नापतौलमा ठगी

उदयपुर : लामो समयदेखि सम्बन्धित निकायहरूबाट नियमित बजार अनुगमन हुन नसक्दा गाईघाटको सब्जी बजारमा स्थानीय उपभोक्ता नापतौलमा ठगिँदै आएका छन् ।
गाईघाटस्थित तरकारी तथा सब्जी बजार क्षेत्रका सब्जी पसलहरूमा प्रयोग गरिने मापदण्ड नपुगेका ढक र तराजुका कारण प्रत्येक उपभोक्ता तौलमा ठगिने गरेको स्थानीयको गुनासो छ ।
व्यापारीले अहिलेसम्म अटेर गरेर ढुंगाको ढक र काठको तराजु तथा रडको टुक्राका ढक प्रयोग गर्ने गरेको गाईघाट बजारका स्थानीय रमेश कार्की बताउँछन् । कार्कीका अनुसार सब्जी पसलमा अनुगमन नहुँदा सब्जी व्यापारीले ढुंगाको ढक बनाएर प्रतिकिलो सब्जीमा तीनसय ग्रामसम्म कम गरेर बिक्री गर्ने गरेका छन् ।
कतिपय व्यापारीले अझै पनि काठ र बाँसको तराजु प्रयोग गर्ने गरेको स्थानीय कमला थापा र मन्जु कार्कीको भनाइ छ । दुई वर्ष अघि स्थानीय प्रशासन र नगरपालिकाले सब्जी बजारमा अनुगमन गर्दा २ सयभन्दा बढी ढकमा प्रयोग गरिने ढुंगाका टुक्राहरू व्यापारीबाट नियन्त्रणमा लिएर नसिहत दिएको थियो ।
तर, निरन्तर अनुगमन कार्य नहुँदा अहिले गाईघाट बजारका सब्जी पसल, मासु तथा माछा पसललगायत अन्य पसलहरूमा समेत यस्ता ढकहरू प्रयोग हुने गरेको स्थानीय ग्राहकहरू बताउँछन् । अहिले सबैभन्दा बढी नापतौलमा मापदण्ड नपुगेका ढक तराजुहरूको प्रयोग सब्जी बजारमा भइरहेका छन् ।
स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ तथा नगरपालिकाको नियमित अनुगमन नहुँदा सब्जी व्यापारीको नापतौलमा मनपरि बढ्दै जान थालेको पाइन्छ । कतिपय सब्जी पसलेहरू पनि आफूहरूले यस्तो ढक तथा तराजु प्रयोग गरेको कुरा स्विकार गर्दछन् । सब्जी व्यापारी दीपा चौधरीले आफूसँग ढक नभएकाले ढुंगाको ढक चलाउने गरेकी बताइन् । तर, तौलमा फलामको ढक र यो ढुंगा बराबरी नापेर चलाउने गरेको उनको भनाइ छ । यस्तै अन्य व्यापारीले पनि ढुंगाको ढक चलाउने गरेको तर, तौलमा अन्य ढकभन्दा कम नभएको दाबी गर्दछन् ।
अहिले गाईघाटका सब्जी पसलहरूमा झन्डै तीसभन्दा बढी सब्जी व्यापारीले मापदण्ड विपरीतका ढक तथा तराजुहरू प्रयोग गर्दै आएको स्थानीय मोहन खड्का बताउँछन् । मासुपसल र अन्य पसलहरूमा पनि यस्तो कार्य भइरहेको छ ।

प्रतिक्रिया