दुई करोडको सिचाइ योजना सञ्चालन हुदै

म्याग्दी, १० जेठ । म्याग्दीको घार गाविसमा दुई करोड रुपियाँको लगानीमा सिँचाइ आयोजना सञ्चालनको तयारी गरिएको छ ।
आर्थिक वर्ष ०६६/६७ सालदेखि निर्माण सुरु भएको घार सिँचाइ आयोजना यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाबाट घार गाविसका पाँच वटा वडाका करिब २ सय कृषक लाभान्वित हुने बताइएको छ ।
विश्व बैंकको सहयोगमा सञ्चालित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत सिँचाइ डिभिजन कार्यालय बाग्लुङको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको १५ प्रतिशत श्रमदानमा आयोजना निर्माण भइरहेको उपभोक्ता समितिका अध्यक्ष गोकर्ण बरुवालले जानकारी दिए ।
इन्टेक, नहर र पानी वितरणका लागि पाइप बिछयाउनेलगायत काम पूरा भएको योजनाको केही ठाउँमा मुख्य नहरको काम बाँकी रहेको अध्यक्ष बरुवालले बताए । हाल ९० प्रतिशत काम पूरा भएको आयोजनाको नहरमा चालु आर्थिक वर्षभित्रमै पानी चलाएर सञ्चालनमा ल्याउने तयारी भएको सिँचाइ डिभिजन कार्यालय बाग्लुङका इञ्जिनियर रमेश शर्माको भनाइ छ ।
आयोजनाअन्तर्गत तीन हजार चार सय ५० मिटर क्षमताको फलामे पाइप जडान हुनेछ । यसैगरी सात सय मिटर लामो पक्की नहर पनि निर्माण भइरहेको छ । मोतीखर्क मुहानको पानी मुख्य नहरबाट पाइपमार्फत घार गाविसको ४, ५, ६, ७ र ८ नम्बर वडामा वितरण गरिनेछ ।
आयोजनाले १ सय ७८ घरधुरी कृषकको एक हजार ६ सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने इञ्जिनियर शर्माले जानकारी दिए । उनका अनुसार दुई करोड दुई लाख ७८ हजार बजेट स्वीकृति भएको योजनामा ठेक्कामार्फत एक करोड १९ लाख, समुदायले ज्याला पाउने गरी १९ लाख र १४ लाख ९७ हजार बराबरको काम श्रमदानमार्फत भएको छ ।
संरचना निर्माणको काम गर्ने सम्झौता गरेको कम्पनीले एक करोड १७ लाख बराबरको काम सकिसकेको र समुदायले गर्ने काम पूरा भएपछि आयोजना सञ्चालनसँगै बाँकी बजेट नमुना खेती, कृषकको क्षमता अभिवृद्धिलगायत कार्यक्रममा खर्च गरिने सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।
यसैबीच एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्ष सुनसरी र मोरङ जिल्लाको विभिन्न भागमा थप सिँचाइ सुविधा उपलब्ध गराउन आठ वटा सिँचाइ आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने केही आयोजनाको निर्माण पूरा भएको छ ।
स्थानीय दादाहरूको चन्दा आतंक र अवरोधका बाबजुद पनि सिँचाइ विकास डिभिजन कार्यालय–२ सुनसरीले चालु आर्थिक वर्षमा करिब २० करोडको लागतमा निर्माण पूरा गर्न लागेका ती आयोजनाबाट एक हजार ८ सय १६ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध हुने भएको छ ।
जल उपभोक्ता समितिहरूको आग्रहमा एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेका ती सिँचाइ आयोजनामध्ये इटहरीको बुढी पटेरुवा सिँचाइ आयोजना निर्माणका क्रममा स्थानीय दादाहरूको तोडफोड र अवरोधले काममा समस्या आएपछि प्रहरी राखेर काम गर्नु परेको कन्काई इन्टरनेसनल विल्डर्स प्राइभेट लिमिटेडका सञ्चालक देवीप्रसाद सिटौलाले बताए । उनका अनुसार आयोजनामा भएको तोडफोडबाट करिब सात लाखभन्दा बढीको नोक्सानी भएको थियो ।
स्थानीय उपभोक्ताको १६ लाख जनसहयोग रहेको बुढी पटेरुवा सिँचाइ आयोजनाको मुख्य निर्माण कार्य हेडवक्र्स तथा खोला तटबन्ध र पक्की कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
यसैगरी एसियाली विकास बैंककै सहयोगमा निर्माण थालिएको सुनसरी बकलौरी सिँचाइ योजनाको पनि निर्माणकार्य पूरा भएको छ । बकलौरी गाविसको १ स २० हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध गराउन निर्माण गरिएको सो आयोजना डेढ करोडको लागतमा सम्पन्न भएको हो ।
त्यस्तै एसियाली विकास बैंकको ऋण सहयोगमा मोरङ जिल्लाको लोहान्द्रा दाताराम सिँचाइ आयोजनाको निर्माणकार्य पनि पूरा भइसकेको छ भने सोही जिल्लाकै बयरबन गाविसमा डेढ करोड रुपियाँको लागतमा सञ्चालित कालीकोसी सिँचाइ आयोजना, साढे चार करोड रुपियाँको लागतमा केराबारी गाविसमा सञ्चालित आयोजना र राजघाट गाविसमा  तीन करोडको लागतमा सञ्चालित सिँचाइ आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया