेपछि मुस्कुराइन । ‘त्यस्तो झगडा नै त भएको होइन तर धान खाने खेतमा केरा रोपेपछि परिवारलाई के खुवाएर पाल्ने भन्ने कुरोको भने चिन्ता नै लागेको थियो,’ पार्वतीले आफ्नो बचाउ गरिन् ।
फलफूल खेती गर्दागर्दै उनले फलफूलको बिरुवा उत्पादन पनि सुरु गरे । नर्सरीमा फलफूल, जडीबुटी तथा घाँसका बिरुवा उत्पादन गर्ने गरिन्छ । नर्सरीबाट वर्षमा झन्डै ६ हजार बिरुवा बिक्री हुन्छ । सुरुमा उनले आफ्नो व्यवसाय सुरु गर्दा उनले विभिन्न जिल्लाबाट बिरुवा संकलन गरेका थिए । अहिले विभिन्न स्थानमा उनले उत्पादन गरेका बिरुवा बिक्री हुन्छन् । अहिले गाउँ–गाउँबाट पैसा कमाउन विदेश जाने परम्परा नै बन्न लागेको छ । उनको गाउँबाट पनि केही युवा पैसा कमाउनकै लागि बिदेसिएका छन् । विदेश गएर पनि प्रगति गर्न सकिन्छ जस्तो बस्नेतलाई लाग्दैन । बस्नेतसँग पैसा लिएर विदेश पसेकाहरूले फर्केर पनि पैसा फिर्ता गर्न सकेका छैनन् । ‘खेती भनेको खटिरहनुपर्ने पेसा हो । खटिन सके कोही पनि बिदेसिनुपर्दैन,’ उनले भने ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय